रुसी राष्ट्रपति निकट वाग्नर ग्रुपको विद्रोह: पुटिनलाई कति क्षति ?

रुसी राष्ट्रपति निकट वाग्नर ग्रुपको विद्रोह: पुटिनलाई कति क्षति ?

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ११, २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्तै निकट मानिने वाग्नर ग्रुपका प्रमुख योभगेनी प्रिगोजिन विद्रोहको मार्गबाट पछि हटेका छन् । उनले यसअघि रुसी सहर रोस्तोभ–अन–डनमाथि कब्जा जमाएको दाबी गरेका थिए । यो सहर रुसले युक्रेन युद्धका लागि बन्दोबस्तीका सामानहरु जोरजाम पारेको प्रमुख सहर हो ।

विद्रोह गर्दैै युक्रेनबाट रुसी सीमा क्षेत्रमा प्रवेश गरेका प्रिगोजिनले यसअघि आफ्नो सेनाका लडाकू हरुले मस्कोमा मार्च गर्ने घोषणा गरेका थिए । उनले आफूले देशका रक्षामन्त्री सर्गेइ सोइगु र रुसी सेनाका चिफ अफ स्टाफ भालेरी गेरासिमोभसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका थिए । उनको यो घोषणापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने केही सहरमा आम नागरिकको आवतजावतमा पनि रोक लगाइएको थियो । 

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासिलो मित्र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको हस्तक्षेपपछि प्रिगोजिनले मस्कोतर्फ मार्च गर्ने आफ्नो निर्णय बदले । उनी अब आफ्ना निजी सेनालाई लिएर बेलारुस तर्फ लागेका छन् । उनका भाडाका सेनाले युक्रेनमा रुसका तर्फबाट युद्ध लडिरहेका थिए ।

लुकाशेन्कोको पहलमा सम्झौता भएसँगै उनले विद्रोह रोक्ने र उनी विरुद्धका मुद्दाहरु नचलाउने सहमति भएको छ । सोही अनुसार उनी बेलारुस लागेका हुन् । 
पुटिनको छवि कमजोर भएको हो ? 

रुसी राष्ट्रपतिको सम्बोधनपछि निजी सैन्य समूह वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँगको सम्झौतापछि पुटिनको छवि धेरै बलियो नदेखिएको टिप्पणी सुरु भएको छ । वाग्नर समूहको विद्रोही मनोवृत्तिपछि पुटिनले रुसको पिठ्युँमा छुरा प्रहार गरेको टिप्पणी गर्दै रुसलाई धोका दिने जोसुकैले सजाय पाउनुपर्ने बताएका छन् । तर निजी सैन्य कम्पनीका प्रमुख येभगेनी प्रिगोजिन विरुद्धका सबै आरोप रुसले फिर्ता गरेको छ ।

यसअघि पुटिनले उनलाई देशद्रोहीको संज्ञा दिएका थिए । पुटिनको कार्यकालमा कुनै व्यक्ति/समूहको विद्रोहमा सरकारले यसरी सम्झौता गरेको पहिलो घटना हो । यसअघि पुटिन विरुद्ध जति पनि विद्रोह भए, ति सबैलाई उनले किन दबाएका थिए कि त कुल्चिएर अघि बढेका थिए । क्रेमलिन र वाग्नर समूहबीच भएको सम्झौताको पूर्ण विवरण सार्वजनिक नहुँदै पुटिनको शक्तिमाथि प्रश्न उठाइएको हो । 

वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ–अन–डनमा प्रवेश गरेपछि तनाव चुलिएको थियो । घटनाक्रम तीव्र गतिमा अगाडि बढिरहँदा मस्कोतर्फ जाने क्रममा उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिए ।

वाग्नर ग्रुपको आधिकारिक नाम पीएमसी वागनर हो । सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक विद्रोहीलाई सहयोग गरेको थियो । अफ्रिका र मध्यपूर्वका केही देशमा पनि यो समूहले सक्रिय भूमिका निभाएको थियो । त्यसबेला यो समूहमा ५ हजार लडाकू भएको विश्वास गरिन्छ । युक्रेन विरुद्धको युद्धमा यो समूहले महत्वपूर्ण भूमिका निभाएको थियो । हाल यसमा करिब ५० हजार लडाकू रहेको अनुमान छ । युक्रेनमा रहेका वाग्नर समूहका लडाकूहरु मध्ये ८० प्रतिशत रुसी जेलमा परेकाहरु भएको बताइन्छ । 

यो समूहले रुसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको थियो । हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेका थिए । उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको थियो । वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ–अन–डनमा प्रवेश गरेपछि तनाव चुलिएको थियो । घटनाक्रम तीव्र गतिमा अगाडि बढिरहँदा मस्कोतर्फ जाने क्रममा उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिए ।

क्रेमलिनलाई राजधानी मस्कोसहित थुप्रै स्थानहरूमा सुरक्षा कडा बनाउन दबाब दिँदै भाडाका लडाकुहरू राजधानीतर्फ अघि बढेका थिए । आवश्यक परेको खण्डमा वाग्नर लडाकुहरूविरुद्ध लड्न हजारौं कुलीन चेचेन सेनाहरू मस्कोतर्फ लागेको चेतावनीहरू समेत दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोखा दिन खोज्नेहरूलाई सजाय दिने वाचा गरेका थिए ।

बेलारुसका राष्ट्रपति लुकाशेन्को र प्रिगोजिनको कुराकानीपछि अचानक परिस्थिति स्थिर बनाउने सहमति भएको थियो । केही घण्टापछि वाग्नर सेनाले रोस्तोभ छोडिरहेको र समर्थकहरूले उनीहरूका नेताको जयजयकार गर्दै हात मिलाउन कोसिस गरिरहेको देखिने भिडिओ सार्वजनिक भयो । प्रिगोजिनको पक्राउ पुर्जी हटाएको र उनका सेनाहरू विरुद्धको फौजदारी मुद्दा बन्द गरिने क्रेमलिनले जनाएको छ । रुसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गर्न चाहने वाग्नर भाडाका सैनिकहरूले अझै पनि त्यसो गर्न सक्ने पनि क्रेमलिनले जनाएको  छ ।