मिथिलाञ्चलमा सौभाग्यको वरदान माग्दै ‘वर’ पूजा

मिथिलाञ्चलमा सौभाग्यको वरदान माग्दै ‘वर’ पूजा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २०, २०७६

धनुषा । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गरेर मनाउँदैछन ।  सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन रहँदै आएको छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत मानिन्छ । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्काेतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ यो ब्रत गर्ने गरिन्छ । दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले पुजाआजा र ब्रत गर्ने गर्छन । यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा काटेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिने गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी विश्वास रहँदै आएको छ । 

यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछन् ।