डोटेली पत्रकारिताका छ दशक: एक्लो पत्रकारदेखि २६ जनालाई महासंघबाट बिदाइसम्म

डोटेली पत्रकारिताका छ दशक: एक्लो पत्रकारदेखि २६ जनालाई महासंघबाट बिदाइसम्म

शंकर थापा  |  साहित्य  |  जेठ २९, २०८०

बि.सं. २०५० सालभन्दा अघिसम्म डोटीमात्र होईन, सुदूरपश्चिमका पहाडी सबै जिल्लाहरुमा पत्रकार भनेकै राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता बाहेक अरु कोही  थिएनन् । डोटी  जिल्लाको हकमा कुरा गर्ने हो भने  सदरमुकाम सिलगढी स्थित पद्म पब्लिक माविका शिक्षक धनबहादुर मल्ललाई राससले जिल्ला समाचारदाताको जिम्मेवारी पाउने व्यक्ति थिए । करिब तीन दशक अर्थात  २०५०/५१ सम्म जिल्ला समाचारदाताको जिम्मेवारीमा  रहनु भयाे । 

उहाँ आफनो शिक्षण पेशाको अलवा  डोटीका समाचार संकलन गरेर दूर सञ्चार संस्थानको आकाशवाणी सेवा मार्फत काठमाडौँसम्म पठाउनु हुन्थ्यो । समाचारको भाषा शैलीको  खासै अर्थ थिएन थियाे केबल सूचना उपलब्ध गराउनु । उहाँले पठाएको सूचनामूलक समाचार राससको बुलेटिन, गोरखापत्र दैनिक तथा रेडियो नेपालबाट प्रकाशन/ प्रसारण हुने गर्थे ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि सरकारी सञ्चार माध्यममा सत्ताधारी दलले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्रममा तीन दशक भन्दा लामाे समयमा जिल्ला रहेर राससको जिल्ला समाचारदाताको जिम्मेवारीमा रहेका मल्ललाई हठात हटाइयो । विगतलाई फर्केर हेर्दा  यसअघि बि.सं. २०३९ सालमा डोटी जिल्लामा लेटर प्रेस भित्रिए सँगै बि.सं. २०४१ सालमा सिलगढीका कैलाश नारायण श्रेष्ठ र कफल्लेकीका मेघनाथ भट्टले पहिलो पटक 'दिपायल सन्देश' नामक पत्रिकाको प्रकाशन गरेका थिए । याे नै  डोटीको पहिलो प्रकाशन थियो  । तत्कालिन पञ्चायती  व्यवस्थाले पत्रिकामा प्रकाशित बिभिन्न समाचारको विषयलाई लिएर पटक पटक अबरोध खडा गर्न थालेपछि पत्रिका प्रकाशनको त्यो प्रयास लामो समयसम्म टिक्न सकेन । पत्रिकाको प्रकाशन बन्द नै  हुन पुग्यो । 

०५० साल पछि डोटेली पत्रकारिता

२०५० सालको सुरुतिर म अध्ययनको सिलसिलामा जिल्ला सदरमुकाम सिलगढी आईसकेको थिएँ । २०४५/४६ सालदेखि नै बिद्यार्थी राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न भएको ममा बिभिन्न पुस्तक तथा पत्र पत्रिकाहरू खोजी खोजी पढ्ने रुचि थियो  । हप्तौं पछि गोरखा पत्र तथा कान्तिपुर पत्रिका हुलाकबाट सरकारी कार्यालयहरुमा पुग्ने गर्थ्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै मिडियाले पनि बिकास मूलक भन्दापनि राजनीतिक सामग्री गतिविधिले प्राथमिकता दिन्थे । मलाई पनि आफुले गरेका राजनीतिक गतिविधिहरु समाचारको रुपमा प्रकाशित/ प्रसारित भइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । त्यसपछि काठमाडौँबाट प्रकाशित हुने केही पत्रिकाका सम्पादकसँग कुरा गरेर मैले साप्ताहिक पत्रिकामा बिद्यार्थी संगठनको लेटर पेडमा लेखि पठाउन थालेँ । २०५० साल मंसिरमा मेरो नाममा दृष्टि साप्ताहिकमा पहिलो पटक प्रकाशित राजनैतिक समाचार थियो । मेरो पत्रकारिता जीवनको सबैभन्दा खुशीको दिन थियो त्याे । 

