प्रा.डा. भागवत ढकाल: साहित्य, शैक्षिक संस्था तथा समाज सुधार र प्राज्ञिक कर्मको अर्को नाम

प्रा.डा. भागवत ढकाल: साहित्य, शैक्षिक संस्था तथा समाज सुधार र प्राज्ञिक कर्मको अर्को नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ २, २०८०

पिता तुलसीराम ढकाल तथा माता नारायणी ढकालको कोखबाट उहाँको जन्म अहिलेको सत्यवती गाउँपालिका–६ मा भएको हो । पिताजी पेशाका हिसाबले मूलतः कृषि कर्म भए पनि पढे लेखेको, आध्यात्मिक तथा कथा प्रवचन पनि गर्नुहुन्थ्यो । गाउँमा कर्मकाण्डका काम पनि गर्नुहुन्थ्यो पिताजीले र मुख्यतः उहाँमा अरु जे जे भए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण थियो । आर्थिक अवस्थाको कुरा गर्दा एक मानो खान लाउन दुःख थिएन । वार्षिक जसो यसो जग्गा जमिन जोड्ने र धान, गहुँ बिक्री गर्ने अवस्था थियो । २०२७ सालमा जन्मिनु भएका ढकालका आठ दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ । उहाँ भाइ तर्फको भने कान्छो अनि उहाँको एक जना बहिनी हुनुहुन्छ । 

उहाँको बाल्यकाल पनि सामान्य अरु बालकको झैँ गुच्चा खेल्ने पांग्रा गुडाउने आदि गरेर बित्यो । गुच्चा खेलेर जितेर ल्याउँदा गुच्चा बज्ला र बुवाले थाहा पाउनु होला भनेर कागजमा पोको पारेर ल्याउनुहुन्थ्यो । डण्डी बियो कपर्दी पनि राम्रै खेल्नुहुन्थ्यो । उहाँ पौडी खेल्न भने जानु भएन । 

१४/१५ वटा गाई तथा ४/५ वटा भैँसी थिए । अनि बिदाको दिन गाई हेर्ने काम गर्नुभयो । भैँसी भने फुकाउने चलन थिएन । 

०००

उहाँको अक्षरारम्भ भने बुवा पण्डित तथा कर्मकाण्ड पनि गर्ने हुनाले घरमै भयो । विष्णु सहस्रनाम,  पुरष सूक्त, श्री सूक्त तथा गुरु परम्परा घरमै पढ्नुभयो । केही जोड घटाउ सिक्ने काम पनि घरमै भयो । त्यसपछि श्री ज्ञानोदय प्राविमा उहाँ एक कक्षामा भर्ना हुनुभयो । सामान्य माटो, ढुङ्गाको थियो स्कूल । शुक्रबार कक्षाकोठा लिपपोत गर्ने काम हुन्थ्यो । सरहरूलाई दूधको चिया खान सबैलाई पालो लगाइएको थियो । बस्नलाई घरबाटै चकटी लिएर जानुपर्थ्यो । 

चेतनाको हिसाबले गाउँ राम्रै थियो । कारण २२/२३ जनाको कक्षामा झण्डै ८÷१० जना महिला थिए । धान कुटाउने मिलबाट बिजुली निकालेर गाउँमा बाँडिएको थियो । ४० को दशकमा गाउँमा फिल्म हल पनि थियो । पानी प्रशस्त भएको हुँदा धान खेती दुई बाली हुन्थ्यो भने अर्को एक बाली पनि हुन्थ्यो । उहाँको घर वरपर फलफूलका बिरुवा पनि प्रशस्तै थिए । आँप ८/१० बोट, भुइँ कटहर, रुख कटहर आदि थिए । फलफूल खान मन लागे पण्डित बा कहाँ पाइन्छ भन्ने थियो । 

