आदिपुरुषका लेखक मनोज मुन्तशिरकाे फिल्म चलाउने काइदा कि नेपाललाई होच्याउने नियत ?

आदिपुरुषका लेखक मनोज मुन्तशिरकाे फिल्म चलाउने काइदा कि नेपाललाई होच्याउने नियत ?

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ६, २०८०

विवादित तथा पटक पटक गीत र सिर्जनाहरू चोरीको आरोप लागेका लेखक मनोज मुन्तशिर लेखेका हुन्, चलचित्र आदिपुरुष । जसको विषयलाई लिएर नेपालमा फिल्म प्रदर्शनमा रोक लागेको छ भने भारतमा पनि यो चलचित्रलाई लिएर अत्यधिक विवाद उत्पन्न भएको छ ।

नेपालमा विवादको मुख्य कारण सीतालाई ‘भारतीय छोरी’ भन्दै उल्लेख गरेको डायलग हो भने भारतमा चाहिँ हिन्दू धर्मग्रन्थबारे राम्रोसँग जानकारी नराखी धार्मिक पात्रलाई गलत रुपमा राखेको र उनीहरुले बोल्ने विषय पनि नमिलेको भन्दै आदिपुरुष विरुद्ध चर्को विरोध भएको छ । विवादै क्रममा भारतको क्षत्रीय करणी सेना नामको समूहले त चलचित्रका सबै कलाकारलाई झापड हान्ने सम्मको चेतावनी दिएको छ । हिन्दू धार्मिक ग्रन्थलाई अवहेलना गरेको भन्दै धार्मिक ग्रन्थहरू मनोरञ्जन गर्ने माध्यम नभएको समेत चेतावनी दिएको छ । 

यो चलचित्रका लेखक मनोज मुन्तशिरको नाम मनोज शुक्ला हो । लेखनकै कारण पटक पटक विवादमा आएका मनोज यसपटक भने झन पछि झन् विवादमा पर्दै गएका छन् । नेपालमा चलचित्र प्रदर्शनमा रोक लागेपछि त उनले झनै विवादित अन्तवार्ता दिएका छन् । उनले कुनै समय नेपाल पनि भारतकै हिस्सा रहेको र संस्कृति साझा रहेकाले नेपालीहरुले विरोध गर्नुपर्ने कारण नरहेको भन्दै अन्त्यन्तै आपत्तिजनक र इतिहासबारे शून्य ज्ञानले अन्तर्वार्ता दिएका छन् । उनको अन्तर्वार्ताबाट दुई कुराको निष्कर्ष निकाल्न सकिन्छ ।

पहिलो उनलाई नेपाल इतिहासदेखि नै स्वतन्त्र अस्तित्वसहितको देश हो भन्ने इतिहासबारे उनी अनविज्ञ छन् । अर्थात भारत इतिहासमा कुनै देश थिएन र ब्रिटिस कालमा अहिलेको भारतको स्वरुप बनेको भन्नेबारेमा समेत उनको ज्ञान छैन । दोस्रो उनी नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता विरुद्ध पटक पटक प्रहार गर्ने भारतीय चरित्रका एक प्रतिनिधि हुन् । 

योसँगै उनलाई धार्मिक ज्ञान अत्यन्तै सीमित छ । ‘अल्पज्ञानम् भयंकरम्’ भनेजस्तै यही अल्पज्ञान उनलाई यतिबेला गलपासो बनिरहेको छ । नेपालमा सेन्सर बोर्डले सीतालाई भारतीय छोरी हुन् भन्ने डायलगमा भारतीय भन्ने शब्द काटेपछि प्रदर्शन अनुमति दिएको देखिन्छ । तर काठमाडौं महानगरपालिकाले यो डायलग पुरै नसच्याएसम्म चलचित्र प्रदर्शनमा रोक लगाए पनि पोखरा र धरानजस्ता ठूला सहरमा पनि आदिपुरुषमाथि रोक लाग्यो । यो चलचित्र नेपालमा मनोज राठीको बैकन्टेस इन्टरटेनमेन्टले वितरण अधिकार लिएको थियो ।