 २०५०/५१ साल ताका डोटी जिल्लाका युवाहरुमा पत्रकारिता विषयको खासै ज्ञान तथा रुचि दुबै थिएन । न पत्रकारिता विषयका अध्ययन गर्ने शिक्षण संस्था, न तालिम दिने निकाय केही पनि थिएन ।न स्थानीयस्तरमा सञ्चारका माध्यमहरु सञ्चालनमा थिए । प्रायजसो डोटी जिल्लाका घटनाक्रमहरुले प्रहरीको श्रोत उल्लेख गरेर सरकारी सञ्चारमाध्यममा  प्रकाशित/ प्रसारित हुने गर्थे । त्यतिबेला धनगढी, महेन्द्रनगर तथा राजधानीबाट प्रकाशित हुने बिभिन्न सञ्चार गृहले पनि जिल्ला स्तरमा समाचारदाताको लागि बिज्ञापन माग गर्न थालिसकेका थिए । त्यस ताका मिडियाहरुमा फरक बिचार राख्ने व्यक्तिहरुलाई सहज पहुँच थिएन भन्दा पनि हुन्छ । जो सम्पादक छ, जो समाचार प्रमुख छ उसले आफु निकट बिचार राख्ने व्यक्तिहरुलाई समाचारदाता छनौट गर्ने र जिम्मेवारी दिने चलन थियो । जो अद्यावधि  कायमा छ । यसै क्रमममा २०५२ सालमा डोटीबाट कान्तिपुर दैनिकमा बिजय खड्का र राससमा जयराज ओझाले समाचारदाताको  औपचारिक जिम्मेवारी पाउनु भयाे  । यसरी जिम्मेवारी पाउँदा पाउँदै पनि  बिभिन्न कारणले गर्दा खड्का र ओझाले   पत्रकारिता पेशालाई निरन्तरता दिन सक्नु भएन ।

डोटी जिल्लामा पत्रपत्रिका पछि अनलाईन पत्रकारिता प्रति आकर्षण बढेको देखिन्छ ।  डोटी जिल्लामा सञ्चालनमा आएका अनलाईन मध्य घण्टेश्वर अनलाईन पहिलो र सुदूरपाटी अनलाईन दोश्रो अनलाईन हो । पछिल्लो तथ्यांक अनुसार डोटी जिल्लाबाट १८ वटा अनलाईन सञ्चालनमा रहेका छन् । तर नियमित रुपमा समाचार अद्यावधिक गर्ने अनलाइनको संख्या भने एकदमै  न्यून रहेको छ ।

त्यसपछि काठमाडौँबाट प्रकाशित कान्तिपुर दैनिकले २०५२ साल पुसमा मलाई स्ट्रिन्जरका रुपमा जिम्मेवारी दियो । त्यसपछि बि.सं. २०५३ सालमा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकको जिल्ला समाचारदाताको  जिम्मेवारी प्राप्त भयो ।  त्यतिबेला समाचार सम्प्रेषण गर्न अहिले जस्तो फोन/फ्याक्स, इमेल इन्टरनेट सुबिधा उपलब्ध त के कल्पनासम्म गर्न सकिँदैनथ्यो ।

समाचार सम्प्रेषणका लागि कहिले फोनबाट, कहिले हुलाकबाट कहिले दूरसञ्चार संस्थानको आकाशवाणी सेवा प्रयोग गर्नु पर्ने बाध्यता थियो । जिल्लामा एक्लै पत्रकारिता पेशामा रहेका कारण जिल्ला स्तरमा आयोजना हुने पत्रकार सम्मेलन र बिभिन्न कार्यक्रममा एक्लै सहभागि हुनु पर्दाको  तीता मिठा अनुभव सँगाल्ने अवसर मलाई जुट्यो  । कतिपयमा जिल्लामा पत्रकारको दरबन्दी एउटै मात्र हुन्छ र सरुवा भएपछि मात्र अर्को पत्रकार आउँछ भन्ने जिल्लाका मानिस परेको छाप पनि र उनीहरुले भन्ने  गरको कुरा अहिले पनि मेरो कानमा गुज्जि रहेको छ । 

२०५५ साल पुसमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले दिपायलमा आयोजना गरेको 'सुदूरपश्चिममा पत्रकारिता विकासक्रम र चुनौती'  बिषयक क्षेत्रीय कार्यशाला गोष्ठीको व्यवस्थापनमा सहयोगीको जिम्मेवारी प्राप्त गरेको थिए । त्यो जिम्मेवारी चानचुने कुरा  थिएन । 

