समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य: काँग्रेस र एमाले बाहेकको तेस्राे गठबन्धन चुनावसम्मै !

लोकसंवाद टिप्पणी

समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य: काँग्रेस र एमाले बाहेकको तेस्राे गठबन्धन चुनावसम्मै !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०८०

पाँच वटा दल मिलेर समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य भएको छ । यो मोर्चामा सरकारमा रहेका तीन वटा पार्टी नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी तथा सरकार बाहिर रहेका दुई वटा पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सामेल हुने भएका छन् । गत मंसिरको चुनावअघि नै समाजवादी मोर्चा बनाउने बहस तीव्र बनेको थियो । तर त्यसबेला सम्भव भएन । चुनावपछि पनि माओवादी केन्द्र, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउने चर्चा भएको थियो । 

खासगरी गत ४ मंसिरको निर्वाचनमा एमाले बाहेकका कम्युनिस्ट पार्टीको घट्दो जनमतका कारण पनि दलहरु समाजवादी मोर्चा निर्माणमा कस्सिएका हुन् । एमालेले ७० वर्ष उमेरहद हटाउने निर्णय गरेलगत्तै एमालेमा फर्किन तयार भएर पार्टी सदस्यता नवीकरण गराउने घोषणा गरेका वामदेव गौतम पनि यो मोर्चामा सामेल हुने भएका छन् । 

समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रुपमा मोर्चा घोषणा गर्ने तयारी भएको हो । समाजवादी मोर्चा निर्माणका लागि यसअघि नै तीन दलका तर्फबाट कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायतका नेताहरु दस्ताबेज निर्माणमा जुटेका थिए । 

मोर्चाको घोषणापत्र तयार भइसके पनि नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर भएकाले ढिलाई भएको हो । गौतम नेकपा विभाजनपछि नेकपा एकता अभियान गठन गरेर राजनीतिक गतिविधि गर्दै आएका छन् । यसअघि नै नेकपा माओवादी केन्द्रसँग यसअघि नै पार्टी एकतासम्मको तयारी गरी निर्वाचनमा सामेल भएको डा.बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी भने मोर्चामा तत्काल सहभागी हुने या नहुने निश्चित भएको छैन । तर सबैभन्दा बढी समाजवादी मोर्चाको वकालत भट्टराईले गर्दै आएका छन् । 

मोर्चा बन्दीमा जुट्न लागेका दलहरुको ठूलो जनमत छैन । त्यसैले यो जनताको भन्दा पनि नेताको केन्द्रीकरण हुने देखिन्छ । यसैले पनि यो मोर्चा जनताका समस्या समाधानमा भन्दा नेताको व्यवस्थापनमा केन्द्रित हुँदैमा समय बित्ने खतरा छ । नेपालमा कम्युनिस्ट पार्टी र उपेन्द्र यादवको जसपा सबैभन्दा बढी विभाजित र टुटफुट नेतृत्वको व्यवस्थापनकै कारण भएका छन् ।

नेता वामदेव गौतमले अहिलेदेखि नै आगामी निर्वाचनका लागि मोर्चामा आबद्ध सबै दल एउटै पार्टीबाट चुनाव लड्ने गरी सहमति गर्नुपर्ने प्रस्ताव गरेका थिए । अहिले समाजवादी मोर्चा बनाउने र चुनावको मुखमा विभाजित हुने हो भने त्यसको कुनै अर्थ नहुने उनको बुझाई छ । कार्यदल स्तरमा मोर्चाको अध्यक्षता ५ वटै पार्टीका अध्यक्षले आलोपालो गर्ने सहमति भएको छ । 

समाजवादी मोर्चामा सामेल हुन लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु भने समाजवादी मोर्चा निर्माणमा त्यतिधेरै उत्साहित भएका छैनन् । यसअघि पनि विचार र सिद्धान्तलाई बेवास्ता गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए पनि तीन वर्ष नपुग्दै असफल भएको थियो । त्यसैले विचार, सिद्धान्त र कार्यक्रम बिनाको समाजवादी मोर्चा कति दिगो जान्छ भन्ने प्रश्न पहिलो प्रश्न हो । अर्कोतिर मोर्चामा सामेल हुने दलहरु विशुद्ध समाजवादी विचारमा आधारित पनि हैनन् । यिनीहरु मध्ये जसपा कम्युनिस्ट पार्टी होइन भने उसको नाम मात्रै समाजवादी छ ।

व्यवहार र चरित्रमा यो पार्टी काँग्रेससँग मिल्दोजुल्दो छ । यही मोर्चामा सामेल हुन लागेको विप्लव नेतृत्वको नेकपा उग्र कम्युनिस्ट विचारधारा र जनयुद्ध तथा शक्तिको प्रयोगमार्फत सत्ता कब्जा गर्न चाहने शक्ति हो । त्यसैले अब बन्ने समाजवादी मोर्चा पहिलेको कम्युनिस्ट पार्टी भन्दा बढी खिचडी शैलीको बन्ने देखिन्छ । 

अब मोर्चा बन्दीमा जुट्न लागेका दलहरुको ठूलो जनमत छैन । त्यसैले यो जनताको भन्दा पनि नेताको केन्द्रीकरण हुने देखिन्छ । यसैले पनि यो मोर्चा जनताका समस्या समाधानमा भन्दा नेताको व्यवस्थापनमा केन्द्रित हुँदैमा समय बित्ने खतरा छ । नेपालमा कम्युनिस्ट पार्टी र उपेन्द्र यादवको जसपा सबैभन्दा बढी विभाजित र टुटफुट नेतृत्वको व्यवस्थापनकै कारण भएका छन् ।

त्यसैले यो मोर्चाले सहजै नेतृत्व व्यवस्थापन र लोकतान्त्रिक पद्धतिअनुसार नेतृत्व चयन गरेर त्यस मुनि सबै गोलबन्द हुन्छन् भनेर विश्वास गर्न आधार देखिदैन । मोर्चामा आउन लागेका नेता वामदेव गौतमले एउटै चुनाव चिह्न बनाउने प्रस्ताव अघि सारेका छन् । त्यसैले यो मोर्चा आगामी चुनाव केन्द्रित मोर्चा हो भन्न सकिन्छ । गत निर्वाचनमा भोगेको असफलता र कमजोर शक्ति तथा नयाँ दलहरूप्रति जनतामा देखिएको आकर्षणले यी दललाई आगामी चुनावमा एक्लाएक्लै जाँदा दलीय हैसियत जोगाउन कठिन देखिन्छ ।

गत चुनावमा गठबन्धन गरेर साथ दिएको काँग्रेसभित्र पनि अबको चुनावमा एक्लै लड्नुपर्ने मत बलियो बन्दै गएको छ र अहिले देखि नै एक्लै चुनाव लड्नुपर्ने पक्षमा रहेका नेताहरुले अभियान सुरु गरिसकेका छन् । त्यसैले अहिले देखि नै मोर्चा बनाएर आफ्नो साख जोगाउने योजनामा यी दलहरु देखिन्छन् ।