भानुभक्त आचार्य: नेपाली आस्था, संस्कृति, भाषा र नेपाली जातीय एकताका सेतु

सन्दर्भ : २१० औँ  भानु जन्मजयन्ती

भानुभक्त आचार्य: नेपाली आस्था, संस्कृति, भाषा र नेपाली जातीय एकताका सेतु

प्रा. डा. हेमनाथ पौडेल  |  साहित्य  |  असार २९, २०८०

 भानुभक्त आचार्य नेपाली कविताको प्राथमिक काल र भक्तिधाराका प्रमुख कवि हुन् । उनलाई हरेक वर्ष संसारभरका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ सम्झने गरेका  छन् । यस वर्ष पनि हामीले उनको २१० औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनायौँ । वि.सं १८७१ आषाढ २९ गते जन्मेका र १९२५ असोज ६ गते  मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा रामायण, भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा, रामगीता र तीन दर्जनभन्दा बढी फुटकर कविताको सृजना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् । धार्मिक–आध्यात्मिक एवं नैतिक चिन्तनका परिपोषक आचार्यले आफ्ना सृजना मार्फत् नेपाली भाषाका मर्यादाको प्रतिष्ठापन गर्नुका साथै नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनको सृजनात्मक लोकप्रियताले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाध्ने काम पनि गरेको छ । उनका सृजनाबाट नेपाली भाषाको उन्नयन, प्रबर्धन र मानकी करण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको  छ । उनी नेपाली साहित्य र संस्कृतिका एकताका विश्वस्तरीय सेतु बनेका  छन् । 

भानुभक्त आचार्य मूलतः रामभक्तिरसका आध्यात्मिक दार्शनिक कवि हुन् । उनका रामायण लगायतका काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ भने फुटकर कवितामा गरिएको व्यङ्ग्यमा समाज सुधारको चेतना पनि पाइन्छ । उनी नेपाली भाषाको सहजता भित्रैबाट संस्कृत छन्दलाई नेपालीकरण गरी जातीय छन्दका रूपमा परिणत गराउने आशुकवि हुन् । उनका कविता काव्यहरूले तत्कालीन अवस्थामा भाषिक सामर्थ्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको पाइन्छ । उनी पहिलो कवि भने  होइनन् । उनीभन्दा पहिले नै अरू कविहरू देखापरे पनि उनी काव्यात्मक अभिव्यक्तिका प्रथमध्वनि भने अवश्य हुन् । उनको जति प्रशंसा भएको छ त्यति नै आलोचना पनि भएको छ । उनका कविता काव्यमा प्रस्तुत भएको अन्तर वस्तु, उनलाई दिइएको आदिकवित्व र उनले प्राप्त गरेको घाँसीको प्रेरणा लगायतका विषयमा प्रशस्त आलोचना भएका छन् । ती आलोचना स्वाभाविक पनि छन् । 

भानुभक्तको नक्षत्रको नाम देवीभक्त थियो तर ‘भानुभक्तका पिता धनञ्जयले १२ वर्षसम्म सूर्यको व्रत लिई जन्मेका हुनाले उनको नाम भानुभक्त राखिएको हो भनिन्छ । धार्मिक आध्यात्मिक एवं प्रशस्त जग्गाजमिन भएका जमिन्दार परिवारमा जन्मेका भानुभक्तको आर्थिक तथा सामाजिक स्थिति राम्रो थियो । भानुभक्त विलक्षण प्रतिभा भएका व्यक्ति थिए । उनले हजुरबुबाको संरक्षणमा सानैमा चण्डी, रुद्री, अमरकोश, लघुकौमुदी, वेद आदि संस्कृत शिक्षा प्राप्त गरेका थिए । उनकी पहिली श्रीमती चन्द्रकान्तादेवीको १८ महिनामै मृत्यु भएकाले दोस्री चन्द्रकलादेवीबाट रमानाथ र शिवशङ्कर दुई छोरा र लक्ष्मी एक छोरी जन्मेका थिए । बाजे श्रीकृष्ण आचार्य कासी कल्पवासमा जाँदा भानुभक्त पनि सँगै गएका हुनाले त्यहाँ पाँच छ वर्ष रहँदा यिनले विद्वत्मण्डलीसँग सत्सङ्ग र विद्या आर्जन गर्ने मौका पाए । 

