विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित

विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित
बंगलादेशका सकिब अल हसनले सट प्रहार गरेपछि बलतर्फ हेर्दै दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि कक (दायाँ) । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २०, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ ।

३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३०९ रनमा सीमित भएपछि बंगलादेश विजयी भएको हो ।

दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ६२ रन जोडे । ५३ रनको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, एैडन माकरम र जेपी डुमिनीले समान ४५, रासी भेन डेर डुसेनले ४१ र डेभिड मिलरले ३८ रनको योगदान दिए ।

बलिङतर्फ मुस्तफिजर रहमानले ३, मोहम्मद साइफुद्दिनले २ तथा सकिब अल हसन र मेहदी हसन मिराजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रनको विशाल स्कोर खडा गरेको थियो । मुस्तफिर रहिमको ७८ तथा सकिब अल हसनको ७५ रन प्रहार गरेपछि टिमले तीन सयको आँकडा पार गरेको थियो । टिमका लागि मधुमुल्लाहले अभिजित रहँदै ४६ रन जोड्दा सौम्य सरकारले ४२ रनको योगदान दिए ।

बलिङतर्फ एन्डिले फेह्लुकवायो, इमरान ताहिर र क्रिस मोरिसले समान २ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच सकिब अल हसन घोषित भए ।