राज्यविरुद्धको अपराध र सरकारी कागजात किर्तेमा मुद्दा नै दर्ता नहुँदै आरोपीका बयान छताछुल्ल

राज्यविरुद्धको अपराध र  सरकारी कागजात किर्तेमा मुद्दा नै दर्ता नहुँदै आरोपीका बयान छताछुल्ल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सोमबार मात्रै सरकारी वकिलको कार्यालय काठमाडौंलाई राय दिएको थियो । सरकारी वकिलको कार्यालयले मिसिलको अध्ययनपछि बुधबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरिरहेको छ । मुद्दा दर्ता प्रक्रियामै रहेका बेला आरोपीहरु का बयानहरू कसैको पूर्ण पाठ त कसैले आंशिक भन्दे छरपस्ट समाजिक सञ्जाल र अनलाइनहरूमा पाइन थालेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलदेखि तत्कालीन गृहसचिव तथा हाल अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेतलाई मुछेको पाइएको छ । यो प्रकरणमा प्रमुख निर्णयकर्ताका रुपमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका बालकृष्ण खाँण, अडियो नै सार्वजनिक भएको भनिएका खाँणकी श्रीमती मञ्जु र काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम भने बयानका क्रममा आरोपी हरुले दिएका छैनन् ।

जसका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आशंका गरिएका सत्ता पक्षीय नेताहरुलाई जोगाउन खोजिएको त हैन भन्ने आशंका उत्पन्न भएको छ । प्रहरीले हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा २७ करोड ८४ लाखभन्दा बढी विगो दाबी गर्न राय प्रहरीले दिएको छ । 

यो प्रकरणमा अधिकांशले आरोप अस्वीकार गरेका छन् । तर थप बयानका क्रममा आरोपी सानु भण्डारी र केशव दुलालले उच्च पदस्थलाई रकम बुझाएको स्वीकार गरेका छन् । सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदन अनुसार सानु र केशवले तत्कालीन गृहसचिव प्रेमकुमार राई र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई रकम बुझाएको दाबी गरेका छन् । 

भण्डारीले थप बयानमा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरजलाई १ करोड ५० लाख रुपैयाँ नगद दिएको बताएका छन् । उनले इन्द्रजीत राई हाल बसिरहेको घरका घरबेटीलाई रकम दिनु भनेपछि आफूले एक करोड दिएको उनको बयान छ । 

इन्द्रजीतले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएको र अब तपाईंहरुको काम हुन्छ, तपाईं जानु भनेर प्रेमकुमार राईले भनेपछि आफू विश्वासमा परेर फर्किएको बयान सानु भण्डारीले दिएका छन् । उनले एमाले सचिव टोपबहादुर रायमाझीलाई २८ असार, २०७६ मा सातदोबाटोस्थित घरमा एक करोड ६० लाख रुपैयाँ नगद दिएको र बाँकी ४० लाख छोरा सन्दीप रायमाझीलाई चेक दिएको बताएका छन् । उनले आफू पनि यो प्रकरणको पीडित भएको भन्दै रायमाझीले आफू र परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिएको बताएका छन् ।

सानुसँगै मिल्ने बयान केशव दुलालले दिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाइ राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझेको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगन उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाइ २०७६ साल असारमा एक करोड बुझेको उनले बयान दिएका छन् ।

यो प्रकरणमा राज्यविरुद्धको अपराध, सरकारी कागजात कीर्ते, ठगी र संगठित अपराध गरेको  पुष्टि हुँदाहुँदै पनि ठगी र संगठित अपराधमा मात्र मुद्दा चलाउने तयारी भइरहेको छ   । तर अब मुद्दा कसरी दायर हुन्छ त्यो भने हेर्न बाँकी छ । 

तत्कालीन गृहसचिव प्रेमकुमार राईले गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईमार्फत सचिवको कार्यकक्षमै बोलाएर २०७६ साउनमा ३ करोड रुपैयाँ नगद बुझेको दाबी गरेका छन् । 

तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत बालुवाटारमै एक करोड रुपैयाँ लिएको उनको बयान छ । 

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेपनि सानु र केशवले बयानमा नाम लिएका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, तत्कालिन गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादल,  डा.अजय क्रान्ति शाक्य, राजेश्वर स्थापितसहितका व्यक्तिसँग भने सोधपुछ गरेको छैन ।

धेरैले यो प्रकरणमा काँग्रेस सभापति देउवा पत्नी आरजु, खाँण पत्नी मन्जुसहितका व्यक्तिहरु संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गर्नुपर्ने बताइरहेका छन् । तर पक्राउ परेकाहरुले उनीहरुको नाम लिएको पाइएको छैन । तत्कालीन सचिव टेकनारायण पाण्डेले भने आरोपी केशव दुलाल र तत्कालीन गृहमन्त्री खाँणबीच सिधा सम्पर्क भएकाले रकम खाँणले दिएको वा सचिवालयमार्फत अरु कसैलाई दिएको हो भन्नेबारे आफूलाई चासो नभएको र संलग्न पनि नरहेको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको भन्दै सार्वजनिक भएको अडियोमा खाँण पत्नी मञ्जु र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि नाम मुछिए पनि मञ्जु र राणाले पनि रकम लिएको कुनै आरोप कसैले लगाएका छैनन् । बरु उनीहरुले देउवा पत्नी आरजुले दिएको निवेदनसँग मिल्ने गरी अडियो कसैले बनाएको दाबी गरेका छन् । यो प्रकरणमा राज्यविरुद्धको अपराध, सरकारी कागजात कीर्ते, ठगी र संगठित अपराध गरेको  पुष्टि हुँदाहुँदै पनि ठगी र संगठित अपराधमा मात्र मुद्दा चलाउने तयारी भइरहेको छ   । तर अब मुद्दा कसरी दायर हुन्छ त्यो भने हेर्न बाँकी छ ।