वैचारिक सिर्जनाको संवाहक ‘शार्दूल’ लोकार्पण

वैचारिक सिर्जनाको संवाहक ‘शार्दूल’ लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २५, २०८०

काठमाडौँ । वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूृल’को अङ्क ६ लोकार्पण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूृल’को लोकार्पण गर्नुभएको हो । प्राज्ञिक नेताका रूपमा परिचित ओलीले जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका सन्दर्भमा प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा मदन भण्डारीको विशेष योगदान रहेको बताउनुभयो । 'जसरी राजनीतिमा मदनको अद्वितीय योगदान रहेको छ, त्यत्तिकै योगदान साहित्यमा त रहन पाएन तथापि जनतालाई जागरुक गर्ने, प्रेरित गर्ने सन्दर्भमा मदनका सिर्जनाको विशेष योगदान रहेको छ' उहाँले भन्नुभयो । ओलीले ‘शार्दूल’ पत्रिकाको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सार्थक कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– 'आजको कार्यक्रम पनि सान्दर्भिक छ ।' उहाँले केपी शर्मा ओलीलाई प्राज्ञिक नेताका रुपले आफूले पाएको  विचार व्यक्त गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रमले मदनको ओझेल परेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानद्वारा यसअघि ‘हिमवत्खण्ड कला–साहित्य सम्मिलन’ आयोजना गरिएको उल्लेख गर्दै निकट भविष्यमा ‘हिमवत्खण्ड सांस्कृतिक सम्मिलन’ आयोजना गर्ने तयारी थालिएको बताउनुभयो । 

समारोहमा प्रा.डा. रमेशप्रसाद भट्टराईले ‘मदन भण्डारीको व्यक्तित्व, कृतित्व र योगदान’ विषयमा प्रवचन दिनुभएको थियो । उहाँले नेपाली राजनीतिमा विशिष्ट योगदान दिनुभएका मदन भण्डारीले साहित्यका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिनुभएको बताउनुभयो ।      

प्रतिष्ठानका सचिवालय सदस्य तथा ‘शार्दूल’ पत्रिकाका सम्पादक शशी लुमुम्बूले पत्रिकाका विषयमा प्रकाश पार्नुभएको थियो । शार्दूलमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल सम्पादक रहनुभएको छ । ‘शार्दूृल’को अङ्कः ६ मा विभिन्न लेखकका सिर्जनाहरू समावेश गरिएका छन् ।

समारोहमा कवि यशोदा अधिकारीले मदन भण्डारीको एक कविता वाचन गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरूले भण्डारीका चार कवितामा नाटक प्रस्तुत गरेका थिए । उक्त सत्रको सञ्चालन प्रतिष्ठानका सचिवालय सदस्य अशोक राईले गर्नुभएको थियो ।  

समारोहमा एमालेका उपमहासचिव तथा साहित्यकार प्रदीप ज्ञवाली, पूर्व राजदूत तथा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल लकलितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, सांसद सुनिता बराल, नेता गुरु बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।