लम्पी स्किन रोगबाट हालसम्म २१ हजार पशुको मृत्यु

लम्पी स्किन रोगबाट हालसम्म २१ हजार पशुको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०८०

काठमाडौँ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा‍ .बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी दिनुभयो । 

किसानलाई आवश्यक मल खरिदका लागि सरकारले रु ३० अर्ब सुनिश्चत गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न तीनवटा कम्पनीले गरिरहेको समेत उहाँले बताउनुभयो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपक्षी विकासमन्त्री र सचिवसँग छलफल गरेको हो । 

सो अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पशु सेवा विभागले कन्ट्रोल रुम खडा गरेर लम्पी स्किन रोगको जानकारी लिँदै आएको र यस रोग विरुद्धको खोप एक लाख ३० हजार पशुलाई दिइएको जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शून्य हुँदा एक सय ५० वटा कार्यालय प्रभावित भएकोसमेत बताउनुभयो । 

बैठकमा सांसदहरूले दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्नु गलत भएको भन्दै फजुल खर्च उत्पादनमा लगाउन, बाँदर आतङ्क नियन्त्रण गर्न, किसानको उत्पादन बजारीकरण गरिदिनुपर्ने र रासायनिक मलको विकल्प खोज्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी बैठकमा सांसदहरूले मलको कालोबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मलखाद खरिदलाई सहज बनाउन नसकेको र किसानको आवश्यकतामा अनुदान दिने गर्न नसकिएको बताउनुभयो ।