खेती योग्य जमिनका आधारमा मात्र मल वितरण

खेती योग्य जमिनका आधारमा मात्र मल वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०८०

बाँके ।  प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ ।  

'धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौँ' , कृषि बीउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताउनुभयो । 

बाँकेमा धान खेतीका लागि छ हजार मेट्रिक टन मल माग भएको थियो । अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलले बताउनुभयो । मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो । एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र एक हजार दुई सय बोरा युरिया वितरण गरिएको छ ।

बाँकेमा तीन हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ । पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ । कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए ।