शक्तिको पूजारी टोपबहादुर रायमाझी: सत्ताको आडमा नक्कली भुटानी शरणार्थीको तरमा राल !

शक्तिको पूजारी टोपबहादुर रायमाझी: सत्ताको आडमा नक्कली भुटानी शरणार्थीको तरमा राल !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परी अनुसन्धानको लागि तीन दिन म्याद थपि सकिएको छ । 

काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ उनी पक्राउ परेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने हालसम्मकै उच्च व्यक्ति हुन् । यसअघि गत बुधबार पूर्वगृहमन्त्री बाल कृष्णा खाँण यही प्रकरणमा पक्राउ परेका थिए । उनलाई आइतबार मात्रै अनुसन्धानका लागि ४ दिनको समय थप गरिएको छ । 

यही प्रकरणमा रायमाझी पासिकोट स्थित एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । रायमाझीसँगको सम्बन्धकै आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयसम्म पहुँच पुर्‍याएको अनुसन्धानबाट खुलेको छ । यो प्रकरणमा बादलका छोरासहित उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज सहित तानिएका छन् । प्रहरी अब बादलको संलग्नता अनुसन्धान गरिरहेको छ । सचिवालय र विश्वास पात्रहरु नै संलग्न भएको घटनामा बादल जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीको अनुरोधमा काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए । उनका छोरा सन्दिप भने सोही दिन साँझ पक्राउ परेका छन् । उनीमाथि पनि अनुसन्धानका लागि ४ दिनको म्याद थपिएको छ । 

पक्राउ पूर्जी जारी भएको दिन नै भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा रहेका उनी प्लेनको टिकट क्यान्सिल गरेर गाडीमा हिँडेका थिए । तर उनका गाडी चालक र गाडी आइपुगे पनि उनी फरार भएका थिए । सोही समयमा नै उनले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई फोन गरेर कुराकानी गरेका थिए । सो क्रममा उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा जिज्ञासा राखेका थिए । 

जब २०७२ मा संविधान जारी भएपछि बाबुराम भट्टराई माओवादीबाट अलग भए तब उनले भट्टराईलाई साथ दिएनन्, बरु प्रचण्डलाई साथ दिएर फेरि मन्त्री बन्ने अवसर पाए । अर्घाखाँचीबाट निरन्तर चुनाब जित्दै आएका रायमाझी एमाले र माओवादी एकीकरणपछि नेकपा र नेकपा विभाजित हुँदा एमालेमा गए । उनी पटक पटक शक्तिको पछि लागेर तर मार्ने नेतामा पर्छन् ।

अर्घाखाँचीमै आफू भुटानी शरणार्थी बनाउने कुरामा कहिल्यै पनि सहमत नरहेको र आफ्नो संलग्नता नरहेको बताएका थिए । तर उनी एकाएक फरार भएपछि उनीमाथि शंका बलियो बनेको थियो । 

रायमाझी आफैंले भने आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गर्दै अनुसन्धानमा सघाउन आफैं काठमाडौं आउने बताएका थिए । तर उनी काठमाडौं नआएर फरार रहेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धानका क्रममा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव भइसकेका व्यक्ति हुन् । दुलालले सानु भण्डारी र सानु भण्डारीमार्फत रायमाझीसँग जोडिएको बयानका क्रममा खुलेको थियो । रायमाझीसम्म पुगेपछि भने यो गिरोहले गृह मन्त्रालयमा पकड जमाउन सफल भएको थियो । उनीहरुको बयानका आधारमा रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक गिरोहका सदस्यले काटेको पाइएको प्रहरीको भनाई छ । रायमाझीले भने आफूहरुलाई कुनै चेक नआएको दाबी गरेका छन् । यो काण्डमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी फरार छन् । यसैगरी काँग्रेसका पूर्वसभासद आङ्टावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनले यो ठगी गिरोहका सदस्यलाई पक्राउ परेपछि गएर भेटेका थिए । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् । जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँड तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहितका व्यक्ति छन् । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार नै अनुमति दिएको छ । 

रायमाझीलाई अब सोमबार अदालत उपस्थित गराइनेछ । रायमाझी माओवादी पृष्ठभूमि हुँदै केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए । तर तत्कालीन नेकपा विभाजित हुँदा उनी माओवादीमा नफर्किई एमालेमै बसेका थिए । माओवादीमा हुँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समूहका बलियो खम्बाका रुपमा उनी चिनिन्थे । भट्टराईको लाईन भजाए रै उनले पटक पटक मन्त्री बन्ने अवसर मात्र पाएका थिएनन् र नक्कली भुटानी शरणार्थी चास्नीमा राल चुहाएका थिए ।

जब २०७२ मा संविधान जारी भएपछि बाबुराम भट्टराई माओवादीबाट अलग भए तब उनले भट्टराईलाई साथ दिएनन्, बरु प्रचण्डलाई साथ दिएर फेरि मन्त्री बन्ने अवसर पाए । अर्घाखाँचीबाट निरन्तर चुनाब जित्दै आएका रायमाझी एमाले र माओवादी एकीकरणपछि नेकपा र नेकपा विभाजित हुँदा एमालेमा गए । उनी पटक पटक शक्तिको पछि लागेर तर मार्ने नेतामा पर्छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि एमालेबाट निलम्बित भएका रायमाझी विरुद्धको यो प्रकरणले भने उनको राजनीतिक जीवनमा प्रश्न उठाएको छ ।