कुर्सीबाटै ज्यानको खतरा भएपछि

कुर्सीबाटै ज्यानको खतरा भएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

राजनीतिमा कुर्सीका लागि के मात्र हुँदैन । कुर्सी प्राप्तीका लागि अनेकौं तिकडम र माथापच्ची हुने गरेको छ । तर प्राप्त भएको कुर्सी नै ज्यानको खतरा बनेपछि सम्बन्धित निकायमा गुहार लगाउनु बाहेक अर्को के उपाय हुनसक्ला र । 

काठमाडौं । प्रतिनिधि सभामा साँसदहरुको संख्या न्युन देखिनु, गणपुरक संख्या नपुग्नु, हाजिरी जनाएर टाप कस्नु सामान्य हो । सामान्य छलफलको क्रममा प्रतिनिधि सभामा आइतवार एउटा रोचक दृष्य देखिएको छ । 

नेकपाका सांसद खगराज अधिकारीले आफ्नो ज्यान जोगाई पाउँ भनेपछि छलफल रोचक बनेको थियो ।

उनले सभामुख कृष्ण बहादुर महरालाई प्रतिनिधि सभामा रहेको कुर्सीबाट आफू तीन चार पटक लडिसकेकाले ज्यान जोगाई पाउँ भनि ध्यानाकर्षण गरेका थिए ।   

चार पटक भयो म यहाँबाट लडेको अधिकारीले संसदमा कुर्सीको सिट देखाउँदै भने, अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो, संसद सचिवालयलाई ? सभामुख महोदय ।’ साथै उनले, ‘संसदबाट त्यस्ता कुर्सी हटाउन माग पनि गरे।’

आगामी दिनमा यस्ता कुर्सी नराखियोस, धराप भयो, उनले भने । ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो।’

अधिकारीको ध्यानाकर्षणपछि प्रतिनिधिसभामा हाँसो फैलियो।

लगत्तै सभामुखले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।