जब फिचर प्रमुखले स्तनलाई नितम्ब लेखे

जब फिचर प्रमुखले स्तनलाई नितम्ब लेखे

राजकुमार दिक्पाल  |  साहित्य  |  जेठ ६, २०८०

पत्रकारिता सुरु गरेको एक डेढ वर्षपछि मात्रै पत्रकारिता सम्बन्धी प्रशिक्षणमा सहभागी हुने अवसर पाइयो । पत्रकारितासम्बन्धी सैद्धान्तिक ज्ञान बिनै आफूलाई श्रमजीवी पत्रकार बनाउने धृष्टता मैले गरेकोे थिएँ । एक राष्ट्रिय दैनिकको ज्यालादारी जिल्ला समाचारदाताको रुपमा पत्रकारितामा श्रम जीवन सुरु गरेकै बेला २०५० साल वैशाख महिनामा राजधानीमा उक्त दैनिकले समाचारदाताहरूको राष्ट्रिय भेला आयोजना गरेको थियो । म मोफसल धनकुटाबाट सहभागी थिएँ । भेलापछि आयोजित रात्रीभोज कार्यक्रममा उक्त दैनिकका सम्पादकले मेरो पाखुरामा समातेर भनेका थिए,‘तिमीले फिचर राम्रो लेख्ने गरेका रहेछौ ।’

‘हजुर हजुर’, मैले यति मात्रै भनेँ । सम्पादकको कुरामा सही मात्र थप्नु मेरो बाध्यता थियो । कारण, उनले के भनेका थिए, मैले बुझ्दै बुझिँन, र भन्न पुगेँ, ‘हजुर हजुर’ पत्रकारिता गर्ने रहर पुरा गर्न म अरुले लेखेको शैलीको नक्कल गर्थेँ । अनि विषय वा घटना खोजेर सोही शैलीमा सामग्री तयार पारी प्रकाशनार्थ पठाउँथे । जस्तो पाल्पाका जगदिश भट्टराईले श्रीनगर डाँडाको पर्यटनका बारेमा लेखेको पढ्न पाएपछि म धनकुटाको हिले बजारतिर रिपोर्टिङ गर्न पुग्थेँ र त्यहाँको पर्यटनको बारेमा लेखेर पठाउँथे । प्रताप विष्टले चेपाङहरुको बारेमा लेखेको पढ्न पाएपछि म धनकुटाका आठपहरिया राईहरूको बस्तीमा पुग्थेँ र उनीहरुको जनजीवन र दुःख सुखका बारेका लेखेर पठाउँथे । ती सामग्री छापिएर आएपछि आफूले लेखेको सामग्रीमा के कति सम्पादन भए, ती पक्ष विचार गरेर आफ्नो लेखन शैलीमा कायम राख्नुपर्ने र सुधार गर्नु पर्ने पक्षमा ध्यान दिने गर्थेँ । 

पेशागत रुपमा पत्रकारिता थालेको डेढ वर्षपछि तत्कालिन नेपाल पत्रकार संघ (हाल महासंघ), सुनसरी शाखाले धरानमा आयोजना गरेको आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रममा एक प्रशिक्षार्थीको रुपमा सहभागी हुने अवसर पाइयो । त्यसपछि पो थाहा पाएँ, फिचर भनेको के रहेछ भन्ने कुरा । 

पत्रकारिता प्रशिक्षण लिने अवसरमै सम्पादन तथा शुद्धाशुद्धि का बारेमा पनि केही ज्ञान हासिल गर्न पाइयो । यसै अवसरमा प्रशिक्षकहरुले बेलायतकी महारानी एलिजावेथ द्वितीय नेपालको भ्रमणमा रहँदा ‘गोरखापत्र’मा भएको एक अशुद्धिका बारेमा उदाहरण दिइएको थियो । त्यसबेला बेलायती महारानीको फोटोको क्याप्सनमा गल्ती हुन पुगेछ । लेटर प्रेसको जमाना थियो । कम्पोजिटरले हातैले धातुका अक्षरहरु जोडेर कम्पोज गर्थे । त्यसबेला क्याप्सनमा लेख्नुपर्ने थिएछ, ‘महारानीलाई गुलाबको फूल असाध्यै मन पर्छ ।’ तर कम्पोजका क्रममा गुलाब शब्दको एउटा अक्षर ‘ब’ उछिट्टिएर अन्त कतै पुगेछ । गोरखापत्रको पहिलो पेजको मुख्य फोटोको क्याप्सन अशुद्ध मात्रै भएन, अश्लिल पनि बन्न पुगेछ ।

यसबाट नेपाली पत्रकारिता जगतकै घोर बेइज्जत भएको थियो भनी उदाहरण दिन्थे, पत्रकारिताका गुरुहरू । यसबारेमा आफूले कुनै अनुसन्धान गरिएको छैन, गुरुहरुले जे जसो रुपमा त्यस घटनालाई हामी प्रशिक्षार्थीहरूलाई बताए, त्यहीँ मात्र उल्लेख गरेको हुँ । 

आफ्नै भोगाई
धरानमा रहेर काठमाडौंबाट प्रकाशित हुने अर्को एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाताको रुपमा श्रम गरिरहेको थिएँ । धरानकै एक साँस्कृतिक समूह ‘हिमायती’का बारेमा एक सामाग्री तयार पारी प्रकाशनार्थ पठाएँ । समयमै प्रकाशित भयो । तर हिमायती बारेको उक्त सामाग्री अशुद्ध मात्रै होइन, अश्लील पनि भएर आयो । त्यतिखेर हातैले लेखेर पठाइन्थ्यो, केन्द्रमा कम्प्युटरमा टाइप हुन्थ्यो । मैले लेखेको थिएँ, ‘हिमायती परिवारले गरेको योगदान र सङ्घर्ष देख्दा लाग्छ, यो काँडाबीच फुलेको गुलाब हो ।’

आफ्नै अखबारले प्रयोग गरेको भाषा देखेर आफैमा बडो ठूलो रिस उठ्यो । के मानिस को स्तननेरको भागलाई नितम्ब भनिन्छ ? लाग्यो, त्यति धेरै पढे लेखेका हाकिम छन्, जानी जानी त गल्ती गर्नु नपर्ने । गल्ती त भुलवश पनि हुन्छ । सोचेँ, यो गल्ती भूलवश हुन पुग्यो होला । तर म छुच्चो हुन छाडेकोले ‘यहाँनेर यस्तो भएछ हाकिम साब’ भनेर बिन्ती बिसाउन भने गइनँ । सोचेँ, उनी आफैले हेर्लान् र सच्याउलान् र भुल सुधार गर्लान् !

यस वाक्यमा उल्लेखित गुलाब शब्दको ‘ब’ गायव भएर छापिएछ । पछि उक्त दैनिकको भाषा सम्पादक मित्र होम भट्टराईलाई काठमाडौंमा भएको भेटमा पो उनले ठट्टा गर्दै भने,‘सरी है, मैले नै हो, तपाईंले लेखेको गुलाबको ब उडाइदिएको !’

धरानबाट प्रकाशित हुने एक दैनिक अखबारको कुरा गरौँ । उक्त दैनिकको कभर पेजको बीचमा एउटा बक्स समाचार छाप्ने चलन थियो । त्यहाँ एउटा समाचार छापिएको थियो । समाचारको शीर्षक यस्तो हुनुपर्ने थियो, ‘रुखले किचेर युवतिको मृत्यू’। तर ‘किचेर’ शब्द टाइप गर्दा ‘क’को ठाउँमा ‘च’ र ‘च’को ठाउँमा ‘क’ परेछ । शुद्धाशुद्धि हेर्नेले पनि ख्याल गरेनछन् । अखबार बजारमा पुग्दा ठूलो हाँसोको विषय हुन पुगेको थियो ।

पत्रकारिताको भाषा ‘क्लिस्ट’ हुनुपर्छ रे !

भूल बस हुने गल्तीहरु क्षमा योग्य हुन्छन्, भुक्तानी गरिएको बिलको मुनिको भागमा लेखिएको जस्तै, ‘भूल चुक लिने दिने’ !