भानुभक्तले पद्य साहित्यमा मात्र कलम चलाएका छन् । पद्य रचनामा लाग्ने प्रेरणा घाँसीबाट पाएको भनिए पनि उनका प्रेरक व्यक्तित्व आफ्ना हजुरबुबा नै हुन् । उनको प्रथम पद्य रचना शिखरिणी छन्दमा लेखिएको दश हरफे ‘जन्मपत्रिकाको बयान’हो भने अन्तिम कविता बिरामी अवस्थामा छोरा रमानाथलाई लेख्न लगाएको ‘रामगीताको अनुवाद हो । उनको योगदानलाई प्रस्तुत गर्ने कृति चाहिँ रामायण महाकाव्य नै हो । उनका  भक्तमाला र बधूशिक्षा मौलिक कृति हुन् भने अरू अनूदित कृति हुन् । भानुभक्तको लगभग चार दशकको कविता यात्रामा उनले एउटा महाकाव्य, चारवटा काव्य र तीन दर्जनभन्दा बढी फुटकर कविताको सृजना गरेर तत्कालीन अवस्थामा नेपाली साहित्यको सृजन परम्परालाई उर्वर र समृद्ध बनाएको पाइन्छ ।   

कवि मोतीराम भट्टले भानुभक्तका कृतिहरूको खोज अनुसन्धान गरी उनका काम र रचनाको प्रशंसा गर्दै उनलाई  ‘आदिकविको उपाधि प्रदान गरेका हुन् । उनका भनेका छन् ‍– ‘गोर्खा भाषामा हुन त धेरै नामी कवि भानुभक्तभन्दा पैल्हे भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । मोतीरामले यसरी भानुभक्तलाई आदिकविको उपाधि दिएपछि यस सम्बन्धमा खण्डन मण्डनहरू प्रशस्त भए र अहिले पनि भइ नै रहेका छन् । मोतीरामका उपर्युक्त भनाइमा भानुभक्तलाई पहिलो कवि नै चाहिँ भनिएको छैन । कविताको मर्म बुझेर त्यस अनुसारका कविता सृजना गर्ने यसअघि अरू कवि नभएकाले मात्र भानुभक्तलाई त्यस तात्पर्यमा आदिकवि भनेको भन्ने बुझिन्छ ।

गजाधर सोतीकी बुढीमाथिको प्रहार र गिरि धारी र भाटले दिएको दु:खमा प्रकट गरिएको आक्रोश अनि कविता वाचन गरेरै कृष्ण बहादुरबाट बन्दुक फुत्काएको सन्दर्भले भानुभक्त रिसाहा र छट्टू कवि समेत पनि देखिन्छन् । कविताका विषय वस्तु जे भए पनि यी कविताको वर्णनमा मौलिकता र काव्यात्मकता पनि छ ।  त्यसबेला यसरी स्तरीय नेपालीमा कविता लेखिनु नै ठुलो कुरो थियो ।

