नेपाल विद्युत प्राधिकरण र पालिकाको सहकार्य : रामेछाप आसपासका क्षेत्र झिलिमिली

नेपाल विद्युत प्राधिकरण र पालिकाको सहकार्य : रामेछाप आसपासका क्षेत्र झिलिमिली

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २९, २०८०

काठमाडौं। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको    छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखेको छ ।

बत्ति राखेपछि रातिको समयमा ती क्षेत्रहरु झिलिमिली बनेका छन् । मन्थली नगरपालिका पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ति जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।

बसपार्क र बिनिता चोकमा १२।५ मि। अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ति जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमश: १४८ र १८३ वटा रहेका छन् ।  १२।५ मि। अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तिको लागत २ करोड रुपैयाँ रहेको छ ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तिको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । बेथानमा जडान गरिएको बत्तिको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रुपमा भइरहेको बताउनुभयो । ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरु बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी  रात्रिकालीन सौन्दर्यका बढाउने छ । सडक वत्तिको महसुल सम्बन्धित पालिकाहरुले तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । वत्ति बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति ९स्मार्ट लाइट० जडान गरिरहेको छ । ठेक्का सम्झौता अनुसार सडकबत्ति नियमित मर्मत सम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ । पोल, तार, बत्तिलगायतका संरचनाहरु प्राधिकरणकै स्वामित्वमा रहने छन् ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।