तर मैले काम गरेको अखबारका एक दुई जना विभागीय हाकिमलाई बेहोरेको छु, जो थाहा पाई पाई (वा बढि जान्ने भएर) यस्ता शब्द चयनमा क्लीस्ट वा अनर्थ पूर्ण शब्दहरुको प्रयोग गर्न पछि परेनन् ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकारसँग वार्ता गर्न सशस्त्र विद्रोही माओवादी पार्टी त्यसबेला शान्तिवार्तामा आएको थियो । म त्यसबेला आफू कार्यरत राष्ट्रिय दैनिकले डा. भट्टराईलाई आफ्नै कार्यालयमा बोलाएर अन्तरवार्ता लिएको थियो । त्यसबेला त्यो अन्तरवार्ताले राम्रै बजार लिएको । यो काम अखबारभित्रको राजनीतिक ब्यूरो सम्हाल्ने सहकर्मीहरुले सम्पन्न गरेका थिए ।

यता रिपोर्टिङ सेक्सनका तर्फबाट एङ्कर समाचार छापिएको थियो । उक्त समाचार सामाग्रीमा ‘अखबारकै कार्यालयमा पुगेर अन्तरवार्ता दिई डा. भट्टराईले नूतन परम्पराको सुरुआत गर्नु भएको छ’ भन्ने वाक्य पनि छापिएको रहेछ ।

थुतुनो उत्पात चलाउने तर कलम चलाउने जाँगर नभएका ती हाकिम पत्रकारले लेखेको उक्त समाचार सामाग्री पढ्दा शब्दकोश पनि साथैमा राख्नुपर्ने अवस्था थियो । 

मेरा हाकिमका एउटा खास विश्वासी पनि थिए, चम्चा गिरीमा असाध्यै माहिर । हुन त चम्चा गिरीबाट पत्रकारिता प्रारम्भ गरेका तिनले अहिले समाचारको खोजी र लेखनमा राम्रै प्रगति गरेका छन् भन्ने सुनेको छु । यसमा म खुसी नै छु । तर त्यसबेलाका मेरा ती हाकिम चाहिँ पत्रकारिता क्षेत्रमा छैनन् रे भन्ने पनि सुनेको छु । संयोगवश म आफू पनि अहिले संस्थागत पत्रकारिता छैन । 

एक दिन अखबारका सम्पादकले दुःख सुख साट्न सानो बैठक राखेका थिए । त्यहाँ मेरा हाकिम र उनका चम्चा गिरीले सम्पादक समक्ष सम्पादन कक्षको खोइरो खने । खासगरी सम्पादक कक्षका सहकर्मीहरु भाषा मिलाउन जान्दैन भन्ने तर्कका साथ ।

भर्खरै पत्रकारितामा प्रवेश गरेका चम्चा गिरीले भने, ‘यहाँ डेक्सको काम छैन । जस्तो कि म सन शनि भनेर लेख्छु, तर डेस्कले हटाइदिन्छ । पत्रकारिताको भाषा त क्लीस्ट पो हुनुपर्छ, तर यहाँको डेक्सले जहिल्यै सामान्य भाषा प्रयोग गर्छ । यस्तो तालले बौद्धिक वर्गमा हाम्रो पत्रिकाको चर्चा कसरी हुन्छ ?’

सम्पादक महोदयले भने ‘पत्रकारितामा सरल भाषा नै प्रयोग हुनुपर्छ’ भने । मलाई चाहिँ मेरा हाकिम र उनका चम्चा गिरीको तर्क मन परिरहेको थिएन र प्वाक्क भनि दिएँ, ‘पत्रकारितामा क्लिस्ट भाषा प्रयोग हुनुपर्छ भन्ने तर्क आज सुन्दैछु । पत्रकारितामा नूतन परम्परा, सन शनि शब्द प्रयोग गर्नुपर्ने आवश्यकता छैन, यस्तै शब्दहरु प्रयोग गर्दै जाने हो भने हाम्रो अखबार पढ्दा साथमा शब्दकोश पनि राख्नुपर्ने हुन्छ ।’

पत्रकारिता प्रशिक्षणका क्रममा मैले गुरुहरूबाट सुनेको थिएँ, ‘पत्रकारितामा जनताले बोल्ने भाषा प्रयोग हुनुपर्छ ।’ 

