नेपाली सेना भोजपुर : ‘अभ्यास हातेमालो– ५’ सञ्चालनमा

नेपाली सेना भोजपुर : ‘अभ्यास हातेमालो– ५’ सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०८०

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि नेपाली सेना भोजपुरले ‘अभ्यास हातेमालो– ५’ सञ्चालन गरेको छ ।

विपद्को समयमा आउन सक्ने जोखिमको पहिचान तथा पूर्व तयारीको लागि सेनाको नयाँ श्रीनाथ गण भोजपुरले अभ्यास कार्यक्रम सञ्चालन गरेको हो । विपद्को बेला कसरी जुट्ने, राहत तथा उद्धारको कार्य कसरी गर्ने, जिल्लाको जोखिमयुक्त ठाउँको पहिचान गर्ने तथा विपद्सँग सरोकार राख्ने सबै सुरक्षा निकाय, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला रेडक्रस, उद्योग बाणिज्य संघ लगायतले निर्वाह गर्ने भुमिकाको विषयमा आवश्यक तयारी गरिएको छ ।

सरोकारवाला पक्षसँग सहकार्य गर्दै कसरी विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न सकिन्छ भन्ने लक्ष्यले कार्यक्रम गरिएको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फणिन्द्र थापाले जानकारी दिनु भयो । 

कार्यक्रममा जिल्लाका सरोकारवाला पक्षले गरिरहेका विपद् पूर्वको तयारीको विषयमा मुख्य रुपमा छलफल गरिएको छ । त्यस्तै पूर्व तयारीको लागि सम्भावित जोखिम भएको ठाउँको परिचालन गर्न टेबल टल्क गरेर आवश्यक तयारी गरिएको छ । नेपाली सेनाले विपद्को वेला गरिने उद्धारको विषयमा कृत्रिम घटना अभ्यास समेत गराएको छ । .खास गरेर स्थानीय तहले  सम्भावित विपद्का जोखिमलाई ध्यानमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताउनु भयो ।                   

वर्षातको समयमा हुन सक्ने विपद्का घटनालाई लक्षित गरेर सेनाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । विपद्को समयमा गरिने उद्धार कार्यको अभ्यासलाई स्थानीय स्तरसम्म सञ्चालन गर्न सके अझ प्रभावकारी हुने सहभागीको भनाइ छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्षति कम हुनबाट बचाउन कार्यक्रम उपयोगी रहेको कार्यक्रमका सहभागीहरुको भनाई  छ । नयाँ श्रीनाथ गण भोजपुरको आयोजना तथा जिल्ला विपद् व्यावस्थापन समितिको संयोजनमा दुई दिनसम्म कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, रेडक्रस,उद्योग बाणिज्य संघ, स्थानीय तहका प्रतिनिधिहरुले आ–आफ्नो विपद् पूर्वको तयारीको विषयमा प्रस्तुति राखेका छन् ।