२०५६ सालमा सिलगढी सिलगढी स्थित मर्निङ लाईट स्कुलका शिक्षक राजकुमार खड्काले नेपाल समाचारपत्र दैनिकमा समाचारदाताको रुपमा काम शुरु गर्नु भयो । राजकुमार खड्का, अरबिन्द श्रेष्ठ र म सहितको टीम बनाएर सिलगढीबाट 'डोटेली आवाज'  पाक्षिक पत्रिका दर्ता नै  गरि प्रकाशन  शुरु गरियो । २०५७ सालमा सिलगढीका टंकप्रसाद श्रेष्ठ प्रधान सम्पादक र भक्तराज भट्ट सम्पादक रहने गरि डोटेली सन्देश साप्ताहिक प्रकाशनमा भएको थियो । बि.सं. २०५८ साल तिर बिमल बिष्ट, चक्र कठायत, निशा श्रेष्ठ, राधा मल्ल डोटेली आवाज पाक्षिक मा आबद्ध हुनु भयाे  । समय क्रमसँगै  क्रमिक रुपमा रेडियो नेपाल दिपायलका कार्यक्रम संयोजक उद्धवसिंह ढाँट, विरगन्जमा पत्रकारिताको पृष्ठभूमि भएका टोप राज पौडेल सम्पर्कमा आएर डोटीको पत्रकारिता विकासमा ईंटा थप्ने काम भयाे  । 

डोटीको पत्रकारिताको विकासमा बिकास सञ्चार समूह डोटीको योगदान 

डोटी जिल्लामा पत्रकारिताको बिकासको कुरा गर्दा बि.सं. २०५४ सालमा स्थापना भएको विकास सञ्चार समूहको भूमिकालाई बिर्सन मिल्दैन । विकास सञ्चार समूहले डोटीमा मात्र नभएर डडेल्धुरा, अछाममा नयाँ पत्रकार उत्पादन गर्न, पत्रकारहरुको क्षमता बिकास गर्न र नेपाल पत्रकार महासंघको जिल्ला शाखा स्थापनामा ठूलो सहयोग गरेको छ

विकास सञ्चार समूहले नेपाल प्रेस इन्स्टिच्युटसँग सहकार्य गरेर जिल्ला स्तरमा पत्रकारिता बिषयमा प्रशिक्षण आयोजना गर्नुका साथै जिल्ला बाहिर आयोजना हुने तालिम कार्यक्रममा पनि डोटीबाट पत्रकारहरु तथा पत्रकारिता बिषयमा रुचि भएका युवाहरुलाई छनौट गरि पठाउने कामको  नेतृत्वदायी भूमिका निर्वाह गरेकाे थियो । 

त्यसपछि विकास सञ्चार समूहद्वारा एम.एस नेपाल नामक अन्तराष्ट्रिय संस्थासँगको साझेदारीमा बि.सं. २०५९ साल देखि २०६४ सालसम्म पत्रकारिता तथा सञ्चार वकालत सम्बन्धि छोटो तथा लामो अवधिका तालिमहरु आयोजना गर्‍यो  । डोटी जिल्लामा पत्रकारिता बिषयमा क्षमता अभिबृद्धि गर्नका लागि बरिष्ठ पत्रकार धर्मेन्द्र झा,  हेमन्त कर्माचार्य, खेम भण्डारी, चिरञ्जिवी अर्याल, हेमन्त कर्माचार्य, डा. बिजय मिश्र लगायतको भूमिका रहेको छ । अहिले पनि डोटी, डडेल्धुरा र अछाम जिल्लामा कृयाशील पत्रकारहरूमा अधिकांश बिकास सञ्चार समूह डोटीले क्षमता बिकास गरेका पत्रकारहरु विभिन्न जिम्मेवारीमा भूमिकामा रहनु भएको छ । 

पत्रकारिताको विकास क्रममा नेपाल पत्रकार महासंघको भूमिका

डोटी मात्र होईन सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरु निकै पछि स्थापना भएका हुन । नेपाल पत्रकार महासंघको जिल्ला शाखा स्थापना गर्नका लागि २५ जना कृयाशील पत्रकारहरु हुनु पर्ने बैधानिक व्यवस्था भएकाले पहाडी जिल्लामा पत्रकार महासंघको जिल्ला शाखा स्थापना गर्न हम्मेहम्मे परेको घट्ना पनि ताजै छ ।  एउटा जिल्लामा मात्र जिल्ला शाखा गठनको लागि संख्या नपुगेपछि संयुक्त जिल्ला शाखा गठन मार्फत विधि  फुकाउने काम गरेका थियौँ ।