त्यस बेला स्कूल जाँदा उहाँहरु पाटी लिएर जानुहुन्थ्यो । सरहरूले कालो पाटीमा चकले लेख्नुहुन्थ्यो भने उहाँहरु आफूले लगेको पाटीमा सिलोटले लेख्नुहुन्थ्यो । त्यस बेलाको बाबुराम गौतम, दुर्गा गौतम र योगेन्द्र शेरचन अर्थात् थकाली सरलाई उहाँ अहिले पनि सम्झनुहुन्छ । त्यस बेला सरहरूसँग जति डर लाग्थ्यो अहिले पनि उत्तिकै तर त्यस बेलाको जस्तो नभएर सम्मानित डर लाग्छ उहाँलाई । 

उहाँ ज्ञानोदयमा तीन कक्षासम्म पढ्नुभयो । त्यसपछि डेढ घण्टको उकालो बाटोमा रहेको सरस्वती माविमा चार कक्षादेखि पढ्न थाल्नुभयो । उहाँ सरस्वती माविमा आठ कक्षासम्म पढ्नु भयो । आठ कक्षामा पढ्ने क्रममा खेतमा पानी लगाउन कुलो खन्न गएका बेला पहिरो आएर दुर्घटनामा पर्नुभयो र खुट्टा पनि भाँचियो । 

त्यसबेला सरस्वती माविका प्राधानाध्यापक जगन्नाथ ढकाल सरले लगाएको सेतो सर्ट अनि त्यस सेतो सर्टबाट बाहिर देखिने गरी राख्ने गैंडा चुरोटको खोल राखेको देख्दा ए, सर भएपछि त यसरी चुरोट खान पाइने रहेछ ! भन्ने मनमा परेको छाप अहिले नि ताजै छ उहाँसँग । 

त्यस बेला उहाँको गाउँ रितौँदीबाट करिब २५ जना युवाहरु स्कूल पढ्न जान्थे अनि त्यस बेला डिब्बामा आउने बिजुली खैनीको निकै प्रचलन थियो । धेरै साथीहरु त्यो खैनी खान्थे । उहाँले पनि एक/दुई पटक प्रयास नगरेको त होइन । तर, खान सक्नुभएन त्यसैले खानु हुन्थेन । 

बिजुलीको वायरिङ, छाना मर्मत, रंगरोगन प्लास्टर, आँगनमा ब्लक छाप्ने देखि, गेट निर्माण, क्यान्टिन, प्राध्यापक कक्षदेखि १७ वटा विभिन्न विषयका स्नातकोत्तर तहको पढाइ हुने विभागमा कुर्सी टेबल, पार्किङ, बास्केटबल कोर्ट, खानेपानीसम्मका हेर्दा सामान्य तर, नभइ नहुने अत्यावश्यक चिजको व्यवस्था गरेर वाल्मीकि क्याम्पसलाई नयाँ नयाँ स्वरुप पनि दिनुभएको छ ।

स्कूल डेढ घण्टाको बाटोमा रहेको हुनाले स्कूलमा खानका लागि भनेर हालिदिएको खाजा बीच बाटोमै सकिन्थ्यो । फर्कँदा पनि झण्डै डेढ घण्टा नै लाग्थ्यो । 

सरस्वती मावि भएको ठाउँ भने एकदमै ठूलो फराकिलो थियो । भवन कच्ची भए पनि कक्षा कोठाहरु ठूला र फराकिला थिए । त्यसभन्दा करिब दुई घण्टामाथि भार्सेमा जिल्लाकै पहिलो पहिलो मावि खुलेको थियो । त्यस ठाउँबाट श्रीप्रसाद बुढाथोकी, पद्मप्रसाद पुन आदि दुई/तीन जना त मन्त्री नै  हुनु भएको थियो । 

एक पटक भार्सेमा शैक्षिक भ्रमण लगिएको थियो । अरु हरुलाई जुकाले खायो । तर, उहाँ भने जुकाले खाएको छैन भनेर हिँडिरहनु भएको थियो । जब सरले जुत्ता खोलेर हेर् त भन्दा दुई/तीन वटा जुका त जुत्ता भित्रै थिए । 

सरस्वती माविमा धेरै गाउँका विद्यार्थी जम्मा हुने हुनाले प्रतिस्पर्धा पनि राम्रै थियो । एउटा कक्षामा झण्डै २०/२२ हुन्थे त्यसमा ८/१० जना महिलाहरु नै हुन्थे । बस्नलाई डेस्कबेञ्चको व्यवस्था राम्रै थियो । शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गथ्र्यो । वादविवाद, हाजिर जवाफ तथा अन्य खेलकुद प्रतियोगिता हुने गथ्र्यो । उहाँले एकपटक अनुशासित विद्यार्थीको पुरस्कार जित्नु भएको थियो ।

०००
विद्यार्थीहरूमै पनि त्यस बेला भागेर लाहुर जाने भनेर भारतका विभिन्न शहरमा जाने चलन थियो । उहाँको जेठो दाइ बनारसमा पिएचडी गर्दै हुनुहुन्थ्यो । उहाँले गाउँका पढ्न चाहने धेरैलाई बनारसमा बोलाएरै पढाउनु भएको थियो । उहाँ भने यता पहिरोमा परेर खुट्टा भाँचिएर ठीक भएको केही समयपछि २०४१ सालतिर पढ्न बनारस जानुभयो । बनारसको निगमानन्द स्कूलमा ९ र १० कक्षा पढ्नुभयो । हिन्दी पनि पढ्नुपर्ने हुनाले उहाँलाई सुरुमा भने केही अप्ठेरो पनि भयो । संस्कृत यता आठ कक्षासम्म पनि पढेको हुनाले खासै समस्या परेन । 

एसएलसीपछि मुम्बईको चौखम्बा कलेजमा भर्ना हुनु भएको थियो तर त्यसको मान्यता नेपालमा नभएको थाहा पाएपछि फर्केर बनारसको दक्षिणा मूर्ति संस्कृत महाविद्यालयमा आएर पढ्नुभयो । दक्षिणा मूर्तिमा नेपाली विद्यार्थीलाई भर्ना नलिने चलन रहेछ । कारण के रहेछ भनेर बुझ्दा नेपालीहरु पढ्दैनन् भन्ने कता के छाप परेको रहेछ । उहाँको पनि अन्तर्वार्ता भयो । रामसन्मुख द्विवेदी सरले ले ‘लडका तो बहुत चलाख लगता है । कुछ करेगा’ भनेर सिफारिश गरेपछि उहाँको पढाइको बाटो खुल्यो । विद्यालयको आफ्नै छात्रावास थियो भने राम्रो विद्यालयको रुपमा गनिन्थ्यो त्यसकारण उहाँले रुचि लिनु भएको थियो ।

उहाँले त्यहाँ प्रथम श्रेणीमा शास्त्री पास गर्नुभयो । त्यहाँ दक्षिणा मूर्तिको मन्दिर पनि थियो । उहाँ बिहान उठेर नुहाइ धुवाइ गरेको र जप, पाठ गरेको देखेर तीन महिनापछि उहाँलाई मन्दिरको पूजा गर्ने काम सुम्पियो । उहाँ बिहान पाँच बजे अगाडि नै पूजा, आरती सकिसक्नु हुन्थ्यो मन्दिरको । पुजारीलाई भोजनको व्यवस्था थियो त्यो सुविधा उहाँलाई पनि प्राप्त भयो । छात्रावास त छँदै थियो । 

उहाँलाई त्यहाँको प्राचार्य बनाउँछु नेपाल नफर्की भनेर भनेको पनि थियो । उहाँले भनेर उहाँको साहिँलो दाइलाई राजस्थानमा कलेजको संस्थामा काम लगाइदिएका थिए । त्यसकारण उनीहरुले प्राचार्य बनाउँथे पनि होलान् तर, उहाँलाई भने नेपाल नै फर्किनुपर्छ भनेर लाग्यो र फर्किनुभयो । 

नेपाल फर्किएर उहाँले बिएडमा भर्ना हुनुभयो । त्यसपछि एमएको नेपाली पहिलो वर्षका उत्कृष्ट दुईमध्ये उहाँ एक जना हुनुहुन्थ्यो । दोस्रो वर्षमा पनि राम्रै भयो । समग्रमा उहाँ दोस्रो हुनुभयो । 

