एउटा कोठामा तीनवटा कक्षा सञ्चालन

एउटा कोठामा तीनवटा कक्षा सञ्चालन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ २०, २०७६

तनहुँ । शुक्लागण्डकी नगरपालिका–१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कक्षा कोठामा तीनवटा कक्षा सञ्चालन भइरहेकाे छ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव भएकाे हाे ।  त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् । प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा कोठा छन् । जसमध्ये एउटा कोठा विद्यालय भवन निर्माण गर्ने कामदारलाई बस्न दिइएको छ ।

‘कोठा अभावका कारण प्रशासन कार्यालयमै शिशु, एक र दुई कक्षाका बालबालिका राखेर पढाउँछौँ,’ उनले भनिन्, ‘अर्को कोठामा तीन, चार र पाँच कक्षाका बालबालिका राखेर अध्यापन गरिरहेका छौँ ।’ हिउँदमा चौरमै राखेर पढाए पनि वर्षामा हुरी र पानीका कारण समस्या भएको उनले बताइन् । तीनवटा कक्षाका विद्यार्थीलाई एकैसाथ बोलेर पढाउन असम्भव भएकाले शिक्षकहरूले अचम्मको मापदण्ड बनाएका छन् । ‘एउटै कोठामा तीनवटा बोर्ड राखेर तीनवटा कक्षाका विद्यार्थीलाई पढाउने गरेका छौँ,’ शिक्षक शिवराम गौतमले भने, ‘सबैलाई एकैसाथ बोलेर पढाउन सम्भव छैन । एउटा कक्षाका विद्यार्थीलाई लेख्न लगाउँछौँ, अनि अर्कोलाई हल्ला नगरी मनमनै पढ भन्छौँ र त्यसपछि अर्को कक्षामा पढाउँछौँ ।’ 

०७२ मा गएको भूकम्पले विद्यालय भवनको पश्चिमपट्टिको भागमा क्षति पुगेपछि कक्षाकोठा अभाव भएको थियो । भत्केको भवन भर्खर पुनर्निर्माण भइरहेको छ । ०४० मा स्थापना भएको यो विद्यालयको भवन पहिले नै जीर्ण थियो । विद्यालयका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय तनहुँबाट १३ लाख ५० हजार र नगरपालिकाबाट तीन लाख विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर अर्यालले बताए । निर्माण भइरहेको भवन सम्पन्न भएपछि पनि कोठा अभाव हुने अर्याल बताउँछन् । नयाँ भवन बनेपछि पाँचवटा कोठा हुने भए पनि त्यतिले नपुग्ने विद्यालयले जनाएको छ ।

शिक्षकको तरिका

एउटा कक्षाकालाई लेख्न दिने, अर्कालाई मनमनै पढ्न भन्ने र तेस्रो कक्षाकालाई पढाउने 

भवन निर्माणमा मेयरको प्रतिबद्धता

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले विद्यालयका लागि सक्दो सहयोग गर्ने बताए । विद्यालयमा एकदेखि पाँच कक्षासम्म २९ जना र शिशु कक्षामा ११ जना गरी कुल ४० विद्यार्थी छन् । दरबन्दीमा तीन शिक्षक, बालकक्षाका लागि एक शिक्षक र एक कार्यालय सहयोगी गरी पाँच कर्मचारी  रहने कुराकाे आजकाे नयाँपत्रिकामा उपेन्द्र खनालले समाचार लेख्नु भएकाे छ ।