नक्कली शरणार्थी प्रकरण: पूर्व मन्त्रीसहित ३० जनालाई ७ देखि १० वर्ष जेल सजायको माग दावी

अभियोग पत्रको पूर्णपाठसहित

नक्कली शरणार्थी प्रकरण: पूर्व मन्त्रीसहित ३० जनालाई ७ देखि १० वर्ष जेल सजायको माग दावी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने राज्य विरुद्धको अपराध, सरकारी  लिखत  किर्ते, संगठित अपराध, ठगी सम्बन्धी कसुरमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व गृहसचिव सचिवसहित ३० जनाविरुद्ध  २०८० जेठ  १० गते बुधबार काठमाडौ जिल्ला अदालतमा  मुद्दा दर्ता गरिएको  छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दर्ता गरेकाे हो । यसरी जिल्ला सरकारी वकिलको कार्यालयले गजेन्द्र बुढाथोकी सहित करिब २ दर्जन बादी रहेको उक्त मुद्दामा  पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकबहादुर पाण्डे सहित मन्त्रीका सल्लाहाकार, पिए, पीएसओ, उनका छोराहरुलाई समेत  प्रतिवादी बनाइएको छ ।  फरकफरक काराबासको सजायको मागसहित  २८ करोड ८१ लाख रुपैयाँ बिगो माग दाबी समेत गरिएको छ ।  सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आरोपीहरु विरुद्ध अनुसन्धान अगाडी बढाउन सिफारिस गरेको छ । 

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । जुन अनुसन्धान प्रतिवेदन अध्ययन गरी मुद्दा चल्ने/नचल्ने निर्णय गर्न सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो । संगठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने भएकाले बुधबार मुद्दा दर्ता गर्ने अन्तिम दिन थियो । मुद्दा दर्ता गरिएका ३० जनामध्ये १४ जना फरार छन् भने दुई पूर्वमन्त्रीसहित अरू १६ जना पक्राउ परिसकेका छन् । 


जिल्ला सरकारी वकिलको कार्यालयले विपक्षी बनाएकामा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दिप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बनिता सावदेन लिम्बू, निरन्ज कुमार खरेल, सुनिल बुढाथोकी, प्रतिक थापा छन् । 

सरकारी वकिलको कार्यालयलाई प्रहरीले आरोपसितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सिफारिस गरेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुई पूर्वमन्त्री र एक बहालवाला सचिव र गिरोहका सदस्यहरु छन् ।

जसमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना प्रहरी हिरासतमा छन् ।

पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । फरार रहेका पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरजसहित फरारहरूको खोजी जारी छ । 

मुद्दा दायर भएपछि अब अदालतमा न्यायाधीशको इजलासमा सबै प्रतिवादीको बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । जसमा थुनामा राखेरै बाँकी कारबाही अगाडि बढाउने कि धरौटीमा रिहा गरेर गर्ने निर्णय हुनेछ । आरोपीहरूलाई माथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्ते सम्बन्धी कसुरमा हुन्छ । ती दुवै अभियोगमा सात/सात वर्ष जेल सजाय र ७०/७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

राज्य विरुद्ध अपराधमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । यसैगरी संगठित अपराधमा पनि पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । आरोपीहरुलाई लागेको अभियोग प्रमाणित भएमा १० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । 

अभियोग पत्रको पूर्णपाठसहित