मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा !

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०८०

मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको हो ।

प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलन पश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको तथ्याङ्क सङ्कलन गरिएको थियो । सङ्कलित तथ्याङ्कमध्ये पाँच हजार नौ जना जिल्लामा नै बसोबास गर्दै आएका छन् भने दुई सय ६३ जना वैदेशिक रोजगारीमा गएको पाइएको उहाँले बताउनुभयो । 

स्थानीय तहअनुसार चामे गाउँपालिकामा नौ सय ६३, नार्पा भूमि गाउँपालिकामा पाँच सय ८९, नासो गाउँपालिकामा दुई हजार एक सय आठ र मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार तीन सय ४९ गरी पाँच हजार नौ जनाले पूर्ण खोप लगाएको पाइएको आचार्यले बताउनुभयो । 

जिल्लाका सबै स्थानीय तहका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।