नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान: एकहप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’ सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान: एकहप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’ सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ८, २०८०

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्ति कला विभागको आयोजनामा ‘समृद्धिका लागि सिर्जना’ भन्ने नाराका साथ एकहप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’बाट सुरु भएको छ । कार्यशालामा विभिन्न क्षेत्रका कलाकारको सहभागिता छ ।

मूर्ति कलाको विकासका साथै त्यसबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

अग्रज मूर्तिकार एवं प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीले उक्त कार्यशालाको उद्घाटन गर्दै भन्नुभयो, कलाले परम आनन्द दिन्छ, हामी कलामा डुब्यौँ भने भौतिक र आध्यामिक दुवै सुख प्राप्त हुन्छ ।' उहाँले कलाको आधार समृद्धि र मानसिक सन्तुष्टि भएको पनि बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समृद्धि गहन शब्द भएको बताउँदै यसले सिर्जना र भावनालाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले कलाकारको हितका लागि यसलाई जोड्न खोजेका छौँ । यो एक हप्ताको बसाइमा तपाईँहरू औजारसँग खेलेर सिर्जनशील हुनुहुनेछ ।'

प्रतिष्ठानका मूर्ति कला विभाग प्रमुख दिनेश्वर महतोले कलाकारकै हकहितका लागि यो कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यो सात दिनको कार्यशाला लाभदायी र प्रभावकारी बन्ने कुरामा आशावादी छु ।' उहाँले अग्रजले देखाएको समृद्धिको बाटोमा लाग्ने कुराको प्रतिबद्धतासमेत जनाउनुभयो ।