०००
एमएको रिजल्ट भएको थिएन । पहिलो वर्षमा उत्कृष्ट भएको हुनाले दोस्रो वर्ष पनि राम्रै हुन्छ भनेर उहाँले रिजल्ट ननिस्कँदै थेसिस तयार पारिसक्नु भएको थियो । अनि त्यस बेला एसओएस सानोठिमीमा शिक्षक मागेको छ भनेर साथी सुजन खनालले भन्नुभयो । उहाँलाई ठाउँ पनि थाहा थिएन । साथीलाई लिएर गएर फर्म भर्नुभयो । पर्सिपल्ट लिखित जाँच थियो । ८३ जनाले जाँच दिएका थिए । उहाँको नाम एक नम्बरमा निस्कियो र अन्तरवार्तामा पनि एक नम्बरमा नाम निस्कियो । यो २०५१ साल माघ महिना तिरको कुरा हो ।  
त्यतिखेर कलेज पढाउने शिक्षकको ३१ सय रुपैयाँ थियो । तर, एसओएसमा भने ६६ सय थियो । त्यसकारण पनि आकर्षण थियो एसओएसको । पहिलो पटक त्यत्रो तलब पाएपछि बुवालाई ढोग गर्नुपर्‍यो भनेर उहाँ घर गएर हजार रुपैयाँ राखेर बुवालाई ढोग गर्नुभयो । तर, बुवाले भर्खर कमाउँदैछौ भगवानलाई ढोग गर भनेर त्यो पैसा भगवानलाई चढाउन लगाउनुभयो । 

उहाँले एसओएसमा नेपाली विभागको विभागाध्यक्ष भएर २०५५ सालसम्म पढाउँदै हुनुहुन्थ्यो भने यसै बीचमा त्रिचन्द्र कलेजमा २०५३ सालदेखि आंशिक शिक्षकको रुपमा पनि काम गर्दै हुनुहुन्थ्यो । २०५५ सालमा नेपाल संस्कृत विश्वविद्यालयमा नेपाली शिक्षक मागेको थियो । तर, जाँच दिन भने दाङ जानुपर्थ्यो । उहाँ त्यसबेला कन्या क्याम्पस डिल्लीबजार तथा क्याम्पियन कलेज गहना पोखरीमा पनि पढाउनुहुन्थ्यो । यसकारण पनि उहाँलाई जाँच दिन दाङ जान मन लागेको थिएन ।

तर, साथीहरुले कर गरेका कारण जाँच दिनुभयो । करिब ५५ जना थिए जाँच दिने । उहाँको नाम एक नम्बरमा निस्कियो । एक नम्बरमा नाम निस्किएका अरु विषयका शिक्षकलाई पनि सोझै बाल्मिकी क्याम्पसमा पढाउन पठाइदियो विश्वविद्यालयले । यसरी २०५६ साल जेठमा उहाँ उपप्राध्यापकका रुपमा बाल्मिकी क्याम्पसमा प्रवेश गर्नुभयो । 
यता नाम निस्किएपछि उहाँले एसओएस छोड्न पनि खोज्नु भएको थियो । तर, विद्यालय प्रशासनले मानेन र उहाँले २०६८ सालमा खुलाबाट सह प्राध्यापकमा नाम निकालेपछि अब विद्यावारिधि गर्नुपर्छ भनेर उहाँले एसओएस छोड्नुभयो । एसओएसमा उहाँले उत्कृष्ट शिक्षकको पुरस्कार पनि प्राप्त गर्नु भएको थियो । 

२०६८ मा दर्ता गरेर उहाँले २०७१ सालमा पिएचडीको शोधपत्र बुझाउनु भएको थियो । मुल्यांकन सबै गर्दा २०७२ सालमा उहाँको विद्यावारिधि सकियो । उहाँको विद्यावारिधि  ‘भरतराज पन्तको महाकाव्य कारिता’ शीर्षकमा हो । 

