समाजका अभ्दुत अनेकन पात्र : 'चिउरा खुवाउने' तिप्पादेखि खच्चड धपाउने धामीसम्म

समाजका अभ्दुत अनेकन पात्र : 'चिउरा खुवाउने' तिप्पादेखि खच्चड धपाउने धामीसम्म

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १५, २०८०

साहित्यकार शंकर लामिछानेको बारेमा के भनौं । शब्दहरु नभेटे झैँ हुन्छु । त्यही समयमा यही समयका विचारहरु साहित्यमा बुझ्ने तरिकाले लेखिसकेका ज्यादै नै कुशल तीक्ष्ण बौद्धिक व्यक्तित्व देख्छु शंकर लामिछानेलाई । उनी  नेपाली साहित्यको एक धरोहर हुन्  । मेरा प्रिय नायक महा नायक राजेश हमालले एउटा साक्षात्कारमा शंकर लामिछानेलाई चिनेनन्  । विश्व साहित्यका राम्रो जानकार, किताब प्रेमी हमालले शंकर लामिछाने नचिनेको थाहा पाएर मेरो दिलमा ठूलै ठेस पुगेको थियो त्यो बेला ।  मेरा एउटा प्रिय व्यक्तिले अर्को प्रिय व्यक्तिलाई नचिनेकोमा जो क्षती भयो त्यो मेरो नितान्त व्यक्तिगत भावनाको क्षती मात्र  थियो । तर  आजभोलि त्यो क्षति परिपूर्ति भइसक्यो । 
  
विद्यार्थी हुँदा कलेजका दिनहरुमा शंकर लामिछानेका एब्स्ट्रयाक चिन्तन प्याज लगायतका सबैजसो किताबहरु खोजीखोजी पढियो । कति बुझियो । कति बुझिएन । कति बुझे जस्तो गरियो । कति अँ बुझेँ बुझेँ भनियो । भनी साध्य छैन । कलेजको पाठ्यक्रममा उनको एक अत्यन्तै बहुचर्चित निबन्ध समाबेश थियो (औपन्यासिक पात्र: जीवनको पृष्ठभूमिमा ।

यस निबन्धमा उनले उपन्यासका पात्रहरु कल्पनामा मात्र हैन कि साँच्चिकै आम जिन्दगीमा पनि पाइन्छन् भनेका छन् । उनले जीवनका पृष्ठ भूमिमा फेला परेका पात्रहरु अन्धी महिला, स्कुले केटो र छाता दिने सानी बालिका मार्फत आफ्ना दृष्टिकोणहरू पस्केका छन् । लगायत थुप्रै अन्य उदाहरणहरु पनि पस्केका छन् । उनको जिकिर छ कि जिन्दगीका अनेकन आयामहरू बुझाइदिने पात्रहरु  हाम्रा दैनिकीहरूमा ठोकिन आइरहेका हुन्छन् । तिनीहरू कुनै काल्पनिक उपन्यासका पात्रहरु भन्दा कम हुँदैनन् । ठीक भन्नु भो शंकर दाइ, मैले पनि आजसम्म बाँचि हेरेको उमेरसम्ममा  केही त्यस्ता पात्रहरु देख्ने र भेट्ने मौका पक्कै पाएको छु  । आज ति र तिनै पात्रहरुको बारेमा केही शब्द लेख्ने  कोशिस गरेको छु । 

 'चिउरा खुवाउने' तिप्पा 

मेरो गाउँमा दुई जना घर बनाउने एकदमै सक्रिय मिस्त्री हुनुहुन्थ्यो । उमेरले थुप्रै बसन्त पार गरिसक्नु भएको । युवा अवस्थादेखि कै दौँतरी । हलगोरु जस्तै भएर थुप्रै का घरहरु जमानादेखि बनाइ दिँदै आउनु भएका सहकर्मीहरु । म उहाँहरुलाई तिप्पा  (ठुलो बुवा, बडा बा)  भनेर सम्बोधन गर्ने  गर्थे । अलग अलग थर भएका उहाँहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको  मह जोडी हुबहु भन्दा फरक नपर्ने खालको सहकार्य  । एक अर्कालाई घोचपेच गर्दै ,होच्याउँदै ,सहाउँदै  एक अर्काको खिल्ली उडाउँदै वरतिर परतिर बसेर दिन भर पर्खाल लगाउँदै जीवनका लामो समय बिताइसक्नु भएका दुई अब्बल हाँस्य पात्रहरु ।  म सम्झन्छु ,एकपटक जब दिउँसोको खाजा खाने समय भो । एक जना तिप्पाले खाजामा उपलब्ध सेलरोटी एउटा खाइसकेर अर्को सेलको आधा छोड्नु भो । त्यो देखेर अर्को तिप्पा भन्नु हुन्छ  ' किन दुईटा सेल पनि पुरै खाइ हुनसक्दैन । यसपाली चिउरा खुवाउँछस् कि के हो !? 

फेरि पहिलो तिप्पा भन्नु हुन्छ कि  'तेरो चिउरा नखाई म चिउरा खुवाउँदिन ! पिर नगर् ! फेरि फ्याट्टै जवाफ आउँछ ।

'ल ल हेरौँला । कस्ले पैले चिउरा खुवाउँदो र छ !?

एकदमै फुर्तिलो  जस्तो कि कुनै जादुको अनुष्ठान भर्खरै सिद्धिएको होस् । त्यसपछि उनले मलाई निको पारि दिएकोमा एक शेर स्थानीय रक्सी किनिदिन भने । मैले उनलाई दुई शेर रक्सी र एउटा नयाँ गलबन्दी  उपाहार स्वरुप किनिदिए ।  म जस्तो बिरामी जिन्दगीमा अनगिन्ती ठीक पारेको र आफूलाई गर्व भएको कुरा उनी सुनाएका थिए ।  उनमा मैले आत्मविश्वासको कस्तो अजङ्ग को रुप देखेँ खै मैले त ?

