भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र शाह

भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र शाह

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २४, २०८०

बाँके । भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र बहादुर शाह नियुक्त भएका छन् । 

आगामी ३ बर्षीय कार्यकालका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले शाहलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल सरकार मन्त्रीपरिषदको असार १७ गतेको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२)(क) र उपदफा (३) मा भएको ब्यवस्था अनुसार शाहलाई अध्यक्ष नियुक्त गरिएको हो  ।

नेपालगन्ज वडा नं.१३ निवासी शाह वि.सं. २०७४सालको स्थानीय तह निर्वाचनबाट नेपालगन्ज वडा नं। १३ को वडा अध्यक्ष निर्वाचित भई ५ बर्षे कार्यकाल पुरा गरि सकेका छन् ।

२०२६ साल चैत्र २५ गते जन्मिएका शाहले ०४२सालमा मंगल प्रसाद मावि बाट प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका छन् ।सन् १९८८मा भारतको लखनऊ स्थित जय नारायण इन्टर कलेजबाट प्रमाणपत्र उतीर्ण गरेका शाह लामो समय देखि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँकेको अध्यक्ष समेत हुन । 

यस अघि नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य रहि सकेका शाहले त्रिभुवन विश्व विद्यालय अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट वि.सं. २०५० सालमा बि.ए. सम्मको अध्ययन पुरा गरे,शाह एम एमा अध्ययनरत छन् । 

कांग्रेस बाँकेमा लोकप्रिय रहेका शाहलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले विकास समिति अध्यक्ष चयन गरेका हुन् ।

अध्यक्ष   नियुक्त भएसँगै संक्षिप्त प्रतिक्रिया दिंदै शाहले भने- 'दिइएको जिम्मेवारी पुरा गर्नेछु, प्रचलित ऐन कानुन र विधि प्रक्रियालाई टेकेर यो क्षेत्रकै पुरानो अस्पतालको सर्वाङ्गीण विकासमा ध्यान दिनेछु ।'