समाजवादी मोर्चा: बाबुराम किन छुटे, भकुन्डो वामदेव र विप्लवको राजनीतिक ‘सेफ ल्यान्डिङ’ !

लोकसंवाद टिप्पणी

समाजवादी मोर्चा: बाबुराम किन छुटे, भकुन्डो वामदेव र विप्लवको राजनीतिक ‘सेफ ल्यान्डिङ’ !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ५, २०८०

करिब एक वर्ष लामो बहस र चर्चाबीच चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । एमाले विभाजित भई बनेको एकीकृत समाजवादी र जनता समाजवादीबाट फुटेर बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी बनेदेखि नै समाजवादी मोर्चाको बहस सुरु भएको थियो । मोर्चामा विप्लव नेतृत्वको नेकपा समेट्दा सुरुदेखि नै समाजवादी मोर्चा निर्माणको पक्षमा उभिएका डा.बाबुराम भट्टराई भने मोर्चा निर्माणका क्रममा छुटेका छन् । 

पछिल्लो समयमा समाजवादी मोर्चा निर्माणका लागि वामदेव गौतम पनि छलफलमा थिए । तर उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाएर एमालेमा ल्याउने र क्रियाशील गराउने वचन दिएपछि उनी पनि अलमलिन पुगेका छन् । पटक पटक समाजवादी मोर्चा र एमालेमा जानेबारे समानान्तर छलफल चलाएका गौतम अन्तिम समयमा आएर भने यता न उता भएका छन् । उनले मोर्चा घोषणाको ठिक अघिल्लो दिन आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलमा भेटेर एमालेमा फर्किने र आगामी चुनावमा ६० लाख भोट आउने गरी क्रियाशील बन्ने बाचा बन्धन कसे । सोमबार जब समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भयो र उनी मोर्चामा नजाने निश्चित भयो, तब एमाले अध्यक्ष ओलीले वामदेवको प्रस्ताव नकारिदिए । 

गौतम राजनीतिक चतुर्‍याइँ गर्न खोज्दा यता न उता भएको यो पहिलो घटना भने होइन । उनी विगतमा पनि पटक पटक कहिले ओलीतिर कहिले माधव नेपाल–झलनाथ खनालतिर त नेकपाकालमा प्रचण्डको खेमामा उभिए । जसका कारण उनलाई आफ्नो खेमामा सहजै लिने, सहजै आफ्ना स्वार्थ पूरा भएपछि उनलाई भकुण्डो हाने जस्तै हान्ने क्रम चलिरहेको छ । पछिल्लो समय वामदेवलाई ओलीले त्यही भकुण्डोका रुपमा समाजवादी मोर्चामा सामेल हुन नदिने रणनीतिसहित प्रयोग गरेका छन् । समाजवादी मोर्चा निर्माण हुन लागेकोमा चर्को रुपमा विरोध गर्दै आएको एमालेका अध्यक्ष केपी ओली कुनै न कुनै रुपमा वामदेवलाई मोर्चामा जानबाट रोक्न चाहन्थे । जसमा उनी सफल भएका छन् । वामदेव भने फेरि दोबाटोमै छोडिएका छन् । 

नेकपा राष्ट्रिय एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत भएपछि पार्टीका नेता–कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यदल निर्माण गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावका सम्बन्धमा एमाले अध्यक्ष क.केपी ओलीले असहमति जनाउनुभयो । उहाँले प्रस्ताव गर्नुभयो–नेकपा (एमाले) मा एकीकृत भएको घोषणा गर्नुभयो भने पार्टीले ताईसमेत सबै कमरेडहरूको व्यवस्थापनबारे निर्णय गर्नेछ । अध्यक्ष क.केपी ओलीको यस्तो प्रस्तावमा हाम्रो पार्टी अध्यक्ष क.वामदेव गौतम सहमत हुनसक्नु भएन । तत्पश्चात सम्वादलाई निरन्तरता दिनेगरी उक्त दिनको भेटघाट अन्त्य गरिएको जानकारी गराइन्छ ।’ 

उसको सरकार र संसदवादी मोर्चामा पनि सहज नहुने र चुनाव बाहिरको मोर्चामा सधैं रहँदा वैद्य माओवादीजस्तै चाउरिने खतराका कारण विप्लव पनि मोर्चामा सामेल भएको देखिन्छ । जसले विप्लवको राजनीतिलाई ‘सेफ ल्याण्डिङ’ का रुपमा चर्चा गर्न थालिएकाे छ ।  

