अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी सामुदायिक सामुदायिक विद्यालयमा  विद्यार्थी घटे

अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी  सामुदायिक सामुदायिक विद्यालयमा  विद्यार्थी घटे

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ ३२, २०८०

काठमाडौँ । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो । 

 दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ११ मात्रै विद्यार्थी पढ्दै आएका छन् । 

 कक्षा ५ मा एक जना पनि विद्यार्थी छैनन् । कक्षा १ मा दुई, कक्षा २ मा तीन, कक्षा ४ मा छ विद्यार्थी रहेका छन् । विगतमा भरिभराउ रहेको सो विद्यालय अहिले खाली भएको हो । प्रधानाध्यापक कमला शर्माले विद्यालयको पढाइ राम्रो भए पनि अभिभावकले विश्वास नै नगर्ने समस्याले विद्यालयको स्थिति कमजोर बनेको बताउनुभयो । उहाँले नजिकैको माध्यमिक विद्यालय, बोर्डिङ स्कुल र सदरमुकामका बोर्डिङमा बालबालिका पढ्न जाने भएकाले आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको बताउनुभयो । 

 उक्त विद्यालयमा स्थायी, निजी स्रोत र बाल विकासका शिक्षक तथा कार्यालय सहयोग गरेर छ जना कार्यरत हुनुहुन्छ । विसं २०५६ मा समुदायको आवश्यकता र औचित्यताका आधारमा स्थापना भएको यो विद्यालय समुदायकै चासो र चिन्ता नहुँदा विद्यार्थी विहीन बन्न थालेको सरोकारवाला बताउँछन् ।

 प्रधानाध्यापक शर्माले भर्ना अभियान, घरदैलो र विद्यालय सुधारका बारेमा नियमित छलफल चलाउँदै आए पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङमा पठाउँदा विद्यालयमा विद्यार्थी बढ्न नसकेको दुखेसो गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव लामिछानेले समुदाय र शिक्षकको चासो बढ्ने हो भने विद्यालयमा विद्यार्थी बढाउन सकिने बताउनुभयो । उहाँले यसका लागि सबैले कोशिस गर्नुपर्ने बताउनुभयो ।

 शिक्षकले नै आफ्ना छोरानातिलाई बोर्डिङमा पठाउने गरेको र अभिभावकले सरकारी विद्यालय भनेर हेलाको दृष्टिले हेर्दा विद्यार्थी सङ्ख्या बढाउन नसकेको लामिछानेले बताउनुभयो । वडाध्यक्ष राम शर्मा लामिछानेले उक्त विद्यालयको समस्याका बारेमा नगरपालिकामा आफूले धेरै पटक जानकारी दिइसकेको बताउनुभयो । 

 विद्यार्थी सङ्ख्या बढाउन विद्यालय प्रशासन र समुदायलाई ध्यानाकर्षण गराए पनि सुधार हुन नसकेको लामिछानेले बताउनुभयो । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने वा नजिकैको विद्यालयमा गाभ्ने भन्ने विकल्पमा रहेको जनाउँदै उहाँले वडाका तर्फबाट सहजताका लागि पहल भइरहेको लामिछानेले बताउनुभयो । यहाँका ग्रामीण क्षेत्रमा रहेका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।