आदिकवि अभिधेय अर्थमा भनिएको नभएर यसलाई व्यञ्जित अभिप्रायमा बुझ्नुपर्ने देखिन्छ । भानुभक्त पूर्वका कविले रचना गरेका कवितामा भानुभक्तको काव्यात्मक उचाइ प्राप्त छैन । नेपाली जनमनलाई स्पर्श गर्ने क्षमता भानुभक्तका तुलनामा यस पूर्वका अरू कविमा देखिदैन पनि । भानुभक्तका कवितामा भने शक्ति र व्याप्‍ति दुवै प्राप्त छ । लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तलार्ई  शुक्र तारा सुन्दर हाम्रा नेपाली हे प्रथमध्वनि भनेर सम्बोधन गरेका छन् । यसको तात्पर्य पनि नेपाली साहित्यमा काव्यात्मक मिर्मिरे ल्याउने शुक्र तारा वा काव्यात्मक अभिव्यक्तिका प्रथमध्वनि भानुभक्त नै हुन् भन्ने बुझिन्छ । यसबाट भानुभक्तको आदिकवित्वलाई अभिधेय अर्थमा होइन, व्यञ्जनाका अर्थमा बुझ्नुपर्ने हुन्छ ।

भानुभक्तसँग जोडिएको र विवादित रहेको अर्को पक्ष घाँसी प्रेरित सन्दर्भ पनि हो । यो प्रसङ्ग मोतीरामको अत्यन्त सुन्दर कल्पनाको उपज भए पनि यो भानुभक्तको जीवनीको अभिन्न अङ्ग बनिसकेको छ । त्यसबेला कुवा खन्ने, पाटीपौवा निर्माण गर्ने र परत्र सपार्ने कुराको प्रचलन भए पनि घाँसको क्रय विक्रय हुने प्रचलन थिएन । पशुपालन र कृषि कर्म मुख्य जीविकोपार्जनको आधार भए पनि सबैका खेतबारीमा घाँस जति पनि हुने हुँदा ग्रामीण समाजमा घाँस बेचेर जीविकोपार्जन गर्ने चलन भने थिएन । घाँसीको प्रसङ्ग मोतीरामको भावुकताको परिणाम नै हुनुपर्छ । घाँसीको प्रेरणाको प्रसङ्ग जति विवादित भए पनि अब भानुको जीवनीसँग अभिन्न रूपमा जोडिएर आइसकेकाले यसलाई परिहार गर्न भने नसक्ने स्थिति बनेको छ ।

भानुभक्तलाई अहिलेको समाजका आँखाले हेरेर हुँदैन । उनी तत्कालीन समाजकै उपज हुन् । तत्कालीन समाजको चेतनाअनुसार नै भानुभक्तका कविता काव्यहरू सं रचित छन् । भानुभक्त आध्यात्मिक मानवतावादका पक्षमा रहेकाले उनको लोककल्याणको पक्ष धार्मिक, आध्यात्मिक एवं नैतिक धरातलबाट सिञ्चित छ । नेपाली कवितामा पूर्वीय चिन्तन वा जातीय चिन्तनको उच्चतम अभिव्यञ्जना भानुभक्तको पुरुषार्थ हो । उनले नेपाली समाज र दर्शनलाई जोड्ने काम गरेकाले उनी हाम्रा राष्ट्रिय र जातीय महत्त्वका कवि बनेका छन् ।  

भानुभक्तको रामायण संस्कृत भाषामा लेखिएको मूल अध्यात्म रामायणमा आधारित छ । यो हुबहु अनुवाद नभएर अनुवाद र मौलिकताको दोसाँधमा छ । उनले अध्यात्म रामायणका कतिपय प्रसङ्गलाई छाडेर र थपेर नेपालीपन भर्दै मौलिक स्वाद पनि दिएका छन् । कथा बीज र विचार मूल  रामायणबाट लिइएको छ भने लय र भाषिक वैशिष्ट्य आफ्नै छ । मूल रामायण अनुष्टुप् र इन्द्रवज्रा छन्दमा सीमित छ भने भानुभक्तीय रामायण शार्दूलविक्रीडित, वसन्ततिलका, उपेन्द्रवज्रा, इन्द्रवज्रा, शिखरिणी, मालिनी, स्रग्धरा, द्रुतविलम्बित आदि छन्दमा संरचित छ र यी छन्दलाई पनि उनले नेपालीकरण गरेका छन् ।  भानुभक्तको रामायणमा लयसङ्गीतको माधुर्य त छदैछ त्यसमा पनि कथ्यविषयले र कथ्यविषयले भन्दा राम भक्तिले प्रश्रय पाएको छ । कथ्यविषयलाई कतै सङ्क्षिप्ती करण गरिएको छ भने कतै विस्तृतीकरण गरिएको छ । यस क्रममा नेपाली विम्ब र सन्दर्भहरूले कथावस्तुलाई सजाइएको छ । यसकारण भानुभक्तीय रामायण हुबहु मूलानुसारी नभएर मौलिक पनि बनेको छ । उनको  यो मौलिकता वस्तु र शिल्प दुबैमा प्राप्त छ र नेपालीपनको स्पर्शले यसलाई लोकप्रिय बनाएको छ । 

