जीवन जल माग्दा तातोपानी खाने सल्लाह दिन्छन् स्वास्थ्यकर्मी

जीवन जल माग्दा तातोपानी खाने सल्लाह दिन्छन् स्वास्थ्यकर्मी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २०, २०७६

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव देखिएको छ ।

करिव १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव भएपछि सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेका छन् । 
अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने वाध्यतामा छन् । अन्नपूर्णमा विगत तीन महीना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार,वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काउनुभएको थियो । घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्यचौकीमा पुगेका स्थानीय टेकबहादुर पुर्जालाई जीवनजलसहित आवश्यक औषधिको अभावका कारण छिमेकी वडामा पुगेर ल्याउन समेत स्वास्थ्यकर्मीले सुझाव दिने गरिएको छ । 

गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने शिखवासीले गुनासो गर्दै आएका छन् । ‘गर्मीको समयमा जीवनजलको  माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्’, सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ । सरकारले सर्वसाधारणको हितलाई ध्यानमा राखि मुलुकका सबै सरकारी संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भए पनि गाउँपालिकाको लापरवाहीका कारण अन्नपूर्णमा सहजै औषधिको व्यवस्था हुन सकेको छैन । मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई समेत आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनले बताउनुभयो ।

गाउँपालिकाले खरीद गरेको औषधि गाउँपालिकामा आउन ढिलाई गरेकाले गाउँमा औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले जानाकारी दिनु भएको कुरा राससकाे समाचार उल्लेख छ ।