भुटानी शरणार्थी काण्ड : नीतिगत भ्रष्टाचार र ठगीको पराकाष्ठा

भुटानी शरणार्थी काण्ड : नीतिगत भ्रष्टाचार र ठगीको पराकाष्ठा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०८०

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने धन्दामा संलग्नहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् । यही क्रममा पछिल्लो पटक नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'को कार्यकाल समयमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको हार्ड कपी नै मन्त्रालयबाट गायब पारेर फर्जी प्रतिवेदनका आधारमा नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने भन्दै करोडौँ रुपैयाँ असुलेको खुलेको छ ।

पन्थी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका ठाउँमा ठगी गर्ने गिरोहले बनाएको फर्जी प्रतिवेदन मन्त्रालयमा पाइएको छ, जसमा अमेरिका पठाउने भन्दै संकलन गरिएका नामहरू समावेश छन् । 
गृह मन्त्रालयले ३० जेठ २०७६ मा भुटानी शरणार्थीको दीर्घकालीन समाधान गर्ने भन्दै कार्यदल बनाएको थियो ।

कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ बुझाएको थियो । कार्यदलमा शरणार्थी गणनामा छुटेको भन्दै ८७५ जनाले निवेदन दिएकामा प्रमाण नभेटिएको भन्दै धेरैको नाम अस्वीकृत भयो, जसमा ४२९ जनाको नाम मात्र अनुसूचीमा उल्लेख थियो ।

पछि बादल गृहमन्त्री भएकै समयमा ठगी गिरोहले सो प्रतिवेदनमा नामहरू थपेर ठगी धन्दा चलाएको देखिन्छ । ३० पुस २०७८ मै मन्त्रिपरिषद्ले प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो तर पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन कार्यान्वयन हुँदा ठगी गिरोहले तयार पारेको नक्कली भुटानी शरणार्थी नसमेटिने भएका कारण मन्त्रालयमा भएको प्रतिवेदन नै कीर्ते गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

त्योभन्दा रोचक कुरा त के छ भने, मन्त्रिपरिषद्ले नै कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रतिवेदनमाथि पुनर्विचार गर्न बालकृष्ण खाण गृहमन्त्री हुँदा २७ जेठ २०७९ मा गृहमन्त्रीस्तरीय निर्णयबाट अर्को समिति बनेको पाइएको छ । तर, सो समितिले चलखेलको आशंकामा काम अघि बढाएको थिएन । ठगी काण्डमा पक्राउ परेका पूर्वसचिव टेकनारायण पाण्डेले प्रतिवेदन बुझाउन पटकपटक ताकेता गरेका बताइन्छ ।

अझै रोचक कुरा के छ भने, जतिबेला नेपालमा छुटेका भुटानी शरणार्थी गणना र खोजी भइरहेको थियो, त्यसबेला पुनर्वास योजना नै समाप्त भइसकेको थियो । नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले यस घटनाप्रति गहिरो चिन्ता जनाउँदै नेपाल सरकारले गरिरहेको अनुसन्धानको स्वागत गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा अर्का पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायामाझी फरार छन् । नेपालबाट ८ वटा देशमा १ लाख १३ हजार जनाभन्दा बढी भुटानी शरणार्थी पुनर्वासका लागि गएका थिए, जसको सहजीकरण यूएनएचसीआरले गरेको थियो । त्यस क्रममा झन्डै १ लाख जना शरणार्थी अमेरिका गएका थिए भने बाँकी क्यानाडा, अस्ट्रेलियासहितका देशमा गएका थिए ।

यूएनएचसीआरले नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम २०१६ डिसेम्बर ३१ मै सम्पन्न भइसकेको र यो फेरि सञ्चालन नहुने पनि स्पष्ट गरेको छ । शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई निरन्तर प्रस्तुत गर्दै आएको पनि यूएनएचसीआरको भनाइ छ । तर, त्यसको ६ वर्षपछि नेपाल नक्कली भुटानी शरणार्थी मामिलाले तातेको छ, जसमा उच्च राजनीतिक नेतृत्वसहित ठूलो गिरोह ठगीमा संलग्न भएको देखिन्छ । यस घटनामा संलग्नलाई हुने कारबाहीले कस्तो मोड लिन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

सन् १९९० को दशकमा भुटानबाट भारतको बाटो हुँदै पूर्वी नेपालमा आइपुगेका शरणार्थीहरू झापा र मोरङका विभिन्न शिविरमा बसोवास गरिरहेका थिए । लामो समय स्वदेश फिर्तीको पर्खाइमा रहेका १ लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्तामा कुनै समाधान समाधान नभएपछि तेस्रो देश पुनर्वासमा जान बाध्य भए ।

सो योजनाअन्तर्गत अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेमा पुनर्वासका लागि गएका छन् । नेपालमा बाँकी भएका ६ हजार जनाभन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरीशनिश्चरे शिविरमा छन् । अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे दीर्घकालीन समाधानका लागि नीतिगत भ्रष्टाचार र नक्कली शरणार्थीहरू बटुलेर ठगी गरेको घटना बाहिरिएको हो ।

यस घटनामा पूर्वमन्त्रीहरूसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना पक्राउ परेका छन् । यस घटनामा अझै केही पक्राउ पर्ने सम्भावना देखिन्छ ।