भानुभक्तीय रामायणको अर्को विशेषता भनेको भाषिक प्रयोगको हो । पूर्ववर्ती कविहरूका तुलनामा भानुभक्तको भाषा स्तरीय, मानक र सरल पनि रहेको छ । संस्कृतका तत्सम बहुल शब्दको सिकार हुनबाट जोगिएको रामायणको भाषा नेपाली भाषाको सहजता भित्रैबाट प्रस्तुत सरल र बोध गम्य रहेको छ । भानुभक्तको विशेषता भनेको शास्त्रीय छन्दलाई नेपाली कथ्य भाषामा प्रस्तुत गरी शास्त्रीय छन्दलाई नेपालीकरण गर्नु हो । अध्यात्म रामायणमा सात काण्ड, पैँसट्ठी सर्ग र ४३१८ श्लोक रहेका छन् भने त्यसका कतिपय उप कथा र वर्णनलाई छोट्याएरर भानुभक्तले सात काण्डमै तर सर्ग विभाजन नगरी १३१९ श्‍लोकमा रामायण पूरा गरेका छन् । छोट्याएर सानो र सम्पुष्ट पारिएको भानुभक्तीय रामायण जति छोट्याए पनि नेपाली साहित्यको प्रथम महाकाव्य नै हो ।

भक्त माला र बधू शिक्षा भानुभक्त आचार्यका नितान्त मौलिक कृति हुन् । राम भक्तिलाई मुख्य विषय बनाई शिखरिणी छन्दमा संरचित यस काव्यमा भानुभक्तले सांसारिक मोहमा फसेर जीवन बर्बाद नपारौँ भन्दै मानिसले बल्लबल्ल पाएको चोलालाई सार्थक पार्न भगवत् भक्ति गरौँ भन्ने सन्देश दिएका छन् । बधू शिक्षा भानुभक्त आचार्यको  बहुचर्चित मौलिक कृति हो । यो कृति काठमाडौँबाट तनहुँ घरतर्फ जाँदा बाटामा पर्ने आफ्ना मित्र तारापतिका घरमा वास बस्दा सासू बुहारीको झगडा सुनेर लेखिएको भनिन्छ । बुहारीहरूलाई असल बनुन् भनेर उपदेश दिइएको यस काव्यमा परम्परावादी नेपाली समाजको आदर्शलाई अगाडि राखेर बुहारीहरूको कर्तव्या कर्तव्य र दिनचर्याका बारेमा उपदेश दिइएकाले यसमा नीति चेतना प्रबल रूपमा अभिव्यक्त छ । आजका सन्दर्भमा भने भानुभक्तको यो उपदेश हास्यास्पद र कठोर सावित हुन्छ र यसले भानुभक्तको नारी प्रतिको साँघुरो धारणालाई प्रकट गर्दछ । यसलाई अहिलेका सन्दर्भबाट होइन, तत्कालीन सन्दर्भबाट हेर्दा यसमा व्यावहारिक जीवनको आदर्श प्रस्तुत गरिएको र एउटा आदर्श परिवार निर्माण गर्न लेखिएको काव्