डोटीमा  महासंघको जिल्ला शाखा स्थापनाको लागि पहल गर्न नेपाल पत्रकार महासंघका तत्कालिन महासचिव डा. सुरेश आचार्यले बि.सं. २०५५ सालमा डोटी आएका बेला सल्लाह दिनु भएको थियो । तर महासंघको जिल्ला शाखा स्थापनाको लागि संख्या नपुगेका कारण ढिलो गरि मात्र डोटीमा महासंघ स्थापना गर्न सफल भएका थियौँ । 

 डोटी जिल्लामा मात्र २५ जना कृयाशील पत्रकारहरुको संख्या नपुग्ने भएपछि बि.सं. २०५९ सालमा महासंघका क्षेत्रीय उपाध्यक्ष उमिद् बागचन्दको उपस्थितीमा डोटी र अछामका पत्रकारहरुको संयुक्त भेला गरेर डोटी अछाम तदर्थ शाखा गठन गर्न बाध्य भएका थियौँ । त्यसपछि. २०६० सालमा पहिलो साधारण सभाबाट तदर्थ शाखाले जिल्ला शाखाको मान्यता प्राप्त गरेको थियो । २०६३/६४ मा अछाम र डोटीमा पत्रकारहरुको सख्या बृद्धि भएपछि छुट्टा छुट्टै जिल्ला शाखा गठन गर्ने सफलता मिलेको थियाे।  

डोटीमा पत्रकार महासंघको शाखा स्थापना हुनु अघिसम्म पत्रकारहरुको प्रमुख समस्या भनेको सञ्चारका अत्याधुनिक प्रविधिहरु पहुँच नहुनु नै थियो । पत्रकारहरुलाई आफुले तयार गरेको समाचार सामग्री छिटो छरितो रुपमा कसरी सम्प्रेषण गर्ने भन्ने थियो । नेपाल पत्रकार महासंघको पहिलो कार्य समितिले दिपायल सिलगढी क्षेत्रमा फोन तथा फ्याक्स सेवा, अपसेट छापाखाना भित्र्याउन स्थानीय व्यापारीहरुसँग सहजिकरण गरेको थियो । तत्कालिन अवस्थामा महासँघको सहजीकरणमा जिल्ला बिकास समिति, दिपायल सिलगढी नगरपालिका र दूरसञ्चार कार्यालय राजपूरले पनि सस्तो दर रेटमा फ्याक्स सेवा उपलब्ध गराएको थियो । जसले गर्दा पत्रकारहरुलाई छिटो छरितो रुपमा समाचार सम्प्रेषण गर्न ठूलो राहात महसुस गरेका  थियौँ । 

डोटीमा पत्रकारिताको बर्तमान अवस्था

डोटी जिल्लामा पत्रकारिताको अवस्था विगतको जस्तो छैन । डोटेली पत्रकारहरुको सञ्चारका अत्याधुनिक प्रविधिसँग सहज पहुँच पुगेको छ । पुराना सञ्चारका प्रविधिहरुको विस्थापन र नयाँ प्राविधिकहरुका पहुँच स्थापित हुँदै गएको छ । पत्रकारिता क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो अवस्थामा रहेको छ । पत्रकारहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । तर सञ्चालनमा रहेका सञ्चार  माध्यमहरु क्रमशः बन्द हुँदै गएका छन । 

२०४६ सालको परिवर्तन पछि २०५६ सालमा डोटी जिल्लामा पहिलो पटक डोटेली आवाज पाक्षिक दर्ता भएको हो । हालसम्म आउँदा दैनिक ४, साप्ताहिक १८, पाक्षिक २, मासिक २, चौमासिक १, अर्ध वार्षिक १, गरि २८ वटा पत्रपत्रिका दर्ता भएका छन । तर हाल बिम्ब साप्ताहिक मात्र नियमित प्रकाशनका साथै प्रेस काउन्सिल नेपालको वर्गिकरण समावेस भएको अवस्था छ । 

