एमालेमा ७० वर्षे उमेर हदको विवाद र नेकपा ब्युँताउने बेमौसमी बाजा

लोकसंवाद टिप्पणी

एमालेमा ७० वर्षे उमेर हदको विवाद र  नेकपा ब्युँताउने बेमौसमी बाजा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०८०

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले खारेज गरिदिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यूँताउन आफू तयार रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तयार छन् ? भनेर प्रश्न गरेका छन् ।

२०७४ सालमा काँग्रेस नेतृत्वको सरकारमा सामेल भएकै समयमा एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म पुगेका थिए । तर त्यो एकता लामो समय टिक्न सकेन । चुनावी गठबन्धन गरेर एमाले र माओवादी केन्द्रको गठबन्धनले करिब दुई तिहाई नजिकको बहुमत ल्याउन सफल भएका थिए । त्यसपछि बनेको केपी शर्मा ओलीले करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरे पनि पार्टी बचाउन असफल भएका थिए ।

उनले सरकारबाट लिएका निर्णय, एकलौटी निर्णय, पार्टीभित्रका नेताहरुमाथि निरन्तरको प्रहार, आफू निकटलाई सत्ता र शक्तिको केन्द्रमा राख्ने तथा आफ्नो आलोचना गर्नेमाथि ओलीले गरेको दुश्मनी पूर्ण व्यवहारले तत्कालीन नेकपा करिब करिब आफैं विघटन, विभाजन र पतनको बाटोमा पुगेको थियो । त्यही समयमा २०७७ फागुन २१ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको मुद्दाको सुनुवाई गर्दै नाम जुधेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो । त्यसपछि एमाले विभाजित बनेर नेकपा (एकीकृत समाजवादी) बन्यो । माओवादीका केही नेताहरु एमालेतिर लागे । 

तत्कालीन समयमा नेकपा बनाएर प्रतिनिधिसभाको एक कार्यकाल पनि पूरा नगरी छिन्नभिन्न भएका कम्युनिस्ट शक्तिबीच बेलाबेला पुनः एकताको चर्चा चल्ने गर्छ । नेताहरुले आफूलाई अनुकूल वा प्रतिकुल हुनेबित्तिकै नेकपा सम्झिने गरेका छन् । यसै सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि तत्कालीन नेकपा ब्युँताउने   तयार रहेको प्रतिक्रिया दिएका छन् ।  भक्तपुरमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताएका हुन् ।

उनले भने, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैं, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौं, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौं भने हामी एउटा मोर्चा बनाऔं, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौं, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौं ।’

पार्टी एकता देश, जनता र समाजको पक्षमा नभएर सत्ता प्राप्तिको भोक भेट्ने औजारका रुपमा मात्रै प्रयोग गरियो । एकता भएर नेकपा बनेपछि तत्कालीन एमाले र माओवादीका कार्यकर्तामा ‘महाराजा’ को शैलीको भूत सवार भयो । उनीहरुले अरु पार्टीलाई पार्टी देखेनन्, जनतालाई जनता देखेनन्, अरुका विचार र सिद्धान्तलाई सम्मान गर्न आवश्यक नै ठानेनन् ।

यसै क्रममा उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यूँताउन तयार रहेको बताएका हुन् । 

‘हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौं । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी पुरानो पार्टी फेरि ब्युँताउँछौं । आउनुहोस्, प्रचण्ड जीलाई भन्छु । हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ?’

नेपालले एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाए । हालै एमालेले पार्टीको सक्रिय भूमिकामा रहनका लागि ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको थियो । एमालेले कम्युनिस्ट एकता अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता मुकुन्द न्यौपानेलाई समेट्न ७० वर्षे उमेर हद हटाएको छ । यो निर्णयमा एमालेभित्रै पनि पूर्ण सहमति भने देखिएको छैन । एमालेमा ओली निकै शक्तिशाली देखिन्छन् । उनले चाहेका हरेक निर्णय पार्टीमा हुने गरेका छन् ।  

नेकपा बन्ने वा नबन्ने भन्नेमा पनि एमालेभित्र ओलीको निर्णय मुख्य हुने निश्चित छ । ओली तत्काल नेकपा ब्युँताउने भन्दा पनि माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई पार्टीमा तान्ने रणनीतिमा देखिन्छन् । नेकपा एकता भए पनि त्यो केका लागि हुने, गन्तव्य कहाँसम्म बनाउने, एकीकृत पार्टीको विचार र सिद्धान्त के हुने भन्नेमा एकमत हुनु आवश्यक छ ।

अघिल्लो पटक एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि त्यसको सैद्धान्तिक आधार देखिएन । पार्टी एकता देश, जनता र समाजको पक्षमा नभएर सत्ता प्राप्तिको भोक भेट्ने औजारका रुपमा मात्रै प्रयोग गरियो । एकता भएर नेकपा बनेपछि तत्कालीन एमाले र माओवादीका कार्यकर्तामा ‘महाराजा’ को शैलीको भूत सवार भयो । उनीहरुले अरु पार्टीलाई पार्टी देखेनन्, जनतालाई जनता देखेनन्, अरुका विचार र सिद्धान्तलाई सम्मान गर्न आवश्यक नै ठानेनन् । अह‌मता, अहंकार र घमन्डको चुली देखिन्थ्यो । जसले गर्दा नेकपाले दीर्घ जीवन पाएन । अब पनि एकताका निम्ति भावनामा एकता गरेर त्यसले सार्थकता पाउने अवस्था देखिदैन ।