नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानले बेवास्ता गरिएका तथ्य

नक्कली  भुटानी शरणार्थी प्रकरण अनुसन्धानले बेवास्ता गरिएका तथ्य

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०९, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका मध्ये आधाभन्दा बढी प्रहरी नियन्त्रणभन्दा बाहिर छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न पनि सिफारिस गरेको छ । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको हो । यसरी सिफारिस गरिएकामा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित ३३ जना रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ११३ जनाले उजुरी दिएका छन् । प्रहरीले यो घटनामा संलग्नलाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेको छ । यसबाट यो अनुसन्धान पूर्ण नरहेको र सबै विषयमा गम्भीर अनुसन्धान नभएको वा अनुसन्धानमा हतार गरिएको हो भन्ने प्रश्न उठेको छ । 

नक्कली शरणार्थी प्रकरण अनुसन्धानले  अपराधमा ठगी, राज्यविरुद्धको अपराध वा राजद्रोह, संगठित अपराध र सरकारी कागजपत्र कीर्ते गरी सिधा रुपमा पनि ४ वटा अपराध भएको देखिन्छ ।  अर्को सबैभन्दा गम्भीर प्रश्न कहाँ उठेको छ भने यो मुद्दामा हालसम्म १६ जना पक्राउ परेका छन् भने १७ जना फरार रहेका छन्  ।

यो दुवै सूचीमा नरहेका केही व्यक्तिहरु यो अनुसन्धानमा तानिन सक्ने आशंका सुरुदेखि नै गरिदै आएको छ । प्रहरीले विगतमा कुनै पनि घटनामा नाम जोडिएमा तत्कालै छानबिनको दायरामा ल्याउँथ्यो । यसपटक भने बयानको क्रममा नाम  लिएका व्यक्तिहरु र संलग्नता अनुमान गरिएका केही व्यक्तिहरु खुलेआम रुपमा हिँडिरहेका छन् र प्रहरीले प्रतिबेदन बुझाइसकेको छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फरार रहेका अझै केही आरोपितको खोजी भइरहेको जानकार दिएको छ । 

विगतमा अनेकौं घटनाहरुमा नाम लिए लगत्तै समात्ने प्रहरीले यो काण्डमा किन अन्यलाई पक्राउ गर्न सकेन भन्ने गम्भीर प्रश्न उठेको छ । नक्कली शरणार्थी काण्डमा संलग्न रहेको आशंका गरिएकै व्यक्तिहरुसँग पनि सोधपुछ नारिएकाले यो अनुसन्धानमाथि प्रश्न उठ्ने ठाउँ छ । अर्को कुरा नक्कली शरणार्थी प्रकरण २०७६ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकार र त्यसबेलाका गृहमन्त्री रामबहादुर थापाको कार्यकालमा बनेको कार्यदलसँग जोडिन्छ ।

भुटानी शरणार्थी पुनर्वासका कार्यक्रम सकिइ सकेपछि त्यसबेला कुन उद्देश्यका लागि कार्यदल बनाइयो र त्यहाँबाट केके गर्न खोजियो भन्ने खुलेको छैन । त्यसैले यसको गहिरो अध्ययन हुँदा बादलको नजिकसम्म अनुसन्धान पुग्ने, त्यसपछि आएका गृहमन्त्री बालकृष्ण खाँण समेत मुछिएकाले सरकार परिवर्तनसँगै खेलाडी परिवर्तन भएको देखिन्छ । यो सबै प्रकरणमा पूर्ण छानबिन नभइकन हतारको दस्तावेजका रुपमा प्रतिवेदन गएको छ । अब पक्राउ परेकाहरु बिरुद्ध ठगी र संगठित अपराध बाहेक पनि कीर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिने अवस्था छ ।

मिसिल थप अध्ययन गरेर मात्रै सरकारी वकिलको कार्यालयले कुन कुन अभियोगमा मुद्दा चलाउने वा क–कसलाई चलाउने बारे निर्णय लिन्छ । बुधबारसम्म अदालतमा मुद्दा दर्ता भइसक्ने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार प्रहरीले सिफारिस गरेका सबै आरोपित माथि मुद्दा नचल्न पनि सक्छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन थप अध्ययन गरेर मुद्दाबारे निर्णय लिन जिल्ला सरकारी वकिलको कार्यालयले आठ जनाको टोली तयार गरेको छ । मुद्दा दायर भइसकेपछि पनि कोही व्यक्ति संलग्न भएको भेटिए उनीहरू विरुद्ध पनि मुद्दा चलाउने बाटो खुला रहनेछ ।

संगठित अपराध निवारण ऐनअनुसार त्यस्ता कसुरको आरोप लागेका व्यक्तिलाई अदालतको अनुमतिमा पटकपटक गरेर ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ । यो प्रकरणमा ‘गिरोहका सञ्चालक’ भनिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई प्रहरीले गत चैत १२ गते पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार यो मुद्दा अदालतमा दायर गरिसक्नुपर्ने हदम्याद बुधवार सकिँदै छ । यो प्रकरणमा नाम जोडिएका तर अहिले प्रमाण नभेटिएका व्यक्तिबारे प्रमाण भेटिए उनीहरूलाई मुद्दा चलाउन मिल्ने गरी अभियोगपत्र तयार पारिने नेउपानेले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका १६ जनालाई आगामी मंगलबारसम्म हिरासतमै राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ । यो घटनामा संलग्न भएको आरोपमा भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना प्रहरी हिरासतमा छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फरार रहेका अझै केही आरोपितको खोजी भइरहेको जानकार दिएको छ ।