युक्रेनलाई अमेरिकाद्वारा 'क्लस्टर बम' दिने घोषणा: पश्चिमा राष्ट्रबीच नै फाटो ल्याउने 'बम' कति घातक ?

युक्रेनलाई अमेरिकाद्वारा 'क्लस्टर बम' दिने घोषणा: पश्चिमा राष्ट्रबीच नै फाटो ल्याउने 'बम' कति घातक ?

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २७, २०८०

युक्रेनलाई क्लस्टर बम दिन लागेपछि अमेरिकाका सहयोगी देशहरु नै त्यसको विरोधमा उत्रिएका छन् । युक्रेनले रुस विरुद्ध गरिरहेको प्रत्याक्रमणका क्रममा युद्ध जिताउने अस्त्रका रुपमा अमेरिकाले दिएका ब्राडले र जर्मनीका लियोपार्ड ट्यांक रुसी आक्रमणबाट ध्वस्त बने । रुस विरुद्धको जवाफी युद्धमा युक्रेनले ठूलो क्षति भोग्नु परिरहेका बेला अमेरिकाले क्लस्टर बम दिने घोषणा गरेको हो । 

क्लस्टर बम युक्रेनलाई दिएकोमा ब्रिटेन, क्यानडा न्युजिल्याण्ड र स्पेन अमेरिकासँग रुष्ट छन् । क्लस्टर बमले आम मानिसलाई जोखिममा पार्ने भएका कारण विश्वका एक सयभन्दा बढी देशमा प्रतिबन्धित छ । युद्धमा हतियारको आपूर्ति गरिरहेको अमेरिकाले भने युक्रेनको हतियार भण्डार घट्दै गएकाले क्लस्टर बम आवश्यक रहेको दाबी गरेको छ । यसको अर्थ अमेरिकाले अब रुस विरुद्ध विवादास्पद र प्रतिबन्धित हतियारहरु प्रयोगको योजना बनाएको देखिन्छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले क्लस्टर बमलाई लिएर अमेरिकाको सिधा आलोचना नगरे पनि त्यस्तो अस्त्र उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशहरूमध्ये ब्रिटेन पनि एक भएको बताएका थिए । 

नेटोकै अन्य साझेदार देशले भने यो अस्त्रले निर्दोष मानिसलाई ठूलो क्षति पु¥याउन सक्ने भन्दै विरोधमा उभिएका छन् । क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ । यीमध्ये कतिपय बम विस्फोट हुँदैनन् । जसलाई ‘डड्स’ भनिन्छ । विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा धक्का लाग्दा विस्फोट हुने सम्भावना हुन्छ । जसले मान्छे मार्न वा अंगभंग पार्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए ।

लिथुवानियामा मंगलबारदेखि सुरु भएको नेटोको बैठकमा अस्त्र भण्डार बढाउने र रक्षा योजनाबारे छलफल हुनुअघि भएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि युद्धको सुरुमा रुसले क्लस्टर तथा भ्याकुम बमहरूको प्रयोग गरेको आरोपमा अमेरिकी प्रेस सेक्रेटरीले युद्ध अपराध भएको बताएका थिए । तर यतिबेला अमेरिका त्यही युद्ध अपराधको दिशामा अघि बढेको देखिन्छ । 

खेलौना जस्तै देखिने र आवासीय क्षेत्र आसपासमा छोडिने भएका कारण बच्चाहरु सजिलै यस्ता अस्त्रको जोखिममा पर्न सक्छन् । सैन्य रुपमा भने यी अस्त्रहरू जमिन खनेर बनाइने बङ्करमा रहेका सैनिक तथा पहुँच नभएका निशानामाथि आक्रमण गर्न प्रभावकारी मानिन्छ । यद्यपि अधिकारवादी समूहहरुले क्लस्टर अस्त्रहरूलाई घृणित र युद्ध अपराधको रूपमा व्याख्या गरेका छन् ।

अमेरिका, युक्रेन र रुसले क्लस्टर बम प्रयोगमा रोकसम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् । युक्रेनमा हाल जारी युद्धमा रुस र युक्रेन दुवैले क्लस्टर अस्त्रहरू प्रयोग गरेका छन् । विस्फोट नभएका बमहरूले निर्दोष नागरिकहरूलाई असर पार्ने जोखिम धेरै वर्षसम्म रहन्छ ।

अमेरिकाले युक्रेनलाई तत्कालै राहतका रुपमा युद्ध सामग्री दिने निर्णय गरेको छ । यसलाई लिएर युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिलाई ‘समयमै, व्यापक र अत्यावश्यक’, ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले युक्रेनमा रुसी सैन्य शिविरहरु ड्रोनका माध्यमबाट पत्ता लगाइसकेको र अब आक्रमण गर्ने जेलेन्स्कीको अभिव्यक्ति र अमेरिकाले प्रतिबन्धित क्लस्टर बम दिनुलाई संयोगका रुपमा मात्रै हेर्न सकिन्नँ । बरु युक्रेनमा अमेरिकाले नयाँ युद्ध अपराधको शृङ्खला मच्चाउन खोजेको समेत देखिन्छ ।

