बाबा साकोसको स्थापना दिवस: 'स्तन क्यान्सर रोग निराकरणको पहिलो चिकित्सक महिला स्वयं हो'

बाबा साकोसको स्थापना दिवस: 'स्तन क्यान्सर रोग निराकरणको पहिलो चिकित्सक महिला स्वयं हो'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०८०

भक्तपुर। बाबा बचत तथा ऋण सहकारी संस्था लि., थिमि, भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुलाई स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

क्यान्सरका कारण महिला तथा पुरुषहरु पीडादायीक जीवन बिताउने गरेको साथै परिवारको दैनिकी समेत प्रभावित हुने क्रम तिब्र भएको अवस्थालाई मध्यनजर गरी शेयर सदस्यहरुलाई क्यान्सर रोगबाट बच्ने उपाय बारे कार्यक्रममा जानकारी गराएको थियो ।

साकोसको महिला उपसमितिको आयोजना तथा रक्षा क्यान्सर केयर सो साइटीसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले मानिसको दैनिक जीवनमा आएको फेरबदलसँगै अस्वस्थकर खानाले गर्दा क्यान्सर रोगीको संख्या हरेक दिन बढ्दो क्रममा रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले स्वस्थ जीवन जीउन आवश्यक शारिरीक ब्यायामको अभाव, अप्राकृतिक खानपान, धुम्रपान र मदिरापानका कारण क्यान्सर रोग लाग्ने संभावना बढी हुने जानकारी दिनुभयो । क्यान्सर रोग लाग्न नदिन सर्वप्रथम आफै सचेत हुन आग्रह गर्दै उहा“ले राज्यले सुर्तिजन्य पदार्थलाई न्यूनिकरण गर्न सरकारले विशेष कानून बनाई कार्यन्वयन गर्न जोड दिनुभयो । संसारमा महिलाको स्तन क्यान्सर रोग बढ्दै गएको र स्तन क्यान्सरको पहिलो डाक्टर स्वयं महिला नै हुने भएको जानकारी दिदै डा. प्रजापतिले  हरेक महिनाको एक पटक महिलाहरु स्वयंले आफ्नो स्तन आफै परिक्षण गर्न र स्तनमा देखिने गिर्खा लगायतका लक्षण आफै थाहा पाउन सहभागीहरुलाई सचेत गराउनुभयो ।

कार्यक्रममा रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले पाठेघरको मुखमा हुने क्यान्सर रोग लक्षण सम्बन्धी जानकारी दिदै महिलाहरुको योनीबाट सेतो पानी बग्नु, यौन सम्पर्क पछि योनीबाट रगत जानु, महिनावारी नभएको बेला पनि रगत बग्नु लगायतको लक्षण आफै जानकारी लिई तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गर्नुभयो । उहाँका अनुसार योनीबाट फोहर गन्हाउने, रगत मिसिएको पानी बग्ने, रोग धेरै फैलिएको अवस्थामा दिसा पिसाब पनि योनी कै बाटोबाट आउन सक्ने, पेट फुल्ने आदि क्यान्सर रोगको लक्षण हुन ।

बाबा साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला उपसमितिका संयोजक सुवर्णलक्ष्मी जोशी, संचालक तुल्सीमैंया श्रेष्ठ, सोसाइटीका उपाध्यक्ष लक्ष्मीकेशरी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

यस अघि बाबा साकोसको २३ औं स्थापना दिवस कै अवसरमा साकोसको शिक्षा उपसमितिको आयोजना तथा नेपाल रेडक्रम सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा थिमि, शंखधर चोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । महिला १५ जना र पुरुष २९ जना गरी जम्मा ४४ जना रक्तदाताले रक्तदान गरेको संस्थाले जनाएको छ ।