महालेखाको कुरा बोल्दा लिइयो सांसदको हुर्मत: संसद् खुलाउने नाममा प्रधानमन्त्रीको आत्मसमर्पण

लोकसंवाद टिप्पणी

महालेखाको कुरा बोल्दा लिइयो सांसदको हुर्मत: संसद् खुलाउने नाममा प्रधानमन्त्रीको आत्मसमर्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०८०

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार भाग्यले हो वा कर्मले नक्कली शरणार्थी काण्डमाथि भइरहेको छानबिनलाई लिएर प्रशंसा बटुलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली शरणार्थी प्रकरणमा नझुक्न र यसमा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन चर्को दबाब र अवसर छ । नक्कली शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा दायर भएपछि विगतमा भएका भ्रष्टाचार काण्डको छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने आवाज उठिरहेको छ ।

यसै सन्दर्भमा केपी शर्मा ओलीको सरकारका पालामा भएको यति, ओम्नी, औषधि खरिद प्रकरणसहितका केही काण्ड छानबिनको माग पटक पटक उठ्दै आएको छ । यसै सन्दर्भमा १० गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले अहिलेको सरकार भ्रष्टाचारीको भएको, देश लुट्नका लागि अहिलेको गठबन्धन बनेको भन्ने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको संसदमै जवाफ दिए ।

उनी यतिमा मात्रै रोकिएनन्, पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा कति भ्रष्टाचार काण्डको छानबिन गरे त ? भन्ने प्रश्न पनि उठाए । उनले यति, ओम्नी, औषधि खरिद प्रकरणसँगै पशुपतिनाथमा सुनको जलहरी राख्ने भन्दै पित्तलको राखेको प्रसंग समेत उठाए । 

यही विषयलाई लिएर एमालेले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध पार्‍यो । उसको माग भनेको आफ्ना अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा भएको सो काण्डमा ओलीलाई नै भ्रष्टाचारमा मुछिएकोमा माफी माग्नुपर्छ भन्ने थियो । पशुपतिमा सुनको दलहरी लगाइयो वा पित्तलको भन्ने विषय आरोप प्रत्यारोपको भन्दा तथ्य छानबिनको विषय थियो । त्यसमाथि यो प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले त्यहाँ भ्रष्टाचार भयो वा भएन भन्ने तथ्य पनि अनुसन्धानकै विषय थियो । तर एमालेले हुकुमी शैलीमा संसद अवरोध गरेपछि संसद चलाउने, नीति कार्यक्रम पास गर्ने र बजेट ल्याउने नाममा संसदमा अर्को धोइ पखालीको कार्य सम्पन्न भएको छ । सोही अनुसार शनिबार संसदबाट नीति कार्यक्रम पास भएको छ । 

के भन्छ महालेखाको प्रतिवेदन ? 

पशुपतिनाथमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा चर्को बहस भयो । जसमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रश्न उठाएका थिए । तर यो विषय उनले उठाउनु भन्दा अघि नै महालेखाको प्रतिवेदनमा उल्लेख भइसकेको थियो । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ । यसको अर्थ पशुपतिको जलहरीका नाममा भ्रष्टाचार भएको हुनसक्ने सम्भावना छ । तर एमालेले ‘चोरको खुट्टा काट् भन्दा पछि सार्ने शैली’ मा संसदमा विषय उचाल्यो । यसले अब पशुपतिको जलहरीका नाममा भ्रष्टाचार भएको विषय आम नेपाली जनताले थाहा पाउने अवसर पाए । यो राम्रै भएको छ । 

अब पशुपतिको जलहरी लगाउने विषयमा भएको निर्णय, त्यसको कार्यान्वयनको प्रक्रिया र हाल जलहरीको अवस्था तथा निर्णय गर्दाताका कस्तो र कति खर्चको थियो भन्ने विषयमा विज्ञसहित छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । किनकि प्रतिपक्षीको अवरोध झेल्न त सरकारले माफी माग्यो, तर साँच्चै करोडौं मानिसको आस्थाको केन्द्र पशुपतिमा जलहरीका नाममा भ्रष्टाचार भएको रहेछ भने त्यसपछि जनताले गरेको अवरोध झेल्न चै के गर्ने ?

‘पशुपति शिव लिङ्गको गर्भ गृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नाग मूर्ति सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’ 

यसले पशुपतिमा जलहरी काण्डमा कुनै न कुनै गडबडीलाई संकेत गर्छ । तर अख्तियारमा समेत पुगेको कुरा संसदमा उठ्दा एमालेले देखाएको व्यवहारले भने यो काण्डलाई झनै रहस्य पूर्ण बनाएको छ । अझ रोचक कुरा त के छ भने शनिबार संसद चलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिको जलहरी काण्डमा विपक्षी दलका नेता केपी शर्मा ओलीलाई मुछ्नु ठीक नभएको भन्दै आफ्नै पार्टीका सांसदले उठाएको विषयको गला रेट्ने काम गरेका छन् । देश यतिबेला यति चरम आर्थिक संकटमा गुज्रिरहेको छ ।

