रुकुम (पूर्व)मा नक्कली महले बजार कब्जा : २ सय २२ किलो प्रहरीद्वारा नष्ट !

रुकुम (पूर्व)मा नक्कली महले बजार कब्जा : २ सय २२ किलो प्रहरीद्वारा नष्ट !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०८०

रुकुम ।  रुकुम (पूर्व) को  बजारमा  नक्कली महले बजारमा कब्जा  जमाएको छ ।

यसरी बजारमा खुल्लमखुल्ला  नक्कली महको बेचविखन भइरहेको उजुरी परेपछि  इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्ती टाेलीले बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको  २ सय २२ किलो नक्कली मह नष्ट गरेको  छ ।

रुकुम(पूर्व) को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ  नष्ट गरेको हो । शनिबार भूमे–२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ  पहेलो जरकिनमा र १६  सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । 

उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि गर्‍यो, यसमा कोको संलग्न छन भनी अनुसन्धान भइरहेको छ । 

प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो । यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ ।