रोक्न सक्छौँ भने रोक

रोक्न सक्छौँ भने रोक

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २०, २०८०

तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्'
मैले पनि त्यसै भने 
जब–जब मेरो चेत फर्कियो ।
यसबेला म उनको पक्षधर भएको छु । 
हो ! म अति राष्ट्रवादको 
कवच स्नेह साथ स्वीकार्छु । 
लिम्पियाधुरा, लिपुलेक, कालापानी 
हाम्रा पुर्वजहरुको वैभवता 
अति राष्ट्रवादसँग 
म एकाकार हुन चाहन्छु । 
लाखौँको तादातमा भित्रिएका भारतीयहरु 
धमाधम कारखानामा उत्पादित भए झैँ
नेपालीमा रुपान्तरित भइरहेका छन् । 
यो भेललाई किन रोकिदैन ? 
मेरो अति राष्ट्रवाद
तिम्रा घृणाका शब्दहरुको पहिरन पहिरिएर, 
मैले आफूलाई गौरवशाली सम्झिएको छु । 
“अति राष्ट्रवाद” तिम्रो घृणाको बर्को ओढेर 
मेरो देशको पुर्न उत्थान 
जीवन्तको लागि स्वीकार्छु । 
हो ! म मेरो देशप्रति घमण्ड गर्छु । 

मलाई अति राष्ट्रवाद
विभूषण भिराएर 
देशप्रति घात गरिरहेका छौ । 
लिम्पियाधुरा, लिपुलेक, कालापानीमा
युद्धस्तरमा सडक निर्माण गरिरहेका छौ । 
भारतीय अतायायी शासकका विरुद्ध किन बोल्दैनौ ? 
तिमीलाई देश किन दुख्दैन ? 
छिमेकीले युद्धस्तरमा सडक निर्माण गरिरहेको छ । 
मलाई अति राष्ट्रवाद भाङ्ग्रो ओढाएर 
तिमीले चयनको सास लिइ रहेका छौ । 
मालिकको स्यावासी पाइरहेका छौ । 
तिम्रो स्वार्थ माथि ऐश्वर्य थपिएको छ । 
मेरो विरुद्ध आफूलाई उभ्याएर 
देश लुटेराको पक्षमा आफूलाई उभ्याएका छौ । 

राजा महेन्द्र !
मैले तिमीलाई तानाशाहीको प्रारुपमा 
तिम्रा विरुद्ध
धेरै शब्दहरु खर्च गरेको छु । 
तिमीले सय कडौँ कारखाना स्थापित गरेर 
देशलाई आत्म निर्भर बनाउँदै थियौँ । 
मेची महाकाली 
आफ्नै मुलुक भएर जान सकोस् 
महान उद्देश्य, महान अभियानमा
पूर्व पश्चिम राजमार्ग बनाउनुको अर्थ 
देशलाई जोड्दै थियौ । 

संयुक्त राष्ट्रसंघमा सदस्य दिलाउनु हुन्न 
आफ्नै घरभेटीसँग जुझ्दै थियौ । 
नेपाल प्राचीन देशको चिनारी गर्वका साथ 
विश्वलाई दिँदै थियौँ । 
तिम्रो अति राष्ट्रवादको अनुसरण गर्न म निस्केको छु । 
रोक्न सक्छौ भने रोक !
मेरो अति राष्ट्रवादको समर्पणलाई । 

हजारौँ देशभक्त नेपालीलाई 
छिमेकी भारतको उक्साहटमा 
छिमेकी कै मलजल पोषणमा 
निमुखा निम्छरा नेपालीलाई 
जनयुद्धको छिमेकी आवरणमा
दिल्ली दरबारको निर्देशनमा
देशका सिमाना ढाल्दै थियौँ । 
देशलाई आहालमा डुबाएर 
छिमेकीलाई देश विरुद्ध देशद्रोहीको 
फेर समातेर ताते गरिरहेका थियौ । 

मेरो प्राचीन देशको वैभवता 
मेरो राष्ट्रिय स्तम्भ 
पृथ्वीनारायण शाह
देश निर्माण शिरोमणि अतुलनीय योद्धामाथि 
हिलो छ्याप्ने 
दुःसाहस पटक–पटक गरेका छौ । 
यसैले म तिमीलाई मनैदेखि घृणा गर्छु । 
पटक–पटक
मेरो देशमाथि चिथोरेका चिथोरिएका छौ । 
तिमीले मलाई 'अति राष्ट्रवाद' भन्ने गर्छौ
हो त्यो अति राष्ट्रवाद 
तिम्रो आरोप स्वीकार्छु 
त्यो आरोप भित्र 
'जननी जन्म भूमिश्चय स्वर्गादपी गरियसी'
हो !म अति राष्ट्रवाद पक्षधर हुँ । 

मलाई अति राष्ट्रवादको भाङ्ग्रो ओढाएर, 
तिम्राे मन न्यानो भएको छ ।
स्यावासीको साथ–साथै 
देश लुटेराले तिमीलाई धाप मार्नेछन् ।
तिम्रो ख्यामितको आशीर्वादमा 
देश विरुद्धको ताण्डव नृत्यमा 
तिमीलाई सामेल गर्नेछन् । 
तिमीलाई दाशोचित पुरस्कारले अभिषेक गर्नेछ । 
तिमीलाई हाइ–हाइका स्वरहरु 
चारैतिर जयगान गरिने छ । 
तिमीलाई बाबुराम, प्रचण्डका 
तिमीलाई शेरबहादुर एवं ओली आदिका 
तथास्तुका ऋचाहरु प्रवाह गरिने छ । 
जसले–जसले तिमीलाई 
जे–जे वनाए पनि 
तिमीलाई महसुस हुनेछ  
तिम्रो काम सकिए पछि 
नेपालीमा उखान छ 
काम सकुञ्जेल भाँडो हुनेछौ । 
काम सकिएपछि ठाडो हुनेछौ । 
तिमी लेण्डुप दोर्जेमा परिणत हुनेछौ । 
तिमीले मलाई भन्ने गरेको अति राष्ट्रवाद
तिमीले मलाई गरेका घृणाहरू 
ती आत्मग्लानिमा परिणत हुनेछन् । 
ती शूल भएर तिमी तिर फर्किनेछन् । 
तिमीले गरेको घृणाका अति राष्ट्रवाद शब्दहरु 
तिमीले आफूलाई आत्मग्लानिमा डुबाउने छौ । 

म गौरव महसुस गर्ने छु । 
जब–जब मेरो देश 
सिक्किम हुनबाट  जोगिने छ । 
देश जब आत्म स्वाभिमानको लागि उठ्ने छ । 
भारतीय थिचो मिचोको विरुद्ध उठ्ने छ । 
मेरो देश स्वतन्त्र हुँदै उठ्ने छ । 
मेरो अति राष्ट्रवाद
प्रत्येक नेपालीमा समाहित हुनेछ । 
देशप्रति षडयन्त्र गर्नेका विरुद्ध 
आफूले आफैलाई शुद्धिकरण गर्दै 
अति राष्ट्रवादको झण्डा उठाउँदै 
भारतीय विस्तारवादको विरोधमा 
आउ देशैभरि आवाज घन्काउ । 


तरहरा, इटहरी