शिक्षिकाको यातनाबाट पाँच विद्यार्थीको हात भाँचियो

शिक्षिकाको यातनाबाट पाँच विद्यार्थीको हात भाँचियो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

दाङ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका समाचार छ ।  घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । 

सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि निर्मम ढङ्गले कुटपिट गरेकी हुन ।
यसरी घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी रहेका छन् ।

शिक्षकको कुटाई बाट घाइते हुनेहरू मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ । यसरी हात भाँचिएका बालिकाहरूको २०७६ साल जेठ १९ गते  आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ । 

बालिकाहरूको उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको  छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले जानकारी दिएका छन् ।  शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताएको समाचार आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।