राजदरवार हत्याकाण्ड: त्यो कहालीलाग्दो रात !

राजदरवार हत्याकाण्ड: त्यो कहालीलाग्दो रात !

लक्ष्मण ओझा  |  समाचार  |  जेठ १९, २०७६

२०५८ जेठ १९ । आजभन्दा ठ्याक्कै १८ वर्षअघि म कञ्चनपुरको तत्कालीन रैकवार बिचवा गाविसको राजघाटस्थित मामाघरमा थिएँ । सधैंझैं बेलुका करिब १० बजे खाना खाएर मामा र म गफ गर्दै थियौं– देशको राजनीतिक अवस्थाबारे । मामा देशको राजनीतिक अवस्थाबारे निकै चासो राख्नुहुन्थ्यो । मलाई पनि यसबारे गफ गर्न खुबै रमाइलो लाग्थ्यो । त्यसमाथि मामासँग कुनै पनि विषयमा कुरा गर्न अथवा वादविवाद गर्न झन् रमाइलो लाग्थ्यो मलाई ।  हाम्रो गफ धेरै लामो समयसम्म चलिरहयो ।  

हामीबीच कुराकानी चलिरहेको थियो । रेडियो पनि घन्किरहेकै थियो । 

अचानक काठमाडौंबाट आएको अपत्यारिलो खबरले हामी दुवैको ध्यान अन्तै मोडियो । हाम्रो गफ रोकियो । संचार माध्यमले राजा वीरेन्द्रको हत्या भएको आधिकारिक पुष्टि नगरे पनि खबर यथार्थ रहेको बाहिरी माहोलले बताइसकेको थियो ।  

सुरुमा त यो खबर सुन्दा पत्यार लागेन । तर, नपत्याउनुको विकल्प पनि थिएन किनकि काठमाडौंका अन्य मित्रले पनि यो खबरको आधिकारिकताका बारेमा अब सन्देह नगर्न भनिरहेका थिए । घटनाले मनका अनेक प्रकारका तरंग सृजना गर्यो र शान्त रहँदै निद्रा देवीका काखमा मस्त रहने दैनिकीबाट च्युत गरायो । कल्पनासम्म नगरिएको घटना यथार्थमा घटित भयो भन्ने सुन्दा मन पत्याउने नपत्याउने दोधारमा हुँदै गर्दा पनि स्वीकार्न बाध्य भयो ।  

आखिर राष्ट्रप्रमुख (राजा)को वंश नास हुँदा कसको मनले सहजै स्वीकार गर्ला र ? तर पनि अब यो यथार्थ थियो । मनले पत्याए पनि नपत्याए पनि ।   

मेरा लागि यो बिर्सनै नसकिने घटना हो । आम  नेपालीले पनि यो घटना सायदै बिर्सन सक्लान् ! 

नियमित पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो । घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुती मारिए । यस्तै, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धिरेन्द्र शाहको हत्या भयो । राजपरिवारका केही सदस्य घाइते पनि भए । 

घटनापछि तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्याकाण्ड गरेको प्रतिवेदन पेश गरेको थियो । दरबारसँग सम्बन्धित व्यक्तिले प्रकाशन गरेको पुस्तकमा पनि दीपेन्द्रले नै हत्याकाण्ड गरेको दाबी गरेका छन्  । तर, आम नेपालीले यसलाई विश्वास गर्न सकिरहेका छैनन् । 

तर, घटना भएको १८ वर्ष बितिसक्दा समेत यो अझै रहस्यको गर्भमा छ । सरकार यो रहस्य पत्ता लगाउन बेवास्ता गरिरहेको छ वा यो उसको वशमा छैन अथवा ऊ यसलाई रहस्य नै देखाएर कुनै अभिष्ट माथि खेल्दैछ ? बुझ्न सकिएको छैन ।