डोटी जिल्लामा पत्रपत्रिका पछि अनलाईन पत्रकारिता प्रति आकर्षण बढेको देखिन्छ ।  डोटी जिल्लामा सञ्चालनमा आएका अनलाईन मध्य घण्टेश्वर अनलाईन पहिलो र सुदूरपाटी अनलाईन दोश्रो अनलाईन हो । पछिल्लो तथ्यांक अनुसार डोटी जिल्लाबाट १८ वटा अनलाईन सञ्चालनमा रहेका छन् । तर नियमित रुपमा समाचार अद्यावधिक गर्ने अनलाइनको संख्या भने एकदमै  न्यून रहेको छ ।  

डोटी जिल्लामा सञ्चालित रेडियोहरू मध्य रेडियो नपालको प्रादेशिक प्रसारण केन्द्र पहिलो र सामुदायिक रेडियो शैलेश्वरी दोश्रो हो । अहिले डोटीमा रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र र अन्य बिभिन्न ६ वटा एफ एम गरि ७ वटा रेडियोहरू सञ्चालनमा रहेका छन् । रेडियो नेपाल बाहेक एफ.एम रेडियोहरूको अवस्था पनि नाजुक छ ।  

डोटी जिल्लामा कार्यरत पत्रकारहरुको अवस्था हेर्ने हो भने पत्रकारिता पेशाबाट जिविकोपार्जन गर्ने अवस्था छैन । विना व्यवसायिक योजना बिना मिडिया सञ्चालन गर्दा  बीचैमा बन्द गर्नु पर्ने अवस्था आएको छ । पत्रकारहरु पेशाबाट बिस्थापित भएर अन्य पेशा रोज्नु पर्ने बाध्यात्मक अवस्था  छ । नेपाल पत्रकार महासंघ डोटीले पत्रकारिता पेशा छोडेका र निष्कृय २६ जना सदस्यलाई शुद्धीकरणका नाममा महासंघबाट बिदाई  गरेसँगै  डोटेली पत्रकारिताको पछिल्लो अवस्था झल्काउँछ ।  
 

अन्तमा, 

पत्रकारिताको अवस्था विगतको जस्तो छैन । पत्रकारिता पेशा प्रतिको युवा आकर्षण बढ्दो अवस्थामा रहेको छ ।  पत्रकारिता क्षेत्रका नयाँ नयाँ  अवसरका साथै  चुनौतीहरु समय अनुसार फरक रुपमा अगाडी आएका छन । अहिले पत्रकारिताको कुनै भौगोलिक सीमा रहेन । अब डिजिटल पत्रकारिताका कारण हामी एक मिनेटमा संसारको जानकारी प्राप्त गर्न सक्छौं । सामाजिक उत्तरदायित्व नभएपनि सामाजिक सञ्जालले पनि मिडियाको रुप लिन थालिसकेको छ । स्थानीय सवाल एकैछिनमा राष्ट्रिय सवाल बन्न थालेका छन । त्यसैले डिजिटल  पत्रकारिताका कारण छापा र रेडियो पत्रकारितामा परेको प्रभावको वारेमा समिक्षा गर्ने ठाउँमा पुर्‍याइ दिएको छ । 

पत्रकारिता क्षेत्रको भविश्य हामीले गर्ने पत्रकारितामा निर्भर छ । समुदायले अपनत्व गरेको पत्रकारिताबाट अहिल्यै निराश भइहाल्नु पर्ने अवस्था छैन । मिडियामा हाम्रा मान्छे नभएर क्षमतावान व्यक्तिहरुलाई आबद्ध गर्दै परिपाटी बसाल्न जरुरी छ । मिडियाका कार्यरत जनशक्तिको क्षमता बिकासको लागि योजना बनाउनु पर्दछ । मिडियाले उत्पादन गर्ने समाचार सामग्रीहरुको गुणस्तरमा सुधार नै पहिलो शर्त हाे । व्यवसायिक योजना बिना मिडिया सञ्चालन रहरले दुर्घटना निम्त्याउँछ । 

जिल्लामा सञ्चालनमा रहेका सबै सञ्चार माध्यमहरुले व्यवस्थापन सीप सम्बन्धि क्षमता अभिबृद्धिलाई पहिलो गन्तब्य बनाउन जरुरी छ ।  समुदायबाट आउने प्रतिकृया           (media feedbacking)  मिडियामा उच्च स्थान दिनु पर्दछ । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियानलाई कुनै पर्व  विशेषमा होईन हरेक बर्ष सञ्चालन गर्नु पर्दछ ।