बजेटलाई लिएर सत्ता गठबन्धन भित्रभित्रै खटपट: सत्ता पक्षका सांसद नै विपक्षमा उभिने तयारी  !

बजेटलाई लिएर सत्ता गठबन्धन भित्रभित्रै खटपट: सत्ता पक्षका सांसद नै विपक्षमा उभिने तयारी  !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०८०

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक आय व्ययको विवरण बजेट पारित गर्न सकस पैदा भएको देखिएको छ । सरकारले जेठ १५ गते ल्याएको बजेटमा सत्तापक्षकै कतिपय सांसदहरुले चर्को असहमति जनाए ।

यसरी भित्रभित्रै असहमति जनाउनेहरूमा अर्थमन्त्रीको पार्टी नेपाली कांग्रेसकै पनि धेरै सांसद छन् । सत्तारुढ गठबन्धनमा रहेको जसपा र नेकपा एसले पनि बजेट संशोधन हुनुपर्ने अडानमा संसदमा नै अभिव्यक्ति राखि रहेका छन् । यतिमात्रै होइन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बजेट संशोधन नभए वर्तमान सरकार नै संकटमा पर्ने सार्वजनिक अभिव्यक्तिसँगै बजेट पारित गर्न संकट उत्पन्न भइरहेकाे हो ।

यसबाट सरकारले बजेट पास गराउन निकै ठूलो चुनौती खडा भएको छ । बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम तथा विनियोजनमा देखिएको असन्तुलनलाई लिएर सत्तापक्षका सांसदहरूले विरोध गरेका छन् । बजेटमा मधेसलाई विभेद गरेको, कर्णालीलाई यथोचित सम्बोधन नगरिएको देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाश शरण महत र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा ठूलो बजेट छुट्याउँदा अन्य जिल्लामा बजेट कम परेको भन्दै विरोध भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले सरकार छाड्नु परे पनि छाड्ने तर यथास्थितिमा बजेट पारित हुन नदिने टिप्पणी सुरुदेखि नै गर्दै आएका छन् । कांग्रेस सांसद गगन थापा, प्रदीप पौडेल, दिपक गिरीसहितका नेताहरुले वर्तमान बजेटप्रति कडा टिप्पणी गरेका छन् । पाण्डेले अहिले केही क्षेत्रमा बढी बजेट पारेको र असन्तुलित बनाएको भन्दै जनताले आफूहरुलाई नजिकबाट हेरिरहेको बताएका छन् । 

एकीकृत समाजवादीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता  पाण्डेले १६५ वटा निर्वाचन क्षेत्रका सांसदहरुसँग छलफल गरेर मात्रै बजेट पास हुने भन्दै बजेट निर्माणको प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउँदै सबैसँग छलफल गर्ने भए सडकमा भेटेका व्यक्तिलाई सोधेर बजेट बनाउन सरकारलाई सुझाव दिए । उनले परम्परागत रुपमा बजेट आएको र सबैलाई नीतिगत रुपमा खुसी पार्नुपर्ने बताए । 

त्यसो त बजेट संशोधन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री नै रहेको बताइन्छ । उनले सत्ता गठबन्धनको बैठक नै राखेर बजेट पारित गर्ने विषयमा छलफल गरिसकेका छन् । बजेट पारित गर्न नसके सरकारले नैतिक रुपमा राजीनामा दिनुपर्ने अवस्था आउने भएकाले प्रधानमन्त्री आफैं सांसदका सुझावलाई समेटेर बजेट संशोधन गर्ने र पारित गर्ने पक्षमा देखिएका छन् । अहिलेका संसदीय गतिविधि कर्मकाण्डी मात्रै भएकाले यो समग्र विषयमा समीक्षाको पक्षमा प्रधानमन्त्री देखिन्छन् । 

अर्कोतिर जनता समाजवादी पार्टीले पनि बजेटको विरोध गरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै बजेट मधेसप्रति विभेदकारी भएको टिप्पणी गरेका छन् । उनले अहिलेको बजेटले समाजवादको दिशा समात्न नसकेको उनको आरोप थियो । उनले बजेट समाजवादउन्मुख नभएर विकृत पुँजीवादी या नव उदारवादी सिद्धान्तमा आधारित रहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ पार्टीकै नेताहरु समग्रमा देश आर्थिक संकटमा रहेकाले जनतामा रहेको निराशालाई आशामा बदल्ने गरी बजेटमा सम्बोधन गर्नुपर्ने भए पनि बजेटले विश्वास जगाउन नसकेको सत्तापक्षकै सांसदहरुको आरोप छ । कृषि र शिक्षा क्षेत्रमा ठूलो मात्रामा बजेट परे पनि विकास, उद्योग लगायतका क्षेत्रमा पर्याप्त बजेट नपुगेको उनीहरुको भनाई छ । मधेसमा जनसंख्याको चाप बढिरहेको र बजेट घटाएको भन्दै विरोध भएको छ । 

नेपाली कांग्रेसका सांसदहरू आफ्नै अर्थमन्त्रीले ल्याएको बजेटमा रुष्ट देखिनुले पनि बजेटमाथिको संकट अनुमान गर्न सकिन्छ । सांसद रामहरी खतिवडाले बजेटले समानुपातिक विकास प्रणालीलाई सम्बोधन गर्न नसकेकाले बजेट सच्चिएर आउनुपर्ने बताएका छन् ।  उनी भन्छन्, ‘जो मन्त्री भयो उसैले मात्रै बजेट राख्ने परम्परा बस्यो । समानुपातिक विकासलाई बजेटले समेट्न सकेन । बजेटलाई केही परिमार्जन गर्नुपर्छ ।’

त्यसो त बजेट संशोधन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री नै रहेको बताइन्छ । उनले सत्ता गठबन्धनको बैठक नै राखेर बजेट पारित गर्ने विषयमा छलफल गरिसकेका छन् । बजेट पारित गर्न नसके सरकारले नैतिक रुपमा राजीनामा दिनुपर्ने अवस्था आउने भएकाले प्रधानमन्त्री आफैं सांसदका सुझावलाई समेटेर बजेट संशोधन गर्ने र पारित गर्ने पक्षमा देखिएका छन् । अहिलेका संसदीय गतिविधि कर्मकाण्डी मात्रै भएकाले यो समग्र विषयमा समीक्षाको पक्षमा प्रधानमन्त्री देखिन्छन् । 

नेपाली कांग्रेसमा तेस्रो धारको अभ्यास गरिरहेका गगन थापा समूह अहिलेको बजेट पारित गर्न बेखुस देखिन्छ । सत्ता गठबन्धनभित्रै बजेटले रडाको मच्चाएको छ । जसले गर्दा सत्ता गठबन्धनमा खटपट सुरू भएको छ । नेपाली कांग्रेसकै केही संसदसहित जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको विरोध गरेमा र विपक्षमा मतदान गरेको अवस्थामा सरकार बजेट पारित गर्न असफल हुने खतरा पनि छ ।

एकीकृत समाजवादी अहिलेको बजेटप्रति असहमत देखिएको छ । समाजवादीका अध्यक्ष नेपालले आइतबार संसद भवनबाट निस्किदै गर्दा प्रतिक्रियाका क्रममा भनेका थिए । उनले बजेटप्रति साथीहरू सबै असन्तुष्ट रहेको र यही स्थितिले जाने हो सरकार दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्ने बताएका थिए । एकातिर सत्तापक्षकै सांसद विपक्षमा उभिने, प्रतिपक्षीले बजेटको विरोध गर्ने अवस्थाले बजेटसँगै वर्तमान सरकार पनि गम्भीर संकटमा पर्ने खतरा देखिन्छ ।