२०७४ साल असोजदेखि उहाँ प्राध्यापकको रुपमा नियुक्त हुनुभएको हो । प्राध्यापकमा पनि उहाँले एक नम्बरमै नाम निकाल्नुभएको हो । २०७७ फागुनदेखि भने उहाँ वाल्मीकि क्याम्पसको क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ भने  नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी सदस्य हुनुहुन्छ ।

०००

वाल्मीकि क्याम्पसको प्राचार्यको रुपमा रहेपछि उहाँले त्यहाँ थुप्रै सुधारका काम पनि गर्नुभयो । उहाँ २०६८ सालमा प्राध्यापक संघको सभापति भएपछि पनि उहाँले त्यहाँ झण्डै तीन सय पेजको वाल्मीकि प्रज्ञा भन्ने नेपाली, अंग्रेजी, संस्कृत भाषाको ‘जर्नल’ पनि निकाल्नु भएको थियो भने प्राध्यापकहरुलाई खानेपानीका लागि डिस्पेन्सर राख्नेदेखि साहित्यिक कार्यक्रम र अन्य गतिविधि पनि गर्नु भएको थियो ।

उहाँ प्राचार्य भएपछि विसं १९३४ देखि विभिन्न नामबाट सञ्चालित सबैभन्दा पुरानो संस्थाको उहाँले विभिन्न भौतिक सुधारको काम गर्नुभयो । बिजुलीको वायरिङ, छाना मर्मत, रंगरोगन प्लास्टर, आँगनमा ब्लक छाप्ने देखि, गेट निर्माण, क्यान्टिन, प्राध्यापक कक्षदेखि १७ वटा विभिन्न विषयका स्नातकोत्तर तहको पढाइ हुने विभागमा कुर्सी टेबल, पार्किङ, बास्केटबल कोर्ट, खानेपानीसम्मका हेर्दा सामान्य तर, नभइ नहुने अत्यावश्यक चिजको व्यवस्था गरेर वाल्मीकि क्याम्पसलाई नयाँ नयाँ स्वरुप पनि दिनुभएको छ ।

०००
साहित्यमा उहाँ कविताभन्दा पनि समालोचनात्मक निबन्धहरू लेख्न रुचाउनुहुन्छ । स्नातकोत्तरमा पढ्दा उहाँहरुले एउटा भन्ने पत्रिका प्रकाशन गर्नुभएको थियो । त्यसमा रमेश विकलको कथा एउटा बुढो भ्वाइलेन आशावरीको धुनमा भन्ने शीर्षकको कथाका बारेमा समालोचनात्मक लेख प्रकाशन गर्नुभएको थियो । यो नै उहाँको पहिलो प्रकाशित रचना हो । 

‘प्रकृति प्रत्यय कोष’ खगेन्द्र लुइँटेलसँग संयुक्तरुपमा, सैद्धान्तिक कसीमा भाउपन्थीका कथा नामक समालोचनात्मक किताब, ‘समालोचक अम्बिकाप्रसाद अधिकारी’ का बारेमा उहाँले  लघु अनुसन्धान गर्नुभएको थियो र पुस्तक पनि यही नाममा प्रकाशन गर्नुभयो, ‘आधुनिक समालोचना’ शीर्षकमा विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका समालोचनाका, ‘भरतराज पन्तको काव्य यात्रा र प्रवृत्ति’ उहाँका प्रकाशित कृतिहरु हुन् । 

त्यस्तै करिब चार/पाँच दर्जन फुटकर अनुसन्धानमूलक लेख रचनाहरू रहेका छन् । गुल्मेली तीजका गीत, गुल्मेली भजनहरूमा पनि उहाँले लघु अनुसन्धान गर्नुभएको छ । 

दिव्य चेतना साहित्य समाज, बुद्धनगरको उहाँ अध्यक्ष पनि हुनुहुन्छ । साहित्य वाङ्मय प्रतिष्ठानको सदस्य, महासचिव पनि भएर काम गर्नुभयो । अहिले उहाँ अनुसन्धान परिषद्को सदस्य हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को सदस्य भएर पनि एक वर्ष काम गर्नुभयो ।