काठमाडौंमा असार १ देखि दिनभर मालबाहक सवारी चलाउन रोक

काठमाडौंमा असार १ देखि दिनभर मालबाहक सवारी चलाउन रोक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

काठमाडौं । काठमाडौंमा आगामी असार १देखि दिनभर मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा निषेध गर्न लागेको हो । तर, सार्वजनिक बिदामा भने यो व्यवस्था लागू हुने छैन । यस्तै, आपत्कालीन तथा अत्यावश्यक सेवामा प्रयोग भएका सवारीसाधनलाई भने यो व्यवस्था लागू नहुने विभागले जनाएको छ । विभागका अनुसार पानी, दूध, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या देखिएपछि यसको नियन्त्रणका लागि कदम चालेको विभागले जनाएको छ । काठमाडौंमा मालबाहक सवारी साधन बाक्लिएपछि त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकामै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ ।

काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री सहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

यसअघि रिंगरोडभित्र ठूला मालबाहक सवारीको मात्रै प्रवेश र सञ्चालन रोकिएको थियो ।