स्मृतिका पानामा: समाजसेवा र शिक्षाका 'मोती', मोती दाइ अर्थात् मानबहादुर इङ्नाम

स्मृतिका पानामा: समाजसेवा र शिक्षाका 'मोती', मोती दाइ अर्थात् मानबहादुर इङ्नाम

भगिराज इङनाम  |  साहित्य  |  जेठ १६, २०८०

लेखान्त भावी कसले पो बुझ्छ जान्ने त देउतै हो ।
ढिलो र चाँडो मनुष्य जाने बाटो त एउटै हो । 

साविक इवा गाविस ५ हाल आठराई गापा. ४ इवा डाँडा तेह्रथुममा चारै पट्टि दुई तह पर्खालले घेरिएको चिटिक्क परेको तीनतले घर (२०४५ सालको भूकम्प पछि पुनः जीर्णोद्धार गरिएको छ) ! कमेरो, रातो माटो, कालो गाजलको स्कर्टिङ ! मनमोहक सौन्दर्य ! गाजलमा तोरीको तेल, मिसाइ झ्याल, ढोका, खम्बा, बार्दली चिल्लो, चिटिक्क पारेर घर सिँगार्ने चलन थियो/छ दशैंमा । २०४३ साल अघिसम्म सो घर नजिक मौलो डाँडामा तीनवटा लहरै मौलो थिए र दशैं ताका तीनवटा राँगा वा बोका मार हानिन्थ्यो । ती मौलो थिए, सुब्बाहरू कृष्णध्वज खलकका एक, बलि भद्र वंशजका एक, राजमानका सन्तान मध्ये गल्ली मुनी र सरदारसिं सन्तानका एक । 

दशैं सप्तमीका दिन माथिका सुब्बाहरूका रैतीहरू समेतले पञ्चे बाजाका साथ घरबाट मौलोसम्म बिग्रे र भत्केका बाटो बनाउँथे, झाडी फाँड्थे र सुब्बाहरूले तिनीहरूलाई खाजा दिन्थे । नवमीलाई मार हान्ने दिन भन्थे । सबै सुब्बाहरूले आफ्ना घरमा भएका हातहतियारहरू साँध लगाई टल्काएको खुँडा, तरबार, कट्टीका साथ विभिन्न फलफूललाई वली दिन सिङ, पुच्छर, खुट्टा  लगाइ पशुको रुप दिइन्थ्यो, तीनवटा राँगा वा बोका साथ बाजागाजाका साथ चिटिक्क परेको घरमा भेला हुन्थे । भेला पछि नाचगान गर्दै मालश्री गाउँदै रमाइलो साथ हातहतियार प्रदर्शन गर्दै रंगीचंगी पारी सिँगारिएको मौलोमा गै बोका, राँगा तथा फलफूलको भोग वली दिने चलन थियो । रमितेहरू प्रशस्तै हुन्थे । मार हानेपछि बलि दिएको राँगा वा बोकाको, सबै टाउको घरमा ल्याई ढेकीसारमा पकाउँथे । साथमा खल्पीको अचार, इस्कुस र मासु मिसाएको तरकारी, जाँड रक्सी, चिउरा गाउँले, रमितेहरूलाई खाजा दिएर नाचगान गरी रमाइलो गर्थे, खाजा पानी खर्च सबै सुब्बाहरू व्यहोर्थे । 

यिनै चिटिक्क परेको घरमा काजिमान/चित्रानी पालुङ्वाको तेस्रो सन्तानको रूपमा २००४ साल आश्विन २४ गते जन्म भयो, मोती बहादुर इङ्नामको । यद्यपि चिनाको नाम थियो मानबहादुर । 

२०४३ पछि इवा, गल्लीमुनी, सिमादुङ, बरबोटे, साधु गाउँका सुब्बाहरूको मौलो एकीकृत गरी एउटै मौलो, मार हान्ने स्थल बनाए रनदल चौतारामा । सो समयपछि भोग बली दिने प्रचलन वन्द गरियो, यो क्रम २०४५ अर्थात् ०४६ को जनआन्दोलन र २०४७ सालको संविधान जारी भएपछि दशैंमा मौलो, मार हान्न छाडे इङनामहरूले । 

वंशवृक्ष  इङ्नाम वंशावली २०४८ अनुसार पुस्ता ४२ का वाखु रायका सन्तान मुसाङ्हाङ् पुस्ता ४३ । उनका चार भाइ छोराः साङ्युकहाङ्, तङ्लिङ्हाङ्, वागदल र फाकवल पुस्ता ४४ । साङ्युकहाङ्का छोरा पृथ्वीमान पुस्ता ४५ । पृथ्वीमानका दुई श्रीमतीबाट आठ भाइ छोराहरू  कृष्णध्वज, सजमान,  सरदारसिं,  वलिभद्र, ईश्वरजीत, पृथ्वीराज, अजिरसिं र वलविर पुस्ता ४६ । कृष्णध्वजका चार भाइ छोराहरूः डिल्लीराम, नरबहादुर, हर्कबहादुर र वज्रबहादुर पुस्ता ४७ । डिल्लीरामको दुई श्रीमतीबाट पाँच भाइ छोराहरूः जेठा कुलबहादुर, माइला र साहिँला नावालकमै मृत्यु, काइला ईश्वरसिं अपुताली, कान्छा ओझाहाङ पुस्ता ४८ । ओझाहाङ्को दुई भाइ छोराहरू जेठा काजिमान र कान्छा टिकाराम पुस्ता ४९ । काजिमानका सात भाइ छोराहरू र चार बैनीछोरीहरूः क्रमशः टाउके, ज्ञानेन्द्र, मोतिबहादुर, भगिराज, कृष्णकुमार, कविन्द्र र किशोर । छोरीहरू पदममाया, शान्ता, शिवरुपा र बिना पुस्ता ५० । 

मोती दाइको बारेमा केही लेख्न बस्ता जिउ भारी हुन्छ, हात थचक्क गल्छ, कलम रोकिन्छ । सास उकुसमुकुस भएको भान हुन्छ । दाइको बारेमा केही बुझ्न दाइ दिलबहादुर इङनामसँग फोन सम्पर्क गर्दा मोतीको बारेमा केही समय नलेख्नु है भन्दै गर्दा उनको गला अवरुद्ध भयो, बोल्नै सक्नु भएन केवल सुँकसुँक आवाज मात्र आउँछ । दुबै दाइहरू एक अर्कामा घनिष्ठ सँगी, सँगै का सहपाठी सायद मन थाम्न सक्नुभएन । पुनः सम्पर्क गर्दा रुन्चे स्वरमा २०२४ साल देखिको डायरी छ .. मात्र भन्न सके फेरि सुँकसुँकको आवाज आयो अनि सोध्नै छोडेँ । कति पीडा भएछ, दिल दाइलाई ।

 मोती दाइको मूल्याङ्कन 
(१) पारिवारिक अभिभावकको रूपमा

पिता माताका हामी सात छोरा र चार बहिनी समेत ११ जना सन्तान हौं । जेठा दाजु १० वर्षको अल्प आयुमै बितेछन्, मलाई सम्झना छैन । लिम्बुवानको सुब्बाङ्गी प्रथा जेठा जेठा छोरामा क्रमशः जानुपर्ने नियम थियो । सुब्बा डिल्लीरामपछि उनका जेठा छोरा कुलबहादुर हुँदै निजका पनि जेठा छोरा धर्मध्वजले सुब्बाङ्गी सञ्चालन गर्नुपर्नेमा डिल्लीरामका कान्छा छोरा ओझाहाङका पनि छोरा काजीमानले सुब्बाङ्गी चलाएको स्पष्ट देखिन्छ । धर्मध्वजले सुब्बाङ्गी चलाउनुपर्नेमा काजीमानले किन चलाउनुपर्ने अवस्था आयो ? यसबारेमा खोजी गर्न बाँकी नै छ ।

काजीमान अर्थात् हाम्रा बुबाले सुब्बाङ्गी चलाएको हुँदा घरायसी लेखापढीमा उहाँ पोख्त थिएछन् । उहाँबाट लेखिएका  केही कागजात कलमीसँग सुरक्षित छन् । जेठा दाजुलाई बुबाको मामाघर पाँचथर शिवाखोला पढ्न पठाएका रहेछन्, उतै विमारले भेटेछ र घरमा आई बितेछन् । बुवामा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच रहेछ । मोती दाइको भनाइमा हाम्रा बुबाको मामा मोतीराज तुम्रोक वादी प्रतिवादी तथा लेखापढीमा सिपालु, तत्कालको ऐन श्रेस्तामा पनि पोख्त थिए । मोतीराजले धनकुटाबाट अभ्रक तथा संखुवासभाको वारविसेमा टुर्मालिन खानीको खोदाइ गर्न इजाजत लिएका थिए (श्री पोखरी उच्च माध्यमिक विद्यालय, स्वर्ण स्मारिका २०६७ पृ.१७६ ) । 

बुबा २०२३ साल वैशाख २३ गते ४४ वर्षको उमेरमै परलोक हुँदा सबै छोराछोरीहरू अप्ठेरोमा परे । माहिला दाजु ज्ञानेन्द्र २०, मोती दाइ १८ वर्ष पुगी एसएलसी पास गरी श्री प्रणामी मिडिल स्कुलमा शिक्षक, थिए, ठूली दिदीको १३ वर्षमै विवाह भई पराइ घर गएकी, म १३ वर्षको, मभन्दा मुनि तीन बैनी र तीन भाइ दुई दुई वर्ष फरकका भन्टयाङ् भुन्टुङ् बालकहरू । आमा र वृद्धा बोजु समेत १२ जनाको ठूलो परिवार । काका लाउरे विदेशमै थिए । 

उस बेला जीविकोपार्जनको मुख्य आधार नै खेती । सम्पूर्ण खेतीपाती माहिला दाजु र एकपाखे आमाको जिम्मा । मोती दाइ दिउसो शिक्षक, बेलुकी भान्सापछि चुहानडाँडामा बास बस्न पुग्थे र बिहान वीरेन्द्र इन्टर कलेजमा आइएको क्लास सकी घरमा भात खाई तुरुन्तै दिउसो विद्यालय ! यो रित दुई वर्षसम्म चल्यो । आजभोलि सम्झन्छु, त्यत्रो बगुन्द्र परिवारलाई कसरी पालन पोषण गरे होलान् ? बुबाले सुब्बाङ्गी चलाएको हुँदा घरमा, गाउँमा, कचहरी, बैठक भइरहन्थ्यो, झगडीयाहरू  उजुर बाजुर गर्न आइरहन्थे, कहिले कपाली तमसुक, कैले भोगबन्धकी तमसुक, कैले साहुसँग ऋण लिने दिनेको तमसुक लेख्न, लेखाइ माग्न गाउँले, साहु आउँथे, न्याय निसाफ गरे बापत पञ्च भलाद्मीले केही रकम लिँदा रहेछन्, सोबाट पनि घरखर्च चलाउन केही रकम आउँदो रहेछ ।

रातको १ बजे नमस्ते अस्पताल अगाडि एम्वुलेन्स रोकियो, दाइ बोल्न सक्ने अवस्था थिएन, सबैले एकै स्वरमा छिटो निको भएर आउन भन्दै माङ्लाई पुकार गर्दै अनुरोध गरियो, हात हल्लाउनुभयो, सबैको गाला अबरुद्ध भयो स्वाक स्वाक र सुक सुकको आवाज शुरू भयो, सबैको आँखामा आँसुको धारा बलेको विजुलीको प्रकाशमा देखिन्थ्यो  । विधिको बिडम्बना  यो भेट नै अन्तिम भयो ।

विशेष गरी चन्द्रबहादुर इङनाम (जन्तरे थेवा), काकाहरू मनीप्रसाद इङनाम, कालीप्रसाद इङनाम कचहरी बस्ने गरेका केही याद छ । यस्ता कार्य मोती दाइले नजिकबाट अवलोकन गर्न पाएकाले लेखन कार्यमा युवा अवस्थामै पोख्त भए । रैतीहरू कहाँ तिरो उठाउन जान्थे, तुरुन्तै भरपाई रसिद लेखी दिन्थे, रैतीबाट एक माना चामल दिन्थे बोक्ने काम मेरो जिम्मा थियो । 

मोती दाइ २०२४ सालमा आइ. ए. को परीक्षा दिन सँगै पढ्ने तत्काल थोक्लुङ गाउँ पञ्चायतका प्रधानपञ्चका छोरा तुलसी लामिछानेसँग विराटनगर जाने सल्लाह भएछ । दाइ र म थोक्लुङ् गयौं । तुलसी लामिछानेको घर पुग्दा उहाँ बिहानै विराटनगर लाग्नुभएछ । उहाँको ढेकीसारमा भात पकाएर खाइयो, भोलि पल्ट बिहानै दाइ विराटनगरतिर लाग्नुभयो र म एकलै घर फिर्ता भएँ, ३,४ घण्टाको बाटोमा एक्लै हिँडेको पहिलो पल्ट रहेछ, अब त म लाठे वा उमेर पुगेको महसुस गर्दै एकलै घर फिरे ।

दाइ आइ.ए. को परीक्षा दिएर केही महिना सुनौलो भविष्यको लागि केही बुझन तराइ गौरादह झापा घुमफिर गरी पहाड पुग्दा गैर उपस्थितिको बहानामा विद्यालयले शिक्षकबाट निष्कासित गरेको गुनासो बाराबार गरिरहनुहुन्थ्यो । 

२०२३ सालमा बुबा बितेको, सोही साल काका लाहुरबाट आई भिन्न भएको र हाम्रो परिवार तीनतले मूल घरबाट दुईतले कुचुक्क परेको गैरीघरमा सर्नुपरेको, लगत्तै जागिरबाट निष्काशन को पीडाले कति दुःख कष्ट सहँदै पिरोलिएका होला ? 'ईख नभएको मान्छे र बिख नभएको सर्प' काम छैन भन्ने उक्तिलाई चरितार्थ गर्दै हामी भाइबहिनीहरूलाई राम्रो पढ्न अर्ति उपदेश दिँदै खिन्न मन लिएर, सङ्घर्ष नै सफलता भन्ने कुरालाई आत्मसात् गरेर २०२४ सालको अन्त्यतिर लाग्नुभयो मधेसतिर । 'खाने मुखलाई जुँगाले छेक्दैन' भने झैँ तत्काल आदर्श गौरादह गाउँ पञ्चायतमा झापामा शिक्षा सचिब (२०२४ सालमा झापा आदर्श गौरादह पञ्चायतमा अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला नियम लागु भएको थियो र पञ्चायतभरीको पाठशालाको प्र.अ.लाई शिक्षा सचिव भनिन्थ्यो) जस्तो गरिमामय पदमा नियुक्ति भई शिक्षण गर्नुभयो ।

यस कार्यमा कीर्तिशेष हुन भएका काका पूर्णबहादुर इङनामको सहयोग भएको बारम्बार बताउनुहुन्थ्यो । खान बस्न काका द्वय खड्गप्रसाद र शेर बहदुर इङनामहरूले भरमग्दुर सहयोग गरे रे । काका पूर्णबहादुर तत्काल इवा पञ्चायत तेह्रथुमको २०२७ देखि २०४७ सम्म लगातार प्रधानपञ्च हुनुभयो । 'लठ्ठीले हानेको कुकुर टाँडमाथि' भने झैँ मोती दाइको मान मर्यादा उचो हुनुका साथै पारिश्रमिक पनि बढी भयो र कुवाबाट पोखरीमा सरेको अनुभव भयो रे । २०२६ सालमा माहिला दाजु ज्ञानेन्द्र पनि घरको पाँच तोला सुन लिएर पारिवारिक सुख शान्ति तथा उज्जवल भविष्य खोजीको लागि तराइ मधेश लाग्नुभयो । सो समय सुन तोलाको ३५०।– थियो । मोती र ज्ञानेन्द्र दाइले सरसल्लाह गरी पहिले कुल झोडा मोरङ र पछि साविक राजघाट गाउँ पञ्चायत मोरङ  सानो बाह्र घरे हाल दमक झापामा जग्गा जमिन खरिद गरी बसोबासको व्यबस्था मिलाउनुभयो, कान्छा भाइ किशोर पनि पढ्ने उमेर भयो र तराईतिर झारे बिद्यालय पढ्नलाई । हालसम्म दमक सानो बाह्र घरेमा सबै दाजु भाइको खेतीको जमिन छँदैछ । 

बुबाले तीन खला खेत साहु कहाँ बन्दकी बिक्री गरेका रहेछन् । २०२५ सालतिर दुई खला खेत उकास्नुभयो भने मोती दाइकै पहलमा एक खला खेत ऋण निश्चित बाट प्राप्त भयो । (भूमिसम्बन्धी ऐन २०२१ लाई २०२५ सालमा संशोधन गरी किपट भूमि फास्र्या राजिनामा गर्ने नीति पछि बन्धकी खाएको किपट भूमि वार्षिक १० प्रतिशतले कट्टी भई स्वतः ऋण चुक्ता हुने व्यवस्था) खान लाउन टुम टुम अवस्था रहेकोमा खेत उकासेपछि सो समस्याको अन्त्य भयो र केहि अन्न विक्री गर्न सक्ने अवस्था भयो । 

बालबच्चाको पालन पोषण, पढाइमा आमा चित्रानी पालुङ्वाको कथा कहाली लाग्दो छ । हाम्रो परिवार मूल घरमा छँदै आमाले जाँड रक्सीको घरमै व्यापार गर्नुहुन्थ्यो । कार्तिक, चैत्रतिर वर्षको दुईपटक खाम्लालुङ र तेह्रथुमबाट जोगी फेरी लगाउँदै घुम्थे, मूल घरको ढेकीसारमा बस्तथे केही दिन फेरी लगाई सबै अन्नहरू भण्डार गर्दथे र सिक्किमतिर लाग्दथे । फिर्दा पुनः हाम्रै घरमा आई बस्तथे । धान चामल मिसिएको तीनचार बोरा वा थुन्से अन्न आमाले खरिद गरी जाँड रक्सीको व्यपार गर्नुहुन्थ्यो । 

ज्ञानेन्द्र र मोती दुबै दाइहरू तराई झरेपछि खेती पातीको जिम्मा आमाले लिनु पर्‍यो । म लगायत भाइबहिनीहरू पनि हुर्कदै गर्यौ, खेतिपातीमा सहयोग गर्ने भयौं । हामी सबै भाइ बैनी विद्यालय जाने, त्यत्रो घर व्यावहार, स्कुलको फिस, कपी, किताब, लुगाफाटा कसरी जोहो गरिन होला आमाले ? सम्झिदा आश्चर्य लाग्छ । तराईबाट दाइहरूले केही रकम, केही कापीकलम पठाइदिन्थे । चार चार जना विद्यालय जाने । कहाँ पुग्थ्यो र थोरै रकमले ? आमा अनेक सीपले भरिपूर्ण थिइन् ।

दाइहरूले मदेशबाट हरेक वर्ष एक ठेली धागो पठाइदिनु हुन्थ्यो, म मौवाको बोक्रो ताछेर ल्याइ दिन्थेँ, काँचो धागोलाई बोक्रो, खरानी पानीसँग फोसीमा उसिनेमा धागोको रंग नजाने हुन्छ । यसैबाट परिवारको लागि बुट्टे, कोठे कपडा घरमै तयार पार्थे । कपासबाट खाँडीको दौरासुरुवाल आदि तयार हुन्थ्यो । घरमा अ‍ैटा, चर्खा, फिर्केनी, थोली, तान बुन्ने जुवा, सब सामान थियो । घरमै पालेको भेडाको उनबाट राडी पाखी तयार हुन्थ्यो । 

बल्याक्रोको उनबाट (भेडा पाठा पाठीको गर्भे उन ) असाध्यै राम्रो कोटको कपडा हुन्छ, बढ्दो उमेर सँगै आमाको सीप बहिनीहरूमा पनि हस्तान्तरण हुँदै गयो र आमालाई सहयोग गर्ने भए । उस बेला नुन, तेल, हलो जोत्न फाली धरानबाट ढुवानी गर्नु पथ्र्यो । घरमा ढाकर बोक्ने उमेरका नहुँदा भरियाको व्यबस्था आमाले गर्नुहुन्थ्यो । गाउँमा पेसेवार भरिया थिएनन्, गाउँका लाई हार गुहार गर्नु पथ्र्यो, विशेष सो कार्यमा बकसे माहिला, धारापरी मामा मानबहादुर श्रेष्ठ, (मित मामा) र ढाडे काकालाई अनुरोध गरिन्थ्यो ।

आधा पाटा (सात पाथी) नुन, एकटिन मट्टीतेल दुई तीनवटा फाली मात्र ल्याउन सक्थे । हामी धेरै विद्यार्थी भएकोले तीनवटा सम्म कुपी, बत्ती बाल्नु पर्दथ्यो, परिवार ठूलो, गाई गोरु, बाख्रा भेडा, भैंसी हुँदा एकपल्ट ल्याएको नून र मट्टितेलले पुग्दैनथ्यो पुनः अर्को भरिया पठाउन सामथ्र्य पनि थिएन स्थानीय बजारमा साह्रै महँगो थियो । तसर्थ आमाले नून तेल धरान लिन जानेहरूलाई कसैलाई भुटुनको लागि घ्यु, तरकारीको लागि इस्कुस (तरकारी), सिन्की, कसैलाई एक दुइ माना चामल दिनुहुन्थ्यो र एकदुई बोतल मट्टितेल, एक दुई माना नून धरानकै भाउमा ल्याइदिन्थे । ठूलो परिवार हुँदा खेती पनि धेरै गर्नु पर्दथ्यो । टुनीबोटे खेत रोपाइँको दिन ४४,४५ जना खेताला हुन्थे र खाजा पुवा बनाउँथे । खाजा तयार गरी खेताला आउने बेलामा खाजा साथ आमा खेतमा पुगी सक्नुहुन्थ्यो । गाउँमा बिहान राति नै खेताला खोजी पाँच बजे घरमा आइपुग्थे ।

मोती दाइले जति हाम्रो पढाइमा प्रेरणा दिनुहुन्थ्यो त्यतिनै आमाले पनि चासो र ख्याल गर्दथे । घडी थिएन, भालेको डाँक, तीन आँख्ले, सप्त रिखी तारा हेरेर समय पत्ता लगाउनु पर्थ्यो । स्कुलको वार्षिक परीक्षा मंसिरमा हुन्थ्यो, तीन आँख्ले तारा एक जुवामात्र छ छिटो उठ भनी आमाले उठाउनुहुन्थ्यो, समय बिहानको चार बजेको हुन्थ्यो । मोती दाइले बराबर हाम्रो पढाइ प्रति, चासो र पढ्नु पर्छ भन्ने सन्देश प्रवाह एवम् प्रेरणा दिई पत्र लेखिरहनुहुन्थ्यो ।

सबै भाइबहिनीहरूको वार्षिक परीक्षाको नतिजा मधेशमा रिपोर्ट गर्नु पर्दथ्यो । यदि दाइहरूले आफ्नो मात्र भविष्य हेरेको भए हाम्रा अविवाहित तीन चेली र बाँकी चार भाइको भविष्य के हुन्थ्यो होला ? । यसरी एकपाखे भएर पनि आमा, द्वय दाइ ज्ञानेन्द्र, मोतीले पूरा अभिभावकको भूमिका निर्वाह गरी हामी बाल टुहुरो भएको महसुस गर्न दिनु भएन । 

काका पूर्णबहादुर इङनाम इवा गाउ पञ्चायतको प्रधानपञ्च, सचिव, सेन्टअप पास गरेका काका पूर्णप्रसाद इङनाम थिए । २०३० सालबाट सचिव हुन एसएलसी योग्यता चाहिने भयो । प्रधानपञ्च काकाले मलाई अफर गरे । खुसीको सीमा रहेन, हर्षले पुलकित भएँ । तर मधेसबाट मोती दाइको पत्र आयो, जागिर खाने हैन, पढ्नु पर्छ तुरुन्त तराई आउनु । जागिर खान नपाएकोमा रिसले चूर भए, सो पदमा मेरो सहपाठी गंगा रिमाल नियुक्ति भए उनी खरीदार पद बाटै अवकाश भए । 

तेह्रथुममा २०३२/०३३ सालमा नापि भयो । माहिला दाइ ज्ञानेन्द्रले नापीको लागि पहाड जान सल्लाह दिए । मैले धरानबाट आइटेक पास गरिसकेको थिएँ । नापीमा कम्तिमा एकवर्ष पहाडमा बस्नुपर्छ, काठमाडौं पढ्न जानुपर्छ भनी मोती दाइले रोक्नुभयो । मोती दाइकै सिफारिसमा दमक हिमालय मा.वि झापामा चार महिना आईएस्सी शिक्षकमा नियुक्ति पाई शिक्षण गरें । 

हामीले पनि आफ्नो भविष्यको लागि कम्मर कसेर अथक परिश्रम गरेछौ, फलस्वरूप चार भाइ सरकारी जागिरे भइयो, पंक्तिकार नेपाल सरकारको उच्च पदमा पुगी प्रमुख जिल्ला अधिकारी जस्तो गरिमामय पदबाट अवकास भए । मोती दाइ पनि इङनाम परिवारमा प्रथम स्नातक, सरकारी जागिरमा प्रथम अधिकृत हुने सौभाग्य पाए । इङनाम परिवारमा प्रथम डाक्टर हुने पनि उहाँकै छोरा शिसम इङनाम भए ।

माहिला दाजु ज्ञानेन्द्र १८ वर्ष, भाउजु १३ वर्ष हुँदा विवाह भए पनि भाउजू दश वर्ष सम्म माइतमै बसीरहिन्, घरमा ल्यायो भागी माइत गै हाल्ने । मोती दाइले नै भाउजूलाई सम्झाई बुझाई घर ल्याए । म लगायत चार भाइहरूको केटी खोजी विवाह गर्ने र भतिज द्वय मनिष, टपनको केटी मगनी गर्ने कार्य गरी सबै परिवारको अविभावक हुन पुगे ।

दमक बजारका एक सुन व्यापारीले बैंकको भन्दा वढी व्याज दिने शर्तमा गाउँले, शहर बासीहरूबाट करोडौं रकम लिदै सावा व्याज दिँदै रहेछन् । के कारणले हो निज व्यापारीको व्यावहार खस्कँदै गएछ । व्यापारीले मोती दाइको ४० लाख, ठूली दिदी पदम मायाको ३२ लाख, माइली बहिनी शान्ताको ८ खाल, साहिँली बहिनी शिव रुपाको ३६ लाख रकम लगिसकेको रहेछ । रकम उठाउन आउनेहरूको भिड लाग्न थालेछ । निज व्यापारीबाट रकम उठ्न मुश्किल ठहर्याइ कान्छा भाइ किशोरलाई ५० लाख सापटी गरी व्यापारीको जग्गा बैंकमा धितो राखेको थैली तिरी जग्गा आफ्नो नाममा ल्याउन सफल भए । मोती दाइ नभएको भए सो रकम असुल गर्न गाह्रो पर्दथ्यो । अझ निज व्यापारीले विभिन्न व्यक्तिहरूको २०, २५ करोड तिर्न बाँकी छ अरे ! 

शिक्षा, राजनीति तथा सामाजिक कार्यः

मोती दाइले कक्षा नौ सम्म श्री–त्रि मोहन हाइस्कुल संक्रान्ति तेह्रथुममा निःशुल्क अध्ययन गरे । कक्षा दशमा निःशुल्क पढ्न नपाउँदा श्री पोखरी हाइस्कुलको स्थानान्तरण गरे । आठराई मा सम्वत २०२१/०२२ देखि नै वामपन्थी राजनीतिको चहलपहल शुरू भएको थियो । समयको बहाव सँगै उहाँ पनि वाम राजनीतिमा संलग्न भए । झापामा सम्वत २००८ सालबाटै कम्युनिष्ट गतिविधि भएको थियो । राजा महेन्द्रबाट २०१७ मा प्रजातान्त्रिक व्यवस्थाको अन्त्य पछि झापाका बाम पन्थीहरू केही गिरफतार भए, कोही निस्क्रिय र कुनै भारत पलायन भए ।

झापामा कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन प्रगतिशील साहित्यको अहम भूमिका रह्यो । विशेषगरी, झम्पल, झटारो, धारा, मुक्ति सङ्ग्राम, पञ्चामृत जस्ता पत्रिकाले वाम आन्दोलनलाई निरन्तरता दिए । मोती दाइ शिक्षक भएर पनि भूमिगत रूपमा वाम आन्दोलनमा सक्रिय भए । २०२७ सालमा मोती दाइ र उमा रिजालले गौरा दहबाट 'लालटिन'  प्रगतिशिल पत्रिका प्रकाशन/सम्पादक गरी वाम आन्दोलनलाई उर्जा थपे । दाइले लालटिन, पञ्चामृत पत्रिका पहाडमा पठाइदिन्थे र आफू पनि नजानिँदो तरिकाले वाम राजनीति प्रति आकर्षित हुन पुगें । 

झापा वाम आन्दोलनमा २०२५, ०२६ बाटै भारत पश्चिम वंगालमा चारु मजुम्दारको सशक्त आन्दोलनको प्रभाव परेको थियो । झापाको वामपन्थी जिल्ला कमिटीले शत्रु सफाय आन्दोलन शुरू गरयो । पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई पक्राउ पूर्जि जारी भयो । मोती दाइले आफ्नो जागिरलाई हतकेलामा राखी २०२८ सालमा झापा गौरादह नजिक मोरङको बालुबथानबाट भूमिगत रूपमै हाल दमक १० तत्काल मोरङको राजघाट गाउँपञ्चायतमा पर्ने सानो वारघरेमा भूमिगत आश्रयको व्यवस्था गर्नुभयो ।

पञ्चायतकालमा वामपन्थी र कांग्रेसलाई अत वा अराष्ट्रिय तत्व काे पगरी गुथाउने चलन थियो । राजघाट तत्काल प्रशासनको नजरबाट ओझेल परेको सुरक्षित स्थान थियो । त्यस्तो विषम परिस्थितिमा पनि आफुलाई सुरक्षित राखी वाम आन्दोलनलाई तन, मन, धनले यथासक्य सहयोग गर्नुभयो । नेपाल सरकारको अधिकृत छँदै आफ्नो जागिरलाई उच्च जोखिममा राख्दै २०४९ मा वाम कर्मचारी आन्दोलनमा तत्काल सरकारको आदेशको अवज्ञा गर्दै हडतालमा उत्रनुभयो र निलम्बनमा पर्नुभयो । २०५१ सालमा ऐस आरामको जागिर छाडी उपदानमा निस्किएर समाज सेवामा तल्लीन हुनुभयो ।

२०५४ सालको स्थानीय निर्वाचनमा तत्काल वडा न. १० दमक नगरपालिकाको वडा अध्यक्ष पदमा एमालेबाट निर्वाचित हुनुभयो । माओवादीको शसस्त्र आन्दोलनले गर्दा २०५९ सालमा स्थानीय निर्वाचन हुन सकेन र स्थानीय प्रशासनको जिम्मा कर्मचारी वर्गबाट संचालन भयो । तत्काल वडा १० मा धेरै सुकुम्वासी हुँदा उनीहरू पूर्व वडाध्यक्षको नाताले सरसहयोग माग्न दाइकोमै आइरहन्थे, यो क्रम २०७४ मा स्थानीय निर्वाचन नभए सम्म कायम रह्यो र दाइले स्थानीय तहसँग सहजीकरण गरिदिन्थे । यो बाहेक अनेकौं संघसंस्थामा आबद्ध भई कार्य गरे, किरात याक्थुङ चुम्लुङ, दमक नगरपालिका ज्येष्ठ नागरिक समाजका कोषाध्यक्ष, यलम्बर मूर्ति निर्माणको उपाध्यक्ष, किरात माङ्हिमका सदस्य, गोर्खाली टोल सुधार, सडक चौडा पार्ने कार्य, सडक पिच गर्ने कार्यमा सहजीकरण गर्दै सो टोलका सल्लाहकार थिए ।

यीनै योगदानलाई कदर गर्दै गोरखाली टोल विकास संस्थाको आम भेलाको अनुरोध, वडा नं. ५ को सिफारिसमा दमक नगरपालिकाको मिति २०७८/०४/ ०७ को निर्णय अनुसार मोती बहादुर इङ्नामको स्मृतिमा गेट निर्माण गर्ने स्वीकृति प्राप्त भयो । उक्त गेट मिति २०७८ साल फाल्गुन १५ गते दमक नगरपालिकाको मेयर रोमनाथ ओलीबाट शिलान्यास भई २०७९ साल ज्येष्ठ ५ गते मोती दाइको वार्षिक पुण्य तिथिमा माननीय सांसद महेन्द्र सुब्बाबाट अनावरण गरी सकिएको छ । मोती दाइ प्रगतिशील विचारधाराका अनुयायी भएकोले उस वेलाको शिक्षा पद्धतिलाई बुर्जुवा शिक्षा भनी धेरैले उच्च शिक्षा लिएनन् रे ! त्यसैले दाइले २०२४ सालमा आइ. ए. गरे तापनि २०२९/३१ मा मात्र त्रिवि कीर्तिपुर वी एड गर्नु भयो  ।

के अवसान हुन अघि केही संकेत पाइन्छ ?

रुढीवादी मूल्यमान्यता अनुसार मानव जातिको अवसान हुनु अधि केही अशुभ सङ्केत पाइन्छ । लिम्बू जातिको मिथक, मुन्धुमले पनि त्यस्तै सङ्केत गर्छ । सपना नराम्रो देख्ने, तर्साउने, केहीले छायाचाल दिने, मदौरो वा निजका परिवारबाट विना प्रसङ्गको केही कुरा फुत्त निस्कन्छ भन्ने विश्वास रहेको छ ।

गाउँघरमा कुखुराको पोथी बासेका अपसगुन हुने हुँदा तुरुन्त मारेर घरको धुरी कटाउनु पर्ने, घरको छानामा गिद्ध बसेमा स्वस्ति शान्ति गर्ने परम्परा छ । 

मोती दाइको घरमा एकदिन रातको ११ बजे कुखुराको भाले बासेछ, यो कुसमय हो । दाइको घरको भुइँतलामा कस्मेटिक पसलको होलसेल गरी बस्ने केशव सिटौलाले कुसाइत मा भाले बास्यो, यसलाई तुरुन्त बध गरी स्वस्ति शान्ति गर्नुपर्छ भन्दा दाइले वास्ता गर्नुभएनछ । संवत् २०२१/२२ सालबाटै वामपन्थी विचारधारा अँगालेको व्यक्ति, उस समयका बाम पन्थीहरूले त्यस्ता कुराहरूलाई रुढीवादी, अन्धविश्वास, पुरातन चिन्तन भनी विश्वास गर्दैनथे ।

वास्तवमा कम्युनिस्ट  सिद्धान्त माओत्सेतुङ, मार्क्स, एङ्गेल्स विचारधारा, अध्यात्मवाद भन्दा भौतिक द्वन्द्व वादलाई स्वीकार गर्ने दर्शन हो । तर आज तिनै सिद्धान्तलाई शिरोधार्य गरी सत्तामा पुग्ने उच्च राजनीतिज्ञहरू भैंसीको पूजा, पशुपतिको मन्दिरमा सुनको गजुर र पर्सा माडीमा राममन्दिर निर्माण गर्न राज्यको ढुकुटीबाट करोडौं खर्च गरिरहेका छन्, यस्तो विडम्बना छ । म पनि यस्तो रुढी बाढी कुरालाई विश्वास गर्दिन, कारण यस्तो छ ।

२०७८ साल ज्येष्ठ ०५ गते आर्मीहरू आइ सबलाई चितामा राखिदिए र सलामी दिए, दमक ५ को वडाध्यक्ष इन्द्र गुरुङले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाइ दिए, जेठी छोरी पूजाले सहश्र आँशुका साथ दागबत्ती दिइन, झापा कन्काई वा माइ खोलामा जहाँ २०५७ साल आश्विन १३ गते आमालाई र २०७७ साल पौष २२ गते माइली भाउजूलाई अन्तिम दाहा संस्कार गरिएको थियो । विगविगी कोरोना कहरले झापा मोरङका बन्धुवर्गहरूलाई सूचना दिए पनि मलामी आउन सक्ने स्थिति थिएन तर गाउँलेहरू स्नेह दर्शाउँदै कोरोना कहरमा पनि करिव एक डेढसय दाहा संस्कारमा मलामी सहभागी भए ।

गाउँघरमा आमाले हरेक वर्षको कार्तिक र चैत्र महिनामा सबै परिवारजनको टिप वा चिनो हेराउनुहुन्थ्यो, पूर्वछाने अन्तरे मगर र काशीनाथ घिमिरे गाउँका नामी ज्योतिष थिए । आमासँगै चिना हेराउन जान्थेँ । मलाई यो केटो यस पाल फेल हुने देखिन्छ भनी भविष्यवाणी गर्थे मेरै सामुन्ने । म कक्षामा पहिलो दोस्रो हुने विद्यार्थी, किमार्थ फेल हुन्न भन्ने दृढ विश्वास हुन्थ्यो र परीक्षा परिणाम पनि त्यस्तै आउँथ्यो । सो समयबाट रुढी बाढी कुरा हुन भनी अध्यात्मवाद विश्वास भएन, गरिनँ । 

बन्धुहरूको संस्था 'इङनाम–इवाहाङ् विकास समिति' को केन्द्रीय अध्यक्ष डम्बरबहादुर इङनाम २०७७ आश्विन ८ गते अकाल र महासचिव नारायण कुमार इङनाम २०७७ मंसिर ४ गते क्यान्सर रोगबाट निधन भयो । मोती दाइ का.वा. अध्यक्ष हुनुहुन्थ्यो । एकदिन अचानक भाउजु शिला लावतीले इङनामहरूलाई अध्यक्ष फापेन, अध्यक्ष नहुन भनी दाइलाई भन्नुभयो, मेरै कर बलले अध्यक्ष हुनुभयो, नभन्दै फापेन कि क्या हो ? दाजुको कोरोना महामारीका कारण निधन भयो । २०७७ साल चैत्र मसान्ततिर घरायसी सरसल्लाह, जग्गाजमिन, घर घडेरीको कुरा गर्दै गर्दा, अचानक आफूले जोडेको सम्पति उपयोग गर्न पाइन्न कि क्या हो भनी हरेश खाए जस्तो कुरा गर्नुभयो ।

मोती दाइसँग विताएका अन्तिम क्षणहरू
'इङ्नाम–इवाहाङ् विकास समिति' को छैटौं महाधिवेशन आठराई इवामा २०७८ वैशाख १६, १७, १८ गर्ने निर्णय भएको र तयारी समितिको बैठक २०७७ साल चैत्र २८ गते दमक झापामा बस्ने निधो भएको थियो । सो बैठकमा भाग लिन उत्साहको साथ २०७७ चैत्र २७ गते म काठमाडौंबाट दमक पुगें । आठराई इवा तेह्रथुम, धनकुटा बुढी मोरङ, झापाबाट केन्द्रीय पदाधिकारीहरू आएको थिए । कारणबस तोकिएको मितिमा महाधिवेशन नहुने भई स्थगित भयो । सोही बैठकलाई विशेष अधिवेशनको रूप दिई मोती दाइ पूर्णकालीन अध्यक्ष भए । 

२०७८ साल वैशाख ०१ गते दाइ ज्ञानेन्द्र, मोती दाइ भाउजु शिला लावती, दिदी पदम माया, साइँली बहिनी शिव रुपा र म समेत मिली नववर्ष मनाउन गाडि रिजर्भ गर्‍यौं । कोरोनाको डरले मानिसको भिड छल्दै राजमार्ग उत्तर इलाम चुलाचुली स्थित हात्तीलेदा माङ्हिम, झापा बेलडाँगी महागुरुको शालिक र माङ्हिम, मोरङ मधुमल्ला टिकटिके सडकको उद्घाटन समारोह अवलोकन गरियो । खाना भतिजी बुहारी सविना लिङ्देनले मधु मल्लमा व्यवस्था गरिन र महोत्सवमा उनी पनि सरिक भइन ।

यात्रा अघि बढदै मोरङ जिल्ला टाँडीमा पर्ने महागुरुको शालिक र माङ्हिमको अवलोकन पछि मोरङ जाँते, केराबारीको दृश्यावलोकन गर्दैै पूर्वपश्चिम राजमार्ग निस्किएर काने पोखरीमा पेट्रोल खानीको अवलोकन पछि दमक दाइको घरमा आइयो । वैशाख ०८ गते भतिज सुजनको दमक झापामा विवाहमा सरिक भइयो, ऐ. ०९ मा भतिज सुजनकै विवाहमा जन्ती गइयो करिब हजार बाह्र सय पाहुनाहरू थिए । ऐ. १० गते दमक नगरपालिका किराँत याकथुङ चुम्लुङ्को दशौं महाधिवेशन रहेछ, दाइको माध्यमबाट मलाई पनि अतिथि ग्रहण हुने सौभाग्य मिलेको थियो, दाइलाई निर्वाचन मण्डलको सचिव तोकिएको रहेछ करिव दुई तीन सयको जमघट थियो । सोही दिन बेलुकी भान्जा देउ मान साम्राकी छोरी अर्थात् नातिनी लसाम्राको विवाहको लागि अन्माई पठाउनु पर्ने हुँदा १५,२० जना लकन्दी, माइती र केटी लिन आउने समेत ३५, ४० जनासँग टिका टालो, खानपिन, गर्दा धेरै मानिसहरूसँग सम्पर्क भयो ।

दाइको छिमेकीको मृत्यु भएकोले वैशाख ११ गते गौरादह पश्चिम बालुबथान छेउमा मलामी गइयो धरानबाट एक बस, दमकबाट चार बस, निजी गाडी, मोटरसाइकल, र स्थानीय बासी गरी करिव चार पाँचसय मलामीसँग सम्पर्क भयो । ऐ. १२ गते नातिनी कहाँ सम्धीभेट गर्न उर्लाबारी गइयो । त्यहाँ पनि ५०,६० जनासँग संसर्ग भयो । ऐ. १३ गते ज्योती नातिनीको शुभ चारण कलममा करिव आठ नौ सय निम्तारु आएको हुँदा स्वागत रेखदेख गर्दा पनि धेरै मानिसहरूसँग भेटघाट, संसर्ग भयो राती अबेर सम्म ।

आठराई गापा ४ इवामा इङ्नामका पुर्खा श्रीजङ् रायको ९ फिट ४ इन्चको ढुङ्गाको शीला स्तम्भ तयार गरी अनावरण २०७८ वैशाख १६ गते गर्ने तय गरी स्तम्भमा पूर्व रा.पं.स. शेरबहादुर र समाजका अध्यक्ष मोती बहादुर इङ्नामको नाम लेखिएको थियो । छैटौं महाधिवेशन सरे पनि शेरबहादुर दाइ, मोती दाइ, जग्गा दाता दिलबहादुर इङनाम जाने निधो भएको थियो ।

तर कोभिड कहरले गर्दा अरू नगए पनि मोती दाइ र म पहाड गयौं, वैशाख १४ गते । पहाड घर पुगेकै दिनदेखि मोती दाइलाई ज्वरो आयो, इवा जन स्वास्थ चौकीका प्रमुख चीन इङनामले यो महामारीमा तुरुन्त अस्पताल जान सल्लाह दिइन तर १५ गते बिहान सन्चो भयो घरको आँगनतिर घुम्नुभयो, पुनः बेलुकी ज्वरो खोकी शुरू भयो । १६ गते बिहानै झापा जाउँ भन्दा सोही दिनको कार्यक्रम समाप्त गरेर १७ गते फिर्ने सल्लाह भयो । ज्वरो केही खोकी आउँदा आउँदै श्रीजङ् राय स्तम्भ औपचारिकरूपमा मोती दाइले अनावरण गर्नुभयो, वडाध्यक्ष श्याम भट्टराईबाट स्तम्भमा माल्यार्पण कार्य सुसम्पन्न भयो । लगत्तै इवा स्वास्थ चौकीमा निर्मित हाम्रा पिता माताको शालिक तथा हातामा निर्मित शिला शाक्मेश्वर महादेवको सम्वर्द्धन, संरक्षण हेतु राखिएको 'चित्राकाजी अक्षय कोष' को लागि  ७लाख ७७ हजार १ सय ११ रुपैयाँको  हस्तान्तरण गर्ने काम भयो  । सो साझ पनि मोती दाइलाई खोकी र ज्वरो आइरह्यो । १७ गते गाडी रिजर्भ गरी अपरान्ह ४ वजे दमक घर आइ पुगियो । १८ बिहान कोभिड जाँच गरियो, साँझ नतिजा पोजेटिभ आयो । १९ गते बेलडाँगी झापा कोभिड अस्पताल भर्ना गरी सो रात मैले कुरुवा गरें ।

कल्याणी लावती (मोती दाइको शाली) सँग सल्लाह गरी थप उपचारर्थ काठमाडौं मेडिसिटी, ग्राण्डी, र नर्भिक अस्पताल सबैतिर वेड बुझियो, सो समय देशभर कोभिडले कहर थियो कतै बेड पाउन सकिएन, उपत्यकाको सबै अस्पताल खाली नभएर उपत्यका, पश्चिमतिर का कोभिड विरामी हेलिकप्टरबाट विर्ता सिटी, विर्ता हस्पिटल झापामा ल्याउँथे । बल्लतल्ल विर्ता सिटी हस्पिटलमा बेड पाइयो २० गते भर्ना गरियो भान्जा र भाउजु विर्ता अस्पताल बसे । सो दिन रातको १२ बजे दाइको जेठी छोरी पूजा हङकङबाट आइ पुगिन । भान्जा र जेठी छोरीले विरामीको पुरै रेखदेख गरे । झापा पुरै लकडाउन थियो । कठिनाइका साथ हस्पिटल आउजाउ गरियो ।

वैशाख २३, २४ गते विरामीलाई केही बिसेक भयो खाना मजाले खानु थाल्नु, २५, २६ गते डिस्चार्ज गर्ने भनी डाक्टरसँग सल्लाह हुँदै गर्दा अक्सिजन लेबल घटन गई पुनः विमारले च्याप्दै लग्यो । ज्येष्ठ ०४ गते कोरोना कहर र लकडाउनको बाबजुद दमकबाट केशव सिटौला, दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, गोरखाली टोलका अध्यक्ष कृष्ण दाहाल, युवराज तिवारी, भव कृष्ण खतिवडा, माहिला दाजु ज्ञानेन्द्र, भतिज भीष्म विमारी हेर्न गए र सान्त्वना दिए, पालैपालो क्याबिनमा मैले लगें, पुरै अक्सिजन लगाएको हुँदा बोल्ने अवस्था थिएन, केवल हातको इसेराले ओके भन्नुभयो, सबैको आँखा रसाए !

डाक्टरहरूको अथक प्रयासको बाबजुद विमारले च्याप्दै लग्यो, भेन्टिलेटर को लागि विराटनगर नोबेल अस्पताल लग्ने पर्ने अवस्था आयो । एम्बुलेन्समा विमारीका साथ छोरी पूजा, भान्जा सोनु आउँदै थिए भने दमकबाट भतिज टपन, थिरे भान्जा जान ठिक पारियो । दाइको घर अर्थात् गोरखाली टोल राजमार्गमा विमारी हेर्न म लगायत ठूली दिदी पदम माया, साइली बैनी शि बरुपा, देउ मान भान्जा र बुहारी, अन्तरे भाइ र बुहारी, टपन एवन भतिजी बुहारी, सुजन भतिज र बुहारी, थिरेनी भान्जी बुहारी र माइली भान्जी एम्बुलेन्स कुरेर बसियो, रातको १ बजे नमस्ते अस्पताल अगाडि एम्वुलेन्स रोकियो, दाइ बोल्न सक्ने अवस्था थिएन, सबैले एकै स्वरमा छिटो निको भएर आउन भन्दै माङ्लाई पुकार गर्दै अनुरोध गरियो, हात हल्लाउनुभयो, सबैको गाला अबरुद्ध भयो स्वाक स्वाक र सुक सुकको आवाज शुरू भयो, सबैको आँखामा आँसुको धारा बलेको विजुलीको प्रकाशमा देखिन्थ्यो  । विधिको बिडम्बना  यो भेट नै अन्तिम भयो ।

दमकबाट विराटनगरको लागि विदा त गरियो तर कहाँ निन्द्रा लाग्छ र ? बिहानको २ बजे ४८ मिनेट जादा विराटनगर अस्पताल भेन्टिलेटर वार्डमा पसाएको भतिज टपनबाट थाहा भयो । विमारी निको हुन्छ भन्ने आसलाई तुषारापात  गर्दै ज्येष्ठ ५ गते बिहान साढे छ बजे खवर आयो दाइले सन्सारबाट विदा लिनुभयो । खवर सुन्नासाथ सास फेर्न गाह्रो भएको आभास भयो उकुसमुकुस भयो, सारा जीवनको गोरेटोमा बादलले छेके जस्तो भयो । अमेरिका हुने छोराबुहारी, छोरी ज्वाइँ युकेमा हुने बहिनी ज्वाइँ, भान्जा भान्जी, हङकङमा हुने भाइबुहारी, भतिज भतिजी बुहारी, भान्जा भान्जीहरूका पहाड मधेश सवै बन्धु बान्धव, इष्टमित्र, साथीभाइ छरछिमेक सारा ठाउँमा हावा सरी सनसनी चारैतिर खवर पुग्यो । सबै शोकमा चुर्लुम्म डुबे । 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरे, आर्मीले शब दाहसंस्कार गरिदिने आश्वसन पाइयो । दमक नगरप्रमुख र दमक ५ का वडाध्यक्षलाई सम्पर्क गरें, उनीहरूले पनि दाहा संस्कारका चाँजोपाँजो मिलाई दिए । २०७८ साल ज्येष्ठ ०५ गते आर्मीहरू आइ सबलाई चितामा राखिदिए र सलामी दिए, दमक ५ को वडाध्यक्ष इन्द्र गुरुङले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाइ दिए, जेठी छोरी पूजाले सहश्र आँशुका साथ दागबत्ती दिइन, झापा कन्काई वा माइ खोलामा जहाँ २०५७ साल आश्विन १३ गते आमालाई र २०७७ साल पौष २२ गते माइली भाउजूलाई अन्तिम दाहा संस्कार गरिएको थियो । विगविगी कोरोना कहरले झापा मोरङका बन्धुवर्गहरूलाई सूचना दिए पनि मलामी आउन सक्ने स्थिति थिएन तर गाउँलेहरू स्नेह दर्शाउँदै कोरोना कहरमा पनि करिव एक डेढसय दाहा संस्कारमा मलामी सहभागी भए । यसरी, दुई छोरी ज्वाइँ, एक छोराबुहारी, दुई नाती, एक नातिनीलाई छोडेर मेरा दाजु यस लोकबाट सदाको लागि विदा हुनुभयो । २०७८ साल फागुन ३ गते माइली बहिनी शान्ता इङनामले पनि संसार छोडिन् । यसरी २ वर्षको बीचमा हाम्रो परिवारले ३ जना सदस्य गुमाउन पुग्यौ र सारा परिवार शोक मग्न भयौं । मोती दाइको अवसानबाट हामी पूरा परिवारले अभिभावक, समाजले निष्ठावान समाजसेवी र सिङ्गो नेपाल कम्युनिस्ट पार्टीले एक असल योद्धा, तथा कार्यकर्ता गुमाउनु पर्यो ।

नोट: मोतीको बाल सखा बन्धु दिलबहादुर इङ्नामको आग्रहमा यस लेखमा स्वर्गीय शब्द प्रयोग गरिएको छैन ।

फोन ९८५११९९९४०