एमालेमा गुमनाम पूर्व माओवादीहरु केही हिरासतमा कोही विकल्पको तयारीमा

एमालेमा गुमनाम पूर्व माओवादीहरु केही हिरासतमा कोही विकल्पको तयारीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०८०

सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गरिदिएपछि माओवादी पृष्ठभूमिका केही चर्चित नेताहरु केपी शर्मा ओली नेतृत्वको एमालेमै बसे । यसरी बस्नेमा माओवादीका पूर्वमहासचिव तथा नेकपा बन्दाका ९ सचिवालय सदस्यमध्ये एक रामबहादुर थापा बादल समेत छन् । उनीसँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरीसहित दर्जनौं नेताहरु एमालेमै बसे ।

त्यसैलाई आधार बनाएर ओली र एमाले नेताहरुले नेकपाको निरन्तरता एमाले नै भएको डंका पिटे । एमाले र माओवादी अलग अलग भएपछि तत्कालीन एमालेमा केपी ओली र माधवकुमार नेपाल समूहबीच विवादको विषय बनेकामा यी नेताहरु पनि थिए । नेपाल समूहले पार्टीको हैसियत माओवादीसँग एकता हुनु पूर्वको अर्थात २०७५ जेठ ३ भन्दा अघिको अवस्थाको भएपछि सोही समयको एमालेको बैठक बसेर माओवादी सहितका यी नेताहरुलाई भित्र्याउनुपर्ने उनीहरुको माग थियो । जसमा केपी ओली समूह सहमत थिएन ।

विवाद बढ्दै जाँदा बादल समूह एमाले बन्ने र माधव नेपाल समूह एमालेबाट बाहिरिने अवस्था सिर्जना भयो । गत महाधिवेशनमा ओलीको निगाह पाएकै कारण बादल उपाध्यक्ष तथा रायमाझी र भट्ट सचिवमा निर्वाचित भए । अन्य नेताहरु स्थायी कमिटी र केन्द्रीय कमिटिमा परे । बादल एमालेमा आफूपछिको वरीयतामा उपाध्यक्ष दिने ओलीको आश्वासनपछि एमालेमा बसेको बताइन्छ । एमालेमै बसेका कारण बादल, रायमाझी, भट्ट, शाह र चौधरीले सांसद पद गुमाए । बादल उपनिर्वाचन लडे पनि पराजित भए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको भूमिका पाएका बादल त्यसपछि लगातार शक्तिहिन बन्दै गए । उनको समूह बलियो नभएको देखेपछि ओलीले उनलाई आफूपछिको वरीयता दिएनन् । एमालेलाई नेकपाको निरन्तरता भन्ने ओली निरन्तर तीनै नेताहरु लडेको युद्धलाई अतिरञ्जित रुपमा ब्याख्या गर्न थाले । तर यसको विरोध गर्ने ल्याकत कसैको थिएन । एमालेमा पूर्व माओवादीहरु निरीह बनेर बसेका छन् । 

एमालेमा रहेका नेता मणि थापा पछिल्लो समयमा पार्टीमा बिदा लिएर बसेका छन् । उनी विप्लव नेकपामा प्रवेशका लागि छलफलमा छन् । उनले एमालेमा पत्र लेखेर विदा मागेका छन् । विप्लव माओवादी केन्द्रमा मिसिन सक्ने सम्भावना रहेको विषय बाहिर आइरहेका बेला मणि पनि घुमाउरो बाटो हुँदै फेरि माओवादीतिर आउने तयारीमा लागेको देखिन्छ । 

यतिबेला एमालेमा बसेका माओवादी नेताहरु सबै किनारा लागेका छन् । बादल पार्टीमा शून्य भूमिकामा देखिन्छन् । उनकी पत्नीलाई सांसद बनाउनु बाहेक उनले एमालेमा कुनै जादु गर्न सकेनन् । रायमाझी यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दाका क्रममा प्रहरी हिरासतमा छन् भने भट्ट गुमनाम बन्दै गएका छन् । प्रभु साहले पार्टी छाडेर आम जनता पार्टी खोलेका छन् । अन्य नेताहरु एमालेको कुनै बलियो जिम्मेवारीमा छैनन् । माओवादीबाट चुनाव जितेर एमाले छिरेका भट्ट, चौधरीले चुनाव जित्न सकेनन् भने चुनाव जितेका एकमात्रै नेता रायमाझी पनि नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि अब एमालेमा पूर्वमाओवादीको अस्तित्व करिब करिब सकिएको छ । 

एमालेमा रहेका नेता मणि थापा पछिल्लो समयमा पार्टीमा बिदा लिएर बसेका छन् । उनी विप्लव नेकपामा प्रवेशका लागि छलफलमा छन् । उनले एमालेमा पत्र लेखेर विदा मागेका छन् । विप्लव माओवादी केन्द्रमा मिसिन सक्ने सम्भावना रहेको विषय बाहिर आइरहेका बेला मणि पनि घुमाउरो बाटो हुँदै फेरि माओवादीतिर आउने तयारीमा लागेको देखिन्छ । 

थापा केही समयअघि कम्युनिस्ट कलाकारले आयोजना गरेको राष्ट्रका लागि संगीत अभियानमा सहभागी देशभर घुमेका थिए । त्यस समयमा उनी एमाले बैठकमा समेत सहभागी भएनन् र निष्क्रिय जस्तै थिए । एमालेले पनि थापालाई कुनै जिम्मेवारी दिएको छैन । उनलाई स्थायी समिति सदस्य राखिए पनि ठोस जिम्मेवारी नतोकिएको हो । 

थापा माओवादीले सञ्चालन गरेको १० वर्षे युद्धमा सहभागी थिए । जनसांस्कृतिक मोर्चामा सक्रिय थापाले २०६२ सालको चुनवाङ बैठकपछि अलग भई आफ्नै नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेका थिए । २०७३ सालमा दश माओवादी घटक एकता हुने क्रममा उनी एकता प्रक्रियासँगै माओवादी केन्द्रमा पुगेका हुन् । उनी माओवादी केन्द्रमा पनि स्थायी कमिटी सदस्य थिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी गैर सांसदको रूपमा खानेपानी मन्त्री बनेका थिए । उनले माओवादी छाड्नका कारण त्यही मन्त्री पद भएको बताइन्छ । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिल्लो समय असन्तुष्ट थिए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा सिधै जान कठिन भएपछि उनी विप्लव नेकपामा छिर्ने योजनामा पुगेका हुन् । विप्लव नेकपा माओवादी केन्द्रसँग एकताको छलफलमा छ ।