यो विज्ञप्तिबाट वामदेवलाई भकुण्डो बनाएर ओलीले समाजवादी मोर्चामा लानबाट रोकेको र एमालेमा जाने चक्करमा पर्दा वामदेव यता न उता हुन पुगेको पुष्टि हुन्छ ।

अर्कोतिर समाजवादी मोर्चाका एक सुत्र धार डा.बाबुराम भट्टराई पनि मोर्चामा छुटेका छन् । भट्टराईको खुम्चिँदो शक्तिका कारण गत चुनावअघि माओवादी केन्द्रसँग एकता गर्ने उद्देश्यसहित एउटै चुनाव चिह्नबाट चुनाव लडे पनि उनी मोर्चामा प्राथमिकतामा परेनन् । वामदेव गौतम र विप्लव समेत सहभागी हुने तथा भट्टराई विभाजित भएर आएको जसपा पनि मोर्चामा आबद्ध भएपछि प्रचण्डले मोर्चामा बाबुरामलाई प्राथमिकता नदिएको देखिन्छ ।

किनकि मोर्चा निर्माण यतिबेला प्रचण्डका लागि सबैभन्दा महत्वपूर्ण छ । सत्ताका हरेक सिँढीमा काँग्रेसको दबाब खेप्नुपरेको, सत्ता टिक्ने नटिक्ने अनिश्चितता अन्त्य नभएको र शक्ति कमजोर भएको महसुस गरिरहेका कारण प्रचण्डलाई सबैभन्दा बढी मोर्चा चाहिएको थियो । 

समाजवादी मोर्चा घोषणा कार्यक्रममै मोर्चाको एक घटक एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चेतावनी पूर्ण भाषामा देशको विकास र समृद्धिका लागि, देशको भविष्यका लागि, अहिलेको राजनीतिक आर्थिक प्रणालीमा सुधार गर्न समाजवाद आवश्यक रहेको तर यो मोर्चा सत्ताका लागि मात्रै हुन नहुने बताए । यसबाट पनि मोर्चा सत्ता प्राप्ति र सत्ता टिकाउने खेलको एक अंश भएको आशंकाले थप मलजल पाएको छ । 

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव एउटै कित्तामा थिए । चुनावी गठबन्धनमा काँग्रेसले पेलेपछि उपेन्द्र उछिट्टिएर बालकोट पुगे । तर बालकोट यात्रा सुखद भएन । अर्कोतिर चुनावको परिणाम लगत्तै प्रचण्ड पनि प्रधानमन्त्री बन्न काँग्रेसको पेलाईका कारण बालकोट नै पुग्नुपर्‍यो । उनको पनि बालकोट यात्रा सहज भएन ।

अहिले मोर्चामा रहेका मध्ये माओवादी केन्द्र र विप्लव नेकपाको एउटै मुहान भए पनि फरक अवस्थामा छन् भने अन्य पार्टीबीच विचारको छेउ टुप्पो राम्रोसँग जोडिँदैन । तर मोर्चामा रहेका सबै दललाई एक यस्तो शक्ति चाहिएको छ, जसबाट सत्ता गठबन्धनमा काँग्रेसको, विपक्षमा एमालेको सामना गर्न सकियोस् । यी सबैको साझा संकटका कारण विचार नमिले पनि मोर्चा सम्भव भएको देखिन्छ । ओली कार्यकालमा वार्ता मार्फत् प्रतिबन्ध अन्त्य भएर शान्तिपूर्ण राजनीतिमा अवतरण गरे पनि विप्लवको एमालेसँगको सहयात्रा अघि अघि बढ्न सकेन ।

उसको सरकार र संसदवादी मोर्चामा पनि सहज नहुने र चुनाव बाहिरको मोर्चामा सधैं रहँदा वैद्य माओवादीजस्तै चाउरिने खतराका कारण विप्लव पनि मोर्चामा सामेल भएको देखिन्छ । जसले विप्लवको राजनीतिलाई ‘सेफ ल्याण्डिङ’ का रुपमा चर्चा गर्न थालिएकाे छ ।