नेपालमा सिनेमा ल्याउँदै आएका राठी भने घुर्काएर नेपालमा चलचित्र प्रदर्शन गर्न बाध्य बनाउने योजनामा देखिन्छन् । त्यसैले उनले हालको परिस्थिति हेर्दा आफूले भविष्यमा ल्याउने तयारी गरेका चलचित्र पनि रोकिने अवस्था उत्पन्न भएको बताएका छन् । चलचित्र प्रदर्शनका लागि सेन्सरर बोर्डले पास गर्नुपर्छ । तर सेन्सर बोर्डकै सेन्स पुगेन र यस्ता चलचित्रले राष्ट्रियतामाथि नै गम्भीर आघात पुग्यो भने कसै न कसैले त बोल्नै पर्छ ।

राठीले मुख्य सहरहरुमा प्रदर्शनको अनुमति नपाएपछि सिनेमा घरले कसैको आधिकारिक चिठी बिना नै फिल्म बन्द गरेको भन्दै देशैभर प्रदर्शन नगर्ने निर्णय गरे । नेपालमा सबैभन्दा धेरै सिनेमा देखाउने पर्दा रहेको क्यूएफएक्स सिनेमाजले आदिपुरुषका वितरकले नै चलचित्र उपलब्ध नगराएकाले प्रदर्शन रोक लगाइएका सहर बाहेकका स्थानमा पनि उक्त चलचित्र प्रदर्शन नगरिएको जनाएको छ । 

नेपालमा धेरै चर्चा भएका यस्ता चलचित्रले १६ करोडभन्दा माथि कमाई गर्ने अनुमान गरिन्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्टाटस लेखेपछि आदिपुरुषको प्रदर्शन रोकिन थालेको थियो । नेपालमाथि अनावश्यक र भ्रमित पार्ने कन्टेन्ट लाद्न नपाउँदा चलचित्र वितरकले फिल्म उतारेको देखिन्छ । आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए । सो संवाद सच्याउन तीन दिनको म्याद दिइएको थियो । नयाँ चलचित्र प्रदर्शनमा आउँदा पहिलो शुक्रवार र शनिबारको व्यापार निकै महत्वपूर्ण मानिन्छ । आदिपुरुषबाट पहिलो सप्ताहान्तमा नेपालबाट पाँच करोड कमाउने अनुमान थियो । जसमध्ये काठमाडौं उपत्यकाबाट मात्र झन्डै ७० प्रतिशत कमाइ हुने अपेक्षा गरेको राठी बताउँछन् । नेपालमा बाहुबलीको दोस्रो भाग, केजीएफको दोस्रो भाग, आरआरआर र पठानले सर्वाधिक व्यापार गरेका थिए । नेपालमा हाल आदिपुरुष बाहेक अन्य भारतीय चलचित्र प्रदर्शनमा छैनन् ।

आदिपुरुष अघि विक्की कौशल र सारा अलि खानले अभिनय गरेको बलिउड चलचित्र ‘जरा हट्के जरा बच्के’ नेपालमा प्रदर्शन भइरहेको थियो । भारतीय चलचित्रमा रोक लगाइएपछि दिनमा एक/दुई शो भइरहेका यी चलचित्र पनि प्रदर्शन भएका छैनन् । भारतको हेपाहा प्रवृत्ति विरुद्धको जन आवाजका कारण हिन्दी सिनेमाको घट्दो व्यापारका कारण पनि अन्य चलचित्र प्रदर्शन नगरेको बुझ्न सकिन्छ ।

नेपालमा सिनेमा ल्याउँदै आएका राठी भने घुर्काएर नेपालमा चलचित्र प्रदर्शन गर्न बाध्य बनाउने योजनामा देखिन्छन् । त्यसैले उनले हालको परिस्थिति हेर्दा आफूले भविष्यमा ल्याउने तयारी गरेका चलचित्र पनि रोकिने अवस्था उत्पन्न भएको बताएका छन् । चलचित्र प्रदर्शनका लागि सेन्सरर बोर्डले पास गर्नुपर्छ । तर सेन्सर बोर्डकै सेन्स पुगेन र यस्ता चलचित्रले राष्ट्रियतामाथि नै गम्भीर आघात पुग्यो भने कसै न कसैले त बोल्नै पर्छ । जसमा बालेन बोले यसमा बेठीक भएको छैन । कला र संस्कृति कसैको निजी हुँदैन, तर त्यही कलाले कुनै समुदाय र देशको भावनामा ठेस पुर्‍याउने दुषित मनसाय राखिन्छ भने त्यसलाई रोक्नु राज्यका जुनसुकै निकायको कर्तव्य हुन आउँछ ।