सिन्धुलीको ढुंग्रेबासै पुगेर ५४ वर्षपछि डेढ दर्जन क्लासमेटद्वारा सात गुरुको अभिनन्दन

फर्कलान् र ती दिनहरु

सिन्धुलीको ढुंग्रेबासै पुगेर ५४ वर्षपछि डेढ दर्जन क्लासमेटद्वारा  सात गुरुको अभिनन्दन

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ ६, २०८०

केही समयदेखि मलाई शिक्षाका बारेमा लेख्ने हुटहुटी चलिरहेको छ । सायद जीवन र जगतका बारेमा नपरिकनै जान्नका  लागि आवश्यक भनेको शिक्षा नै हो भन्ने अनुभव अब आएर घनीभूत भएको मनमा । त्यसो त के पो गर्न सकियो र ? तर पनि त्यसमा पनि बिस्मात छैन किनभने नियतिको कुरा होला, केके न गरेँ भन्नेहरुको हबिगत देख्दा लाग्छ, हामी औसत नागरिकले जेजे गर्न सक्यौँ, गरेका रहेछौँ र समयले साथ दिए अझै केही गरौँला पनि ।

जीवनको उत्तरार्द्ध भइसकेछ र पनि लाग्छ म उही  बेलाको बालक नै हुँ । यसोभन्दा नाति नातिनीहरूको जमातका अघिल्तिर बालक वा तरुण वयको हुँ भन्दा असहज लाग्छ, सुन्दा पनि अप्ठेरो लाग्छ । त्यसैले मानिसहरुले आफूलाई आफैँमा खोज्ने काम गर्नुपर्छ भनिन्छ । अचेल म या हामी आफूलाई अतीतमा चियाएर खोज्दैछौँ र अझ कतिसम्म खोजिरहने छौँ ।

यस्तै क्रममा हामी लाग्यौँ, कमला हाई स्कुल, ढुंग्रेबास, सिन्धुलीको २०२६ सालमा माध्यमिक शिक्षाको अन्तिम परीक्षामा सम्मिलित ( एसएलसीको नियमित तर्फको परीक्षामा सम्मिलित समूह) आफ्नो विद्यालयमा छुटेको बालापनको खोजी गर्न । अर्थात् गुरुहरूसँग भेटघाट गरेर आफ्ना पुराना स्मृति ताजा गराउन । हामीले विद्यालय छोडेको पनि ५४ वर्ष भएछ । अर्थात् परीक्षामा  सम्मिलित हुन कम्तीमा पनि १५ वर्ष हुनै पर्ने तत्कालीन प्रावधानले हामी त्यो वर्ष परीक्षामा सामेल भएका साथीहरु ६८ या ६९ या ७० वर्षका हुनैपर्ने भयो ।

अनि हाम्रा गुरुहरूको उमेर त कम्तीमा पनि ८० या बढी हुनै पर्ने देखियो र पनि हामीलाई पढाउने, विभिन्न विषय पढाउने जति जना गुरुहरू जीवित हुनुहुन्छ, उहाँहरुसँग भेटेर हामी आफूलाई बाँकी जीवनको लागि शुभ आशीर्वाद माग्ने र हिजोका ती दिनहरु स्मरण गर्ने विचारले करिब  पाँचवर्षे अघिदेखि छलफल गरिरहेका थियौँ । हाम्रा साथीहरूमध्ये नवराज बराल र पुष्पराज श्रेष्ठले समन्वयको जिम्मा लिएका थिए भने सिन्धुलीभित्रको समन्वयको जिम्मा लिनेमा शम्भु गजुरेल, शालिग्राम पौडेल थिए । यसमा रेवतीमान श्रेष्ठ, जगदीशचन्द्र बरालको हुटहुटीले आखिर गुरुहरूसँग भेटेर उहाँहरुलाई सम्मान गर्न पायौँ २०८०साल वैशाख ३० गते सिन्धुली माडीको ढुंग्रेबासमा नै जहाँ हाम्रा ती स्वर्णिम समय आजभन्दा ५४ वर्षअघि बितेका थियौँ र हामी एसएलसी पास गरेर वा नगरेर जीवनको असली डुंगामा सबार भएर हाँकिएका थियौँ । 

सत्तरीको दशकमा उमेर प्रवेश गरेकाहरुलाई आफ्नो प्रारम्भिक किशोरावस्थाको उत्तर बालापनको खोजी गर्नु कति रोमाञ्चक हुन्छ होला ? कतै हराएको, कतै छुटेको र कतै भेटिएला कि भनेर खोज्न थाल्ने ? तर बालापनको साक्षी समय मात्रै होला कि ? बालापनको सबैभन्दा ठुलो मौन साक्षी चाहिँ जन्मथलो  हो,  जन्मेर बाल्यकाल बिताएको ठाउँ हो अनि सबैभन्दा बालापनको साथी र साक्षी चाहिँ आमा नै हुुनुहुन्छ ।

 आमा र बाको सान्निध्यमा हुर्केर, आफ्ना समवयी दाजुभाइ दिदीबहिनी, आफन्त र साथीहरु नै बालापनका साथीहरु र साक्षीहरू हुन् ।  कलिलो मस्तिष्क, अझ भनौँ जन्मँदै प्राप्त मानवीय गुणहरू बाहेक हाम्रो मस्तिष्क खालि खालि पाना जस्तो हुन्छ जहाँ कसैले हामीलाई संगतमार्फत् जीवन सिकाउने गर्छन् । त्यसका लागि परिवारले, समाजले, राज्यले मान्छेको रुपमा विकास गर्ने जिम्मा दिएको मान्छे भनेको गुरु हुुनुहुन्छ ।

हाम्रो बालापनको, हाम्रो भावी जीवनको खाका कोर्ने असल व्यक्ति चाहिँ गुरु हुनुहुन्छ । हाम्रो संस्कारमा भनियो -माता शत्रु पिता बैरी येनबालो नपाठितः । अर्थात् यदि पढाइँदैन भने आमा शत्रु , पिता बैरी हुनुहुनेछ । सबैकुरा अभिभावकले पनि त जानेको हुँदैन, त्यसैले गुरुको जिम्मा बालकलाई लगाएर परिवार ढुक्क हुन्छ ।  यसरी अभिभावकले जिम्मा लगाएर ढुक्क भएको कति ठिक थियो या कति हामीले गुरुहरूसँग लिन सक्यौँ भन्ने अतीतको समीक्षा गर्ने ठाउँ पनि त्यहीबेला थियो र केही गर्‍यौँ पनि ।

हाम्रो संस्कारमा गुरुलाई ब्रह्मा, विष्णु र शिव जस्तै मान्ने र सरस्वतीका वरद सन्तानका रुपमा मानेर देवताझैँ अर्चना गर्ने हाम्रो चलन नै हो । सायद हामी ३५ जनाले २०२६ सालको नियमिततर्फको एस ए सी दिएका थियौँ क्यारे किनभने अब त्यो सम्झना पनि सबै ऐनाझैँ आउन सकेन । तैपनि कति साथीहरुको बालापनको साक्षी मौन विद्यालय त रह्यो तर गुरुहरूले अब हामीलाई चिन्ने पनि कुरा भएन । हाम्रो सादर अनुरोधलाई स्वीकार गर्दै गुरुहरू लक्ष्मीप्रसाद सुमन(महतो ८४), सूर्यदेव साह(८०), शंकरनाथ शर्मा अधिकारी(७८) तथा चन्द्रप्रसाद गजुरेल(सीपी गजुरेल,८०) आफ्नो स्वास्थ्यको अवस्था जस्तो भए पनि आउन सक्नुभयो र हामीलाई आशीर्वाद दिन भ्याउनु भयो ।

गुरु राजेश्वर रजक(८६)को स्वास्थ्यका कारणले निवासमा नै गएर हामीले अभिनन्दन गरेका थियौँ । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पनि स्वास्थ्यका कारणले सिन्धुली आउन नसक्नुभएका गुरु रामचन्द्र उपाध्याय र विद्यालय सेक्रेटरी कृष्णहरि अधिकारीलाई पनि काठमाडौँ फर्केपछि हामीले निवासमा नै पुगेर अभिनन्दन गरेका हौँ । २०८० साल जेठ ५ गते गुरु रामचन्द्र उपाध्याय(८६)लाई पनि उहाँकै निवास बालकोटमा गएर अभिनन्दन गर्‍यौँ । त्यसैगरी कमला हाई स्कुलको विकट समयमा विद्यालय सेक्रेटरी भएर व्यवस्थापन गर्नु भएका कृष्णहरि अधिकारी(९३)लाई पनि हामीले उहाँको हालको  निवास स्थान लोकन्थलीमा गएर अभिनन्दन गर्‍यौँ । 

हामीलाई माया गरेर अनुशासनमा राख्ने, विकट समयमा पनि विद्यालयलाई नेतृत्व दिएर नेपालको उच्चतम विद्यालयको श्रेणीमा पुर्‍याउने  प्रधानाध्यापक गुरु जगदीश्वर महतो, असल पथप्रदर्शक शास्त्री गुरु उमानाथ शास्त्री सिन्धुलीय, गुरु ठाकुर नाथ शर्मालाई श्रद्धाञ्जलि दिएर कार्यक्रम सुरु गर्दा मन नै अमिलो भएको थियो । त्यसो त सहपाठी नयन ध्वज गिरी, बासुदेव जोशी, तीर्थराज काफ्ले, नारायण दास श्रेष्ठ जस्ता अत्यन्तै मिलनसार साथीहरु पनि दिवंगत भएकोमा हामीलाई नरमाइलो  लाग्ने नै भयो । सँगै हाँस खेल गरेका र जीवनभर भेटेर आफ्ना बालापना साटौँला भन्ने साथीहरु नै अब यो संसारमा छैनन् भन्दा साँच्चै नै नरमाइलो लाग्यो । कृष्णहरि बराल विरामी भएकाले सिन्धुलीमै भए पनि आउन नसकेकोले हामी केही साथीहरु उनलाई भेट्न निवासमा नै गएका थियौँ र शीघ्र स्वास्थ्यलाभको कामना गरेका थियौँ । 

प्रारम्भिक किशोरावस्थामा देख्नुभएको थियो उहाँहरुले, अहिले हामीले वृद्धावस्थामा पुगेको समय हो र पनि हामीले त्यो पुनर्मिलन समारोह जस्तोमा आफूलाई त्यही बेलाको महसुस गर्‍यौँ सायद त्यही अनुभूतिको लागि हामी भौँतारिएका थियौँ र त्यो सुन्दर समयको प्रतीक्षामा धेरै वर्षअघिदेखि लागिरहेका थियौँ । हामी १८जना साथीहरु सिन्धुलीमा  जम्मा भयौँ -म, डाक्टर रेवतीमान श्रेष्ठ, डाक्टर जगदीशचन्द्र बराल, नवराज बराल, हरिबहादुर तिमल्सिना क्षेत्री , ईश्वरीप्रसाद ढकाल, भुवन प्रसाद फुँयाल, हर्कबहादुर राजभण्डारी, एकनाथ लामिछाने, शोभा थापा कुँवर, शम्भुप्रसाद गजुरेल, रमण देवकोटा, मुरारि प्रसाद गजुरेल, शालिग्राम प्रसाद पौडेल, पूर्ण मान श्रेष्ठ, मातृकाप्रसाद दाहाल , नरेन्द्रजंग थापा र पुष्पराज श्रेष्ठ । आउने सम्भावना भएका साथीहरु टेकबहादुर थापा, चिरञ्जिवी दाहाल र टंक पोखरेल आउन सक्नुभएन ।

हामीले पुराना यादका लागि शंकर रिजाल, केशव रिजाल, नरेन्द्र कार्की जस्ता साथीहरुलाई सम्झिएका थियौँ । अरु हरि खड्का, प्रदीप खड्का जस्ता सिन्धुलीकै साथीहरु पनि खोइ किन हो, सम्पर्क सूत्रमा फेला परेनन् या आएनन् । महिला साथी किरण, हरिकृष्ण श्रेष्ठ पनि सम्झनामा आए तर सम्पर्क गर्न सकिएन । कतिको त नाम पनि अब याद हुन छाडेको छ । शिक्षकमा सुधा थापा जसले जीव विज्ञान पढाउनु भएको थियो, उहाँलाई पनि भेट्न पाएनौँ । सत्तरीको दशकमा टेकेर पनि हामीमा अझै पुराना सम्झना बाँड चुँड गरेर बालापनको यादलाई तरो ताजा गराउने मन अझै छ । क्रमशः