जेलेन्स्कीले ट्विटरमार्फत् यस निर्णयले ‘दुस्मनविरुद्ध युक्रेनको जीत र तानाशाहीविरुद्ध प्रजातन्त्रको जीत’ का लागि सहयोग पु¥याउने दाबी गरेका छन् । विश्वका धेरैजसो देशले प्रतिबन्ध लगाएको घातक क्लस्टर बमको प्रयोगबाट प्रजातन्त्रको कस्तो जितको कल्पना गरिएको हो भन्ने प्रष्ट छैन । गत महिना सुरू भएको युक्रेनको प्रत्याक्रमणका गतिविधि पूर्वी डोनेस्क र दक्षिण–पूर्वी जापोरिजा क्षेत्रमा बढिरहेको छ ।

गत साता युक्रेनका सैन्य कमाण्डर–इन–चीफ भ्यालेरी जालुज्नीले अस्त्रहरू पर्याप्त नहुँदा प्रत्याक्रमण अभियानमा समस्या भएको बताएका थिए । किनकि जुन हतियारले उनीहरुले रुसलाई लखेट्न सकिन्छ भन्ने अनुमान गरेर प्रत्याक्रमण सुरु गरेका थिए, ती हतियारहरु रुसी कारबाहीका क्रममा ध्वस्त बनेका छन् । 

नेटोका महासचिव जोन स्टोल्टनवर्गले सैन्य गठबन्धनले क्लस्टर अस्त्रहरूलाई लिएर आफ्नो आधिकारिक धारणा नराखेको बताएका छन् । सन् २०१० यता १०० बढी देशहरू सम्मिलित क्लस्टर गोलाबारी सम्बन्धी अभिसन्धिपछि ठूलो आकारका क्लस्टर बमहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जसअन्तर्गत त्यसको प्रयोग, उत्पादन, स्थानान्तरण वा भण्डारण गर्न पाइँदैन । तर अमेरिका, युक्रेन र रुस यस सम्झौताको पक्ष राष्ट्र हैनन् । 

क्लस्टर बम कति घातक ?

मानिसलाई मार्ने वा सवारी साधनलाई ध्वस्त पार्ने उद्देश्यले क्लस्टर बमको निर्माण गरिएको हो । अन्य प्रकारका क्लस्टर बमहरू विमानस्थलका धावनमार्ग र जमिनमुनि बिछ्याइएका विस्फोटक धराप नष्ट गर्न वा रासायनिक वा जैविक हतियार फैलाउन पनि प्रयोग गरिन्छ ।

यी बमहरु मध्ये अधिकांश जमिनमा खस्ने बित्तिकै विस्फोट हुन्छन् । तीमध्ये जुन विस्फोट हुँदैनन् त्यसलाई ‘डड्स’ भनिन्छ अर्थात् तिनीहरू प्रारम्भमा विस्फोट हुँदैनन् । जमिन ओसिलो हुँदा वा नरम हुँदा यस्तो अवस्था आउँछ । तर केही समय पछि यस्ता बममाथि कसैले कुल्चिँदा वा अन्य तरिकाले धक्का लाग्दा विस्फोट हुन्छन् र यसबाट मान्छेको मृत्यु हुन वा अङ्गभङ्ग बनाउन सक्छ । 

क्लस्टर डिभाइसले स–साना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने भएकाले आक्रमणका समयमा र आक्रमणपछि पनि गैरसैनिक नागरिकहरू जोखिममा पर्न सक्छन् । 
खेलौना जस्तै देखिने र आवासीय क्षेत्र आसपासमा छोडिने भएका कारण बच्चाहरु सजिलै यस्ता अस्त्रको जोखिममा पर्न सक्छन् । सैन्य रुपमा भने यी अस्त्रहरू जमिन खनेर बनाइने बङ्करमा रहेका सैनिक तथा पहुँच नभएका निशानामाथि आक्रमण गर्न प्रभावकारी मानिन्छ । यद्यपि अधिकारवादी समूहहरुले क्लस्टर अस्त्रहरूलाई घृणित र युद्ध अपराधको रूपमा व्याख्या गरेका छन् ।

क्लस्टर बमहरू यसअघि भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियाजस्ता देशका युद्धमा प्रयोग गरिएका थिए । सन् २००६ को लेबनान युद्धमा इजरायलले हिज बुल्लाह समूहविरुद्ध यो बम प्रयोग गरेपछि प्रतिबन्ध लगाइएको थियो । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार इजरायलले छाडेका ३० देखि ४० प्रतिशतसम्म क्लस्टर बमहरू तत्काल विस्फोट भएका थिएनन् । जसका कारण पछि ति बमहरू विस्फोट हुँदा लेबनानमा धेरै बालबालिकाले ज्यान गुमाएका थिए ।