सबैजना खेतालाहरू गलल्ल हाँसे । माहोल हँसिलो भएर गयो ।  हाम्रो भेगमा मलामीहरूलाई चिउराको खाजा  खुवाउने चलन छ । यी दुई मिजासिला फरासिला तिप्पाहरु कुनै कथा किस्साका रमाइला रसिक पात्रहरु भन्दा एक इन्च पनि कम थिएनन् । थिएनन् यस अर्थमा कि आज उहाँहरु दुबैले  'चिउरा' खवाइसक्नु भएको छ ।  यसै लेख मार्फत उहाँहरुलाई  हार्दिक श्रद्धाञ्जली ।

खच्चड धपाउने धामी 

मध्यपहाडी लोकमार्ग नखुल्दै को कुरा हो ।हामी खोटाङ बासीलाई काठमाडौबाट घर जान सानो सास्ती थिएन । जानु पर्ने पूर्व तर कलंकी हुँदै पुरै मधेस छुँदै बसको लामो यात्रापछि बास बस्न उदयपुरको गाईघाट पुग्नु पर्थ्याे । गाईघाटबाट अरु तीन दिन हिँडेपछि बल्ल दिक्तेल । धेरै पटक त्यो बाटो यात्रा गरेको छु । एक हिसाबले भन्दा देशले दिएको अविकासको कष्टपूर्ण यात्रा म जस्तै धेरै यात्रुले भोग्नु भएको छ ।  आजभोलि त बिहान काठमाडौँबाट हिँडेको बेलुकीको खाजा खान घरै पुग्न सकिन्छ । 

 मिन पचासको बिदामा गाउँ जाँदै थिएँ । गाईघाटबाट खोटाङको यात्रा सुरु भएको पहिलो दिन नै मलाई सन्चो भएन। हनहनती ज्वरो आयो । जिउ नै आलस्य भयो । जसोतसो बास बस्ने वस्तीसम्म जसोतसो पुगियो । अब त्यो नदी गढ तिरको बाटोमा कुनै औषधिको प्रबन्ध हुन सम्भवनै  थिएन। रात झमक्क परेको थियो । एउटा अधबैंसे पुरुष एक हुल खच्चड लिएर हामी बसेका ठाउँमा   बास बस्न आई पुगे। म बिरामी भएको थाहा पाएर उनले आफू धामी भएको र मलाई ठीक पारिदिने दाबी गर्न थाले ।

उनको आँखामा  विश्वासको एउटा यस्तो तेज देखेँ कि मानौँ म कोहि ईश्वरको दीप रुप नै देखिरहेको छु । उनले झटपट केही चामल मगाए । ती चामलहरू आफ्नो हत्केलामा राखेर सुर्ती  झैँ माड्दै मन्त्रहरू फलाक्न थाले । मन्त्रहरू सकिएपछि ती चामलहरू मलाई दिँदै खानको लागि इशारा गर्न थाले  । अब म विस्तारै फसेको महशुस गरिरहेको थिए । एक त उनले हात पनि धोएका थिएनन् । सेतो अक्षता नै माड्दा माड्दै मैलो भएर खैरो भैसकेको मेरो दिमाखमा परिरहेको  थियो । उनको जिउबाट खच्चडको गन्ध पनि त आइ नै रहेको थियो ।

अब चामल मुखमा त लिएँ निलूँ कि ओकलूँ  अलमलमा परेँ  । दिगमिग लागेर उनकै अगाडि बान्ता गरे भने त उनको अनादर हुने थियो । मलाई पिर पर्यो । उनको अनुहारतिर हेरेँ । अहो त्यो कस्तो आत्मविश्वास मानौं मलाई भनिरहेको छ कि छिटो निल् र तुरुन्तै  ठीक भै हाल्छ । त्यसपछि मैले आँखा चिम्लेर शून्य दिमागले घुटुक्क  अक्षता निले ।  मलाई दस मिनेट आराम गर्न भनियो । दस मिनेटमा चट्टै हुने  दावी ति धामीले गरे ।  त्यसपछि म थकित बटुवा दस पन्ध्र मिनेट भुसुक्क निदाए छु । जब म बिउँझिए पुरै तन्दुरुस्त भैसकेको थिएँ । एकदमै फुर्तिलो  जस्तो कि कुनै जादुको अनुष्ठान भर्खरै सिद्धिएको होस् । त्यसपछि उनले मलाई निको पारि दिएकोमा एक शेर स्थानीय रक्सी किनिदिन भने । मैले उनलाई दुई शेर रक्सी र एउटा नयाँ गलबन्दी  उपाहार स्वरुप किनिदिए ।  म जस्तो बिरामी जिन्दगीमा अनगिन्ती ठीक पारेको र आफूलाई गर्व भएको कुरा उनी सुनाएका थिए ।  उनमा मैले आत्मविश्वासको कस्तो अजङ्ग को रुप देखेँ खै मैले त ?

आजभोलि सोच्छु के उनको आँखामा आज पनि उही आत्मविश्वासको कैलाश ठडिएका होलान् ?  के उनी त्यो विश्वासको सञ्चार आज पनि बिरामी बटुवाहरूलाई गर्दै होलान् ? के उनले मैले दिएको गलबन्दी मन पराए होलान् ?  प्रिय शंकर दाइ , जीवनको पृष्ठभूमिमा के तपाईंले पनि यस्तै  तेजस्वी-आत्मविश्वासी कोहि पात्र भेट्नु भएको थियो कि ? जसको दाबी यो छ कि ऊ दस मिनेटमा कसैलाई पनि ठिक पारिदिन्छ ।