सभामुखद्वारा तजविजी अधिकारको दुरुपयोग: जवाफपछि प्रतिपक्षी नेतालाई समय !?

लोकसंवाद टिप्पणी

सभामुखद्वारा तजविजी अधिकारको दुरुपयोग: जवाफपछि प्रतिपक्षी नेतालाई समय !?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०८०

जनताका प्रतिनिधिको थलो संसदमा निष्पक्ष भूमिका खेल्नुपर्ने सभामुखको भूमिकाले यो संस्थाको गरिमामाथि प्रश्न उठेको छ । प्रतिनिधिसभालाई व्यवस्थित रुपमा चलाउनुपर्ने जिम्मेवारी पाएका सभामुखकै भूमिका कारण संसदीय अभ्यास विकृतिको दिशातिर गएको छ भने संसदको मर्यादा, भूमिका र गरिमामाथि समेत प्रश्न उब्जिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकका क्रममा देखिएका केही दृश्यले सभामुखको भूमिका कमजोर मात्रै होइन दलीय निर्देशनबाट निर्देशित छ भन्ने प्रष्ट देखिन्थ्यो । 

सोमबार प्रतिनिधिसभाको बैठकअघि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नगर्ने र प्रधानमन्त्रीले भारत भ्रमणका विषयमा जानकारी दिने सहमति भयो । संसद सुरु भएलगत्तै एमाले सांसद योगेश भट्टराई बोले । उनले प्रधानमन्त्रीको भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणलगायतका विषयमा गम्भीर आपत्ति जनाए । त्यसपछि सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराउने समय दिए । प्रधानमन्त्रीले जानकारी गराएपछि विगतमा प्रधानमन्त्रीसँग लामो प्रश्नोत्तर भएको इतिहास कमै पाइन्छ ।

तर सोमबार प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराएपछि सभामुखले प्रश्नका लागि ‘फ्लोर खुला गरे । त्यसक्रममा एमाले, रास्वपा, राप्रपासतिहका विपक्षी दलका अधिकांश सांसदहरुले प्रश्न सोधे । प्रश्नमा छिमेकी देश र उसँगका कूटनीतिक विषयमा मात्रै सीमित रहेनन् । बरु प्रधानमन्त्रीलाई ‘भैंसी चढेर आएको’ भन्नेदेखि अनेकौं आक्षेपहरु लागे । पट्यारलाग्दो प्रश्नको शृङ्खलापछि प्रधानमन्त्रीले फेरि जवाफ दिने समय पाए । प्रधानमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसद सूर्य थापाले बिचैमा प्रधानमन्त्रीसँग प्रतिप्रश्न गरे । प्रधानमन्त्रीले आफ्ना विषय राखेपछि चित्त नबुझेका विषयमा कुरा राख्न पाइने व्यवस्था र अवस्था हुँदाहुँदै सभामुखले प्रधानमन्त्रीलाई रोस्ट्रममै उभ्याएर थापालाई समय दिए । 

प्रधानमन्त्रीलाई रोकेर थापालाई समय दिएपछि सत्ता पक्षका माओवादी सांसदहरु पनि आफ्नो ठाउँबाट उठेर विरोध जनाए । सभामुखले देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले जवाफ दिइरहेका बेला उठ्ने सांसदलाई समय नदिएर अन्य सदस्यलाई पनि आफ्नो आसनमा बस्न निर्देशन दिनुपर्ने थियो । तर बलमिच्याइँपूर्वक सभामुख अघि बढेपछि सत्ता पक्षका माओवादी सांसदहरुले पनि त्यसको विरोध गरे । त्यसपछि बैठक केहीबेर प्रभावित भयो । प्रधानमन्त्री रोस्ट्रममा उभिइरहे । सभामुखले प्रधानमन्त्रीलाई आफ्ना अभिव्यक्ति अघि बढाउन समय दिनुपर्नेमा फेरि रघुजी पन्तलाई समय दिए । उनले पनि प्रश्न गर्ने क्रममा पुरै बोल्न नपाएको झोक यही समयमा पोखे । त्यसपछि नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्मालाई समय दिए । शर्माले करिब ५ मिनेट बोलेपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंह बोले । उनले पनि करिब ३ मिनेट आफ्नो कुरा राखेपछि बल्ल प्रधानमन्त्रीले बोल्ने समय पाए । यो बिचमा आधा घण्टाभन्दा बढी प्रधानमन्त्री संसदको रोस्ट्रममै उभिन बाध्य भए । 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र अन्य समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई यही विषयमा बोल्न समय दिए । जुन विषयमा सरकारले आफ्नो प्रष्टीकरण दिने मौका पाएन । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको चर्को आलोचना गरे । 

संसदमा यो रमिता हेर्न लायक मात्रै हैन, सांसदहरुको चेतना स्तर, उनीहरुले बोल्ने भाषा शैली, एक अर्काप्रतिको हिलो छ्यापाछ्याप संसदीय व्यवस्थालाई नै लज्जित बनाउने खालको थियो । यसमा सभामुखको भूमिका झनै अनौठो देखियो । संसदमा देशको कार्यकारी प्रमुखले सम्बोधन गरिरहेका बेला अमर्यादित शब्द प्रयोग भएर वा नियम विरुद्ध भएकाले नियमापत्ति गर्नुबाहेक सामान्यतः अन्य सांसदलाई बोल्ने अवसर दिइँदैन ।

तर सभामुखले प्रधानमन्त्रीलाई उभ्याएर जसलाई पायो उसैलाई समय दिँदै गए । यसरी नै संसद चलाउने हो भने कसले कसका कुरा किन्न सुन्ने प्रश्न गम्भीर प्रश्न उठ्छ । सांसदहरुले प्रष्टीकरणपछि प्रश्न पनि सोध्ने मौका पाएपछि प्रधानमन्त्रीले त्यसलाई प्रश्न पार्ने मौका पाएका बेला सभामुखले अन्य सदस्यलाई बोल्न दिँदा प्रधानमन्त्रीको जवाफ नै खल्लो सुनियो । संसदमा प्रधानमन्त्रीले बोलिरहँदा सत्ता पक्ष र प्रतिपक्षका सांसदको लफडा हेर्दा टोलमा कुनै कचहरी बसेको भन्दा भिन्न देखिएन । प्रधानमन्त्रीले दिइरहेको जवाफलाई बिचैमा रोकेर प्रश्नमाथि प्रतिप्रश्न थप्दै जानु असंसदीय मात्रै होइन अभद्र व्यवहार पनि हो । जसका लागि सभामुख नै सहयोगी बनेको देखियो । 

अर्कातिर संसदमा सभामुखको भूमिका पनि पक्षपाती देखिँदै आएको छ । उनी संसद अवरुद्ध गर्नेदेखि एमालेले चाल्ने कदममा सहयोगी बन्दै आएका छन् । सभामुख सिंगो संसदको नेता भएकाले उनले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ । अघिल्लो पटक तत्कालीन सभामुख अग्नि सापकोटा निष्पक्ष नभएको भन्दै प्रश्न उठाउने एमाले यतिबेला सभामुखलाई प्रभावमा पारेर संसदमा हंगामा मच्चाउन खोजिरहेको त छैन भन्ने प्रश्न उठेका छ । यसअघि राष्ट्रपति आफ्नो हुँदा त्यसको चरम दुरुपयोग गरेको एमालेले यतिबेला सभामुखको दुरुपयोग गर्ने आशंका बढेको छ । 

सभामुखले सत्ता पक्ष र प्रतिपक्षलाई राजनीतिक लाभ हुनेगरी खेल्ने भूमिकाले सभामुखमाथि समेत प्रश्न उठ्छ । संसदमा नियमसंगत भन्दा पनि प्रतिपक्षीले बढी नै बलजफ्दी गर्न खोजेको देखिन्छ । सभामुखले सोमबार बैठक सञ्चालनका सन्दर्भमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५ को समेत उल्लंघन गरे । जसमा छलफलको समाप्ति सम्बन्धी व्यवस्था छ । जसको नियम २५ को उपनियम १ मा भनिएको छ, ‘यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक प्रस्ताव प्रस्तुतकर्ता सदस्यले उत्तर दिइसकेपछि छलफल समाप्त भएको मानिनेछ ।’

यसको अर्थ आफ्नो भारत भ्रमणबारे जानकारी गराएर गएका प्रधानमन्त्रीले स्वदेश फर्किएर फेरि संसदलाई जानकारी गराएपछि प्रक्रिया पूरा भयो । तर, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र अन्य समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई यही विषयमा बोल्न समय दिए । जुन विषयमा सरकारले आफ्नो प्रष्टीकरण दिने मौका पाएन । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको चर्को आलोचना गरे । 

प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि प्रतिपक्षी दलको नेतालाई बोल्न समय दिएर त्यही विषयमा प्रश्न, संशय, आशंका उब्जाएर सभामुखले के गर्न खोजेको हो भन्ने प्रश्न उठेको छ । सरकारले उठेका सबै प्रश्नको जवाफ दिइसकेपछि प्रतिपक्षी दलको नेतालाई बोल्न दिनु संसदीय अभ्यासमा लज्जाको विषय हो । सभामुखले सरकारलाई प्रष्टीकरणको समेत मौका नदिने गरी खेलेको भूमिकालाई निष्पक्ष नमान्ने मात्र होइन सभामुखद्वारा तजविजी अधिकारको दुरुपयोग गरेकाे आरोप लागेको छ । 

बैठकमा बोल्न समय दिने कुरा सभामुखको तजविजको विषय हो । तर तजविजी अधिकार कहाँ प्रयोग गरियो भन्ने चै ख्याल गर्नुपर्ने विषय हो । सभामुख यसमा निष्पक्ष भूमिका खेल्न चुकेको आरोप लागेको छ ।