नबिल बैंकद्वारा दैनिक २० लाख डिजिटल रुपमा पठाउन सक्ने एनबैंक वेब सेवाको शुभारम्भ

नबिल बैंकद्वारा दैनिक २० लाख डिजिटल रुपमा पठाउन सक्ने एनबैंक वेब सेवाको शुभारम्भ

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०८०

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको  बैंकले जनाएकाे छ । 

बैंकका अनसार  ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैंया सम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने छ । 

एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँच योग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

विनय कुमार रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत – एनबैंक र अपरेसन्स्, भन्छन्, 'एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ। अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिल नेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नु हुनेछ । उनले थपे, ' हाल नबिल नेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले CorporatePay मा दर्ता गर्नुपर्नेछ ।'

एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, एनरिमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ । एनबैंकको वेबको सुविधा यो लिङ्क मार्फत https://nbank.nabilbank.com   लिन सकिने समेत बैंकल जनाएको छ ।