‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक प्रकाशनको अन्तिम तयारीमा

‘नेपाली खेलकुदको वृत्तान्त’  पुस्तक प्रकाशनको अन्तिम तयारीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०८०

नेपाली खेलकुदको सङ्गालोका रुपमा पुस्तक प्रकाशनको अन्तिम तयारीमा छ । पुस्तकको नाम राखिएको छ ‘नेपाली खेलकुदको वृत्तान्त’ ।

नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोज मुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असार चौथो साता बजारमा आउने तयारीमा रहेको छ । 

उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो। खेल पत्रकार नवीन अर्यालले लेखेको पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा असार चौथो साता राजधानी काठमाडौंमा सार्वजनिक गर्न लागिएको क्रियटिभ बुक्सका टिएस ठकुरीले जनाएका छन् । खेलकुद पत्रकारितामा क्रियाशिल अर्यालको यो पहिलो पुस्तक हो।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ। नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ। साथै, सिमित साधनस्रोतक बीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिवद्ध गरिएको छ।

ऐतिहासिक तस्वीरहरू, चिठी पत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा  प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ। नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेल प्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ। 

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ। साथै, निकट भविष्यमै खेलकुद सम्बन्धि करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सले जनाएको छ ।