हाकिमले स्तनलाई नितम्ब लेख्दा

संस्थागत रुपमा पत्रकारिताबाट विदा लिदा म फिचर सेक्सनमा थिएँ । पाँच वर्ष फिचर सेक्सनमा काम गर्दा मैले केही हाकिमलाई ब्यहोरेँ ।
ती मध्ये एक हाकिम थिए, ‘असाध्यै पढे लेखेका, धेरै जान्ने’ । तिनको जिब्रो चिप्लेको हो कि मेरो कान चिप्लेको हो, उनी चार वटामा हो कि सात वटा विषयमा त डिग्री गरेको भन्थे । डिग्रीभन्दा पनि माथि पढेको चर्चा उनी आफै गर्थे । अमेरिकाबाट पनि एउटा विषयमा डिग्री गरेको बताउँथे । तर उनीसँग काम गरुञ्जेल तिनको थुतुनोबाट कहिल्यै विद्याका वाणीहरू सुन्न पाइएन । उनी जहिल्यै पनि फुटानी मात्र लगाइरहेका हुन्थे । 

म पनि आफ्नो हाकिमसँग कति छुच्चो भइरहनु ? उनीभन्दा जान्ने हुने त कुरै छैन । चुपचाप लागेर लगाए अह्राएअनुसारको  खुरुखुरु काम गर्थेँ । तिनको कुरा चाहिँ एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । उनी खासगरी चलचित्र क्षेत्रको चोचो मोचोमा भने आफूलाई विशेषज्ञ नै ठान्थे । यसमा कुनै आपत्ति भएन ।

कुरा चलचित्र क्षेत्रसँगै सम्बन्धित छ । 

एक दिन ती हाकिमको जिम्मेवारीभित्र रहेको परिशिष्टाङ्क मध्ये एउटाको आवरणको दाहिने तिरको उपल्लो भागमा आँखा पुग्यो । नायिका करिश्मा मानन्धरको फोटो छापिएको थियो । क्याप्सन देखेर छक्कै परेँ । करिश्माले आफ्नो देब्रे स्तनको ठीक मास्तिरको भागमा भर्खरै ट्याटु खोपाएकी रहिछन् । मेरो हाकिमले चाहिँ बडो सानदार क्याप्सन हालेछन्, ‘करिश्माको नितम्बमा ट्याटु ।’

आफ्नै अखबारले प्रयोग गरेको भाषा देखेर आफैमा बडो ठूलो रिस उठ्यो । के मानिस को स्तननेरको भागलाई नितम्ब भनिन्छ ? लाग्यो, त्यति धेरै पढे लेखेका हाकिम छन्, जानी जानी त गल्ती गर्नु नपर्ने । गल्ती त भुलवश पनि हुन्छ । सोचेँ, यो गल्ती भूलवश हुन पुग्यो होला । तर म छुच्चो हुन छाडेकोले ‘यहाँनेर यस्तो भएछ हाकिम साब’ भनेर बिन्ती बिसाउन भने गइनँ । सोचेँ, उनी आफैले हेर्लान् र सच्याउलान् र भुल सुधार गर्लान् !

तर मेरा हाकिमले भूलवश यो गल्ती गरेका होइन रहेछ । त्यसको दुई तीन दिनपछि उनी एक एफएमलाई बडो सानदार रुपमा चलचित्र क्षेत्रमा भए घटेका घटनाहरूका बारेमा समीक्षात्मक  टिप्पणी साथ अन्तरवार्ता दिइरहेका थिए । उनी भनिरहेका थिए, ‘यस वर्ष करिश्मा मानन्धरले आफ्नो नितम्बमा ट्याटु खोपाएको पनि चर्चाको विषय रह्यो ।’

धेरै पढे लेखेका मेरा यी हाकिम साबको यस्तो सुझ बुझपछि मैले निष्कर्ष निकाले, नजान्नु राम्रो होइन, धेरै जान्नु त झन नराम्रो रहेछ । धेरै जान्ने हुँदा त स्तनलाई नितम्बको पो देखिँदो रहेछ ! त्यस्तै लेखिँदो रहेछ !!

मैले आठ वर्ष भयो पत्रकारिता छाडेको । मेरा तत्कालिन ती हाकिम पनि अहिले पत्रकारितामा छैनन्, कता के गर्दैछन्, त्यो पनि थाहा छैन । तर बेला बेलामा पत्रकारिताको कुरा आउँछ, त्यसबेला मुसुमुसु हाँस्दै ती ‘विद्वान’ पत्रकारले स्तनलाई नितम्ब लेखेर छपाएको अनि रेडियोलाई अन्तरवार्ता लिएको चाहिँ सम्झिरहन्छु ।