गुरुपूर्णिमा तथा महायोगी पायलट बाबाको अवतरण दिवस हरिद्वारमा भव्यतापूर्वक मनाइँदै

गुरुपूर्णिमा तथा महायोगी पायलट बाबाको अवतरण दिवस हरिद्वारमा भव्यतापूर्वक मनाइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०८०

हरिद्वार। यस पटक असार १८ मा मनाइने हिन्दूहरुको महान धार्मिक आध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा  भव्य रूपले मनाईदै छ।

यस क्रममा  गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको  हरिद्वार स्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ।

नेपाल, भारत, रूस, युक्रेन, जर्मन, जापान लगायत विश्वको कुना कुनाबाट हजारौ भक्तजनको आगमन भइसकेको एवम आउने दिनमा यो संख्या हजारौंले वृद्धि हुने जानकारी आश्रममा रहेका नेपाली पत्रकार ज्ञानमित्रले गराएका छन। उनका अनुसार नेपालबाट झन्डै २०० जना भक्तजन गुरुपूर्णिमा उत्सवमा सहभागी हुन हरिद्वार आउँदै छन।

भोलि असार १५ गते बिहान ८ बजे देखि प्रारम्भ हुन गइरहेको श्री गुरु दत्तात्रेय यज्ञबाट गुरु पूर्णिमा उत्सव को विधिवत शुभारम्भ हुने छ।  त्रिदिवसीय यस  यज्ञको पूर्णाहुति असार १७ गते हुने कार्यक्रम रहेको छ। असार १७ गते साँझ नै भारतका लोकप्रिय गायक एवम भारतीय जनता पार्टी का सांसद मनोज तिवारीको भजन सन्ध्या कार्यक्रम हुनेछ।  

भोजपुरी फिल्म इन्डस्ट्रीका सुपर स्टारद्वय  सांसद रवि किशन र सांसद दिनेशलाल यादव 'निरहुआ' को  कार्यक्रममा उपस्थिति एवम  सहभागिता रहने छ। यसका अतिरिक्त बालिउड अभिनेता गोविन्दा र अभिनेत्री मनीषा कोइरालाको पनि उपस्थिति रहने छ।

गुरुपूर्णिमा उत्सवमा विशिष्ट अतिथिका रूपमा भारतका केन्द्रीय रक्षा एवम पर्यटन राज्यमन्त्री  अजय भट्ट तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीको आगमन हुने कार्यक्रम रहेको छ।

गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने सबै भक्तजनका लागि खाने र बस्ने व्यवस्था गर्न आश्रम व्यवस्थापन २४ घण्टा सक्रिय रहेको छ। नेपालबाट हरिद्वार आश्रममा आउने सबै भक्तजनको बस्ने कोठा प्रबन्धको  संयोजन ज्ञानमित्रले गरिरहेका छन। नेपालबाट गुरुपूर्णिमा उत्सवमा सहभागी हुन जाने शिष्य तथा भक्तजनले ९५४७९६०७७३ नम्बरको मोबाइलमा सम्पर्क गर्न सक्ने पनि पायलट बाबा आश्रमले जनाएको छ । 

उत्सव अवधिभरी तथा तत पश्चात् जुलाई १५ सम्म गुरुदेव महायोगी पायलट बाबा हरिद्वार आश्रममै रहनु हुन्छ। स्मरण रहोस् जुलाई १५ महायोगी पायलट बाबाको अवतरण दिवस समेत हो।