लोकसंवाद समाचारको प्रभाव:मन्त्री किराँतीका विरुद्ध अख्तियारमा उजुरी ? (उजुरीको पूर्ण पाठसहित)

लोकसंवाद समाचारको प्रभाव:मन्त्री किराँतीका विरुद्ध अख्तियारमा उजुरी ? (उजुरीको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध अनियमित रुपमा भत्ता र कमिसन खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसका साथै सोही बिवरण सहितको  उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा समेत परेको बताइएको छ ।

अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगको उजुरी दर्ता नं. c–०६३४४१/०८०–०२–०५ मा दर्ता भएको उक्त उजुरीमा प्रज्ञा–प्रतिष्ठानको रिक्त रहेको प्राज्ञ परिषद् र प्राज्ञ सभामा योग्य व्यक्ति छनोट गरी प्रधानमन्त्रीसमक्ष सिफारिस पेस गर्न भनी गठन गरिएको समितिको बैठक मन्त्री किराँतीले आफू उपत्यकाबाहिर रहेका बेला पनि बैठक बोलाएको भनी निर्णय पुस्तिका प्रमाणित गरेको, बैठक भत्ता लिएको  त्यस प्रकारको गैरकानुनी, अनैतिक कार्यका विरुद्ध उजुरी गरेको छ । यस विषयमा लोकसंवाद डटकमले 'भाइरल' मन्त्री किराँतीका अनैतिक कार्य: प्रज्ञा-प्रतिष्ठानहरूको नियुक्ति प्रक्रिया नै किर्ते !? भन्ने शिर्षकमा किर्ते कार्य गरेको  प्रमाण समाचार प्रकाशन गरेको थियोसोही प्रमाणहरु समावेश गरी उजुर गरिएकाे  छ ।

मन्त्री किराँती जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रममा सहभागी हुन २०७९ फागुन १ गतेदेखि २ गते बेलुकासम्म पूर्व गएका थिए । त्यसै बिचमा बैठक बसेको भनी प्रधानमन्त्रीलाई समेत गुमराहमा राखेर अनुचित तबरले प्रज्ञा–प्रतिष्ठानहरु मा नियुक्ति र मनोनयन गर्न सिफारिस र निर्णय गराएका थिए ।

किर्ते काम गर्ने मन्त्री विरुद्ध यस प्रकारको मुद्दा परेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा फागुन ३ गते प्राज्ञ परिषद् र प्राज्ञ सभाको गठन भएको थियो । सोही दिन मन्त्री उपत्यका बाहिर हुनु र तीनवटै प्रतिष्ठान गठन हुनु नियम विपरीत तथा मन्त्रीको दस्तखत अरू कसैले किर्ते गरेको हो कि भन्ने प्रश्न उठिरहेको छ । मन्त्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी दर्ता भएको उजुरीको  दर्ता गरी  प्रमाणित  गरेर नै दिएको छ ।

 

उजुरीको पूर्णपाठ

 

श्री प्रमुखज्यू,                                                                                                                                                                        मितिM २०८०÷२÷३
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
केन्द्रीय कार्यालय 
टङ्गाल काठमाडौँ ।

               विषय: नियम विपरीत बैठक भत्ता र कमिसन लिएको छानबिन गरी कारबाही गरिदिनुहुन ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एकपछि अर्को अनैतिक कामहरु गर्न थालेका छन् । यिनी सरकार मातहतका प्रतिस्ठानहरु डुबाउन उद्यत छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी, नेपाल संगीत तथा नाट्य प्रज्ञामा प्रतिष्ठान नक्साल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल र भाषा आयोग शंखमूल लगायत ४ ओटा प्रतिष्ठानको रिक्त प्राज्ञ परिषद् र सभाको नियुक्ति र मनोनयनका निम्ति प्रधानमन्त्रीद्वारा गठित छुट्टाछुट्टै ३ ओटा समिति गठन गरेकामा सुदन किराँती संस्कृति मन्त्रीका हैसियतले सबैको तीनवटै समितिको संयोजक रहेका थिए । यस अघिको परम्परा, स्थापित नियमअनुसार मन्त्रीले कुनै पनि बैठकको भत्ता लिने गरेका थिएनन् । मन्त्री आफैँ संयोजक रहने, मन्त्रालयमा बैठक बस्ने र २ जना विज्ञलाई बैठक भत्ता दिने विगतको प्रचलनलाई मन्त्रीले लत्याएका छन् । पैसाका निम्ति मरिहत्ते गर्ने मन्त्री किराँती बैठक भत्ताका निम्ति प्रधानमन्त्री कार्यालय वा संस्कृति मन्त्रालयले दिनुपर्ने बैठक भत्ता बापतको रकम पनि सम्बन्धित प्रज्ञा–प्रतिष्ठानबाट लिँदा आफूले खाएको थाहा नहुने र मन्त्रालयमा रेकर्ड नरहने भन्दै सम्बद्ध प्रतिष्ठानबाट बैठक भत्ता लिएर बेइज्जती कमाइरहेका छन् । एउटा प्रज्ञा–प्रतिष्ठानबाट उनले ४० हजारभन्दा बढी बैठक भत्ता लिएका छन् । यिनले प्रतिष्ठानको कुलपति भएका भूपाल राई र एउटा समितिका सदस्य रहेका राकेश किराँतीको उक्साहटमा नियम विपरीत निर्णय गर्नेदेखि लाखौँ बैठक भत्ता खाने खुवाउने काम गरेका छन् । मन्त्रालयबाट प्रतिष्ठानहरुलाई पत्र लेखी बैठक भत्ता उपलब्ध गराउन निर्देशन दिएका मन्त्रीले आफ्नो बैठक भत्ता बैँकमार्फत् उपलब्ध गराउन कडा निर्देशन दिएका थिए । त्यही अनुसार प्रतिष्ठानको कर्मचारीले उनले उपलब्ध गराएको बैँक खातामा रकम दाखिला गरेका छन् । आदर्शका भाषण छाँट्ने मन्त्री किरातीले भत्ता खान यति विघ्न मरिहत्ते किन गरे भन्ने कुरा अनौठो रहेको छ । यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासंघका का.वा. अध्यक्ष समेत रहेका भीम कुमाखीका मार्फतबाट मन्त्री किराँतीले नियुक्ति भएका तीनवटै प्रतिष्ठानका २९ जना पदाधिकारी र भाषा आयोगका अध्यक्षबाट प्रतिव्यक्ति २ लाख रुपियाँ कमिसन खाएका छन् । यसरी कमिसन मात्रै ६० लाख उनको खातामा जम्मा भएको देखिन्छ । त्यो पैसा लुकाउन उनले परिवारका सदस्यको खाता समेत प्रयोग गरेका छन् । 