अहिलेको देशको अवस्था यस्तो हुनुमा योभन्दा अघिल्ला सरकारहरुको कर्म पनि जोडिन्छ । पशुपतिमा यति ठूलो मात्रामा जलहरी लगाउने नाममा राज्यकोषबाट ठूलो रकम निकाल्दा समेत अहिले देशको अर्थतन्त्रलाई समस्या परेको देखिन्छ । त्यसैले राज्यको यति ठूलो विषयमा संसदमा प्रश्न उठेको, अख्तियारमा छानबिनमा रहेको र महालेखाले प्रतिवेदनमा लेख्दा समेत प्रधानमन्त्रीले यो विषय उठाउनु बेठीक भयो भन्ने स्वीकार गर्नु भनेको संसद चलाउने नाममा भएको आत्मसमर्पण हो ।

यसको अर्थ विपक्षी दलका नेतामाथि आरोप लगाउनुपर्छ भन्ने होइन । तर के यति धेरै विषय उठेपछि त्यो प्रश्न उठेका पक्षले जवाफ दिने र राज्यले छानबिन गर्नुपर्ने विषय होइन र ? यस्तो गम्भीर विषयमा सरकारलाई झुकाउने नाममा एमालेले गरेको हर्कत र संसद चलाउने नाममा प्रधानमन्त्रीले देखाएको निर्धो पन दुवै खतरनाक देखिन्छन् । के भ्रष्टाचारमा सत्तापक्ष–प्रतिपक्षको मिलेमतो हो ? यति विषय उठ्नु छानबिनका लागि पर्याप्त आधार होइन ? अब यो विषय सरकारमाथि समेत सोझिने विषय बनेको छ । 

सांसद दाहालको अभिव्यक्ति जति आपत्तिजनक बनाइएको छ । त्यस्तो थिएन । बरु विपक्षी दलका नेताले संसदको रोस्टमबाट गरेको लामो भाषणको सटिक जवाफ थियो । उनले रोष्टमबाट केपी ओलीको भनाई उदृत गर्दै भनेका थिए, ‘सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो । उहाँ (केपी ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड भए ? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीमा २ अर्बको भ्रष्टाचार । त्यतिमात्र होइन पशुपति नाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेका हजारौँ भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा गर्न नसकेको अहिलेको सरकारले गर्छ ।’

नीति तथा कार्यक्रममाथि सार्थक बहस गर्नुपर्नेमा अध्यक्ष ओलीले छलफलको ढोका पनि बन्द गरेको उनले टिप्पणी गरेका थिए । ‘सार्थक बहस हुनुपथ्र्यो । ढोका बन्द गर्नुभयो । यो नीति तथा कार्यक्रम खारेज गरेर पुनर्लेखनको लागि बोल्नुभयो । लामो बोझिलो प्रवचन सुन्दै गर्दा प्रयोगात्मक थिएन, आदेशात्मक थियो । ईश्र्या, कुण्ठा र पूर्वाग्रह थियो । प्रवचनमा अरुलाई होच्याउन माहिर हुनुहुन्थ्यो । तथ्यांकमा थिएन मिथ्यांकमा थियो । जनतालाई भ्रम पैदा गर्ने थियो । सरकारले राम्रो काम गर्न छ कि भन्ने चिन्ता थियो । गएको तीन वर्ष उहाँ सरकारमा जाँदा सात खर्ब ऋण थियो बाहिरिँदा १७ खर्ब ऋण कसरी भयो ?’ 

यसमा एमालेको आपत्तिको विषय जलहरी काण्ड मात्रै थियो । अरु काण्डमा एमाले मौन छ । जलहरी काण्ड महालेखादेखि अख्तियारसम्म प्रश्न उठेको विषय हो । त्यसैले यही विषयलाई लिएर सरकारले माफी माग्ने विषय घातक छ । यसले भ्रष्टाचारमा मिलेमतोको गम्भीर आशंका जन्माएको छ । पशुपतिजस्तो लाखौं हिन्दू तथा ओमकार परिवारको आस्थाको केन्द्रमा लगाएको जलहरीको विषयमा प्रश्न उठ्ने, प्रतिपक्षी उत्तेजित हुने र छानबिनको माग गर्दा सरकारले माफी माग्ने जुन अवस्था देखिएको छ । यसले पशुपतिको जलहरी काण्ड अनिवार्य छानबिन गर्नुपर्ने विषय बनेको छ ।

संसद खुलाउने, नीति तथा कार्यक्रम पारित गर्ने र बजेट ल्याउने नाममा प्रधानमन्त्रीले गरेको आत्म सपर्मणले सरकारमाथि पनि अब प्रश्न सोझिनेछ । अब पशुपतिको जलहरी लगाउने विषयमा भएको निर्णय, त्यसको कार्यान्वयनको प्रक्रिया र हाल जलहरीको अवस्था तथा निर्णय गर्दाताका कस्तो र कति खर्चको थियो भन्ने विषयमा विज्ञसहित छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । किनकि प्रतिपक्षीको अवरोध झेल्न त सरकारले माफी माग्यो, तर साँच्चै करोडौं मानिसको आस्थाको केन्द्र पशुपतिमा जलहरीका नाममा भ्रष्टाचार भएको रहेछ भने त्यसपछि जनताले गरेको अवरोध झेल्न चै के गर्ने ? सरकारले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने हुन्छ ।