अझ अनैतिक काम त मन्त्री किराँतीले आफू उपत्यका बाहिर बिराटनगर तथा झापाका कार्यक्रममा रहँदा पनि काठमाडौँमा बैठक बसेको भन्दै किर्ते सहीछाप गरेर बैठक भत्ता खाएको खुलेको छ । 

मन्त्री किरातीले हतार हतार नियुक्ति गर्न र बैठक सङ्ख्या पुर्‍याउन बिहान ५ बजे र आफू उपत्यका बाहिर रहेका बेलाको पनि बैठक देखाई अवैधानिक रूपमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको पाइएको छ । सिफारिस समिति बनेकै दिन २०७९ माघ २९ गते बेलुका र भोलिपल्ट फागुन १ गते बिहान ६:०० बजेदेखि ८ बजेसम्म भिन्न भिन्नै प्रतिष्ठानका बैठक बसेको देखाएका मन्त्री किराँती ८:५० बजेको यती एयरलाइन्सको हवाइजहाजबाट विराटनगर गएका थिए । टिकट तल राखिएको छ । विराटनगर पुगेपछि उनले विराटनगर टर्मिनल भवनको उद्घाटन र दिनभर जनयुद्ध दिवसका कार्यक्रममा मोरङका विभिन्न ठाउँमा सहभागी भई राती मिक्लाजुङ रमिते खोलाको भानुभक्त होटलमा गई बास बसेको थिए । त्यसै बेलाको गोरखापत्रको समाचारले प्रष्ट हुन्छ  ।

भोलिपल्ट पनि विभिन्न कार्यक्रममा भाग लिएर मन्त्री किराती फागुन २ गते अपराह्न ४: १५ बजे मात्र बुद्ध एयरमा भद्रपुरबाट काठमाडौँ आएका हुन् । बुद्ध एयरको टिकटबाट प्रष्ट हुन्छ ।  यता बैठक सङ्ख्या पुर्‍याउन र रोष्टर तथा कार्यविधि निर्माण गरी पारित गर्न बैठक देखाउनुपर्ने भएकाले उनी उपत्यका बाहिर रहेकै बेला २ गते बिहान ५ बजे नै नेपाल प्रज्ञा–प्रतिष्ठान र त्यसपछि बिहानै अरू दुई प्रतिष्ठानका पनि काठमाडौँमा बैठक बसेको देखाइएको छ । त्यो कुरा माइन्यूटबाट प्रस्ट हुन्छ ।  यसरी आफू उपत्यका बाहिर रहेको बेलाको पनि ‘ब्याक डेट’ मा सही गरी मन्त्री किरातीले मन्त्रालयबाट पत्र लेख्न लगाई सम्बन्धित प्रज्ञा–प्रतिष्ठाहरूबाट भत्ता लिनु अख्तियारको चरम दुरुपयोग हो । राज्यको उच्च नेतृत्वमा रहेका संस्कृति मन्त्रीजस्तो व्यक्तिले यस्तो कार्य गर्नु अख्तियारको दुरुपयोग मात्र नभई घोर अनैतिक र लज्जाजनक कुरा पनि हो । मन्त्रीको सिफारिसलाई विश्वास गरी तीनवटै प्रतिष्ठानका सिफारिसहरूलाई छलफल वा परिमार्जन नै नगरी एकैपटक सोही दिन प्रधानमन्त्रीबाट स्वीकृत भएको देखिन्छ । मन्त्रीका अनैतिक कार्यका सम्बन्धी लोकसंवादले २०८० जेठ १ गते ले प्रकाशन गरेको 'भाइरल मन्त्री किराँतीका अनैतिक कार्य: प्रज्ञा-प्रतिष्ठानहरूको नियुक्ति प्रक्रिया नै किर्ते !?  शीर्षकको समाचार विस्तृत रुपमा हेर्नुहुन समेत अनुरोध गर्दछु । यस्तो अनैतिक कार्य गर्ने मन्त्री सुदन किराँतीलाई कारबाही गरी अनैतिक रुपमा लिएको भत्ता फिर्ता गराउन र नियमविपरीत किर्ते सहीछाप गरी भएको निर्णय खारेज गर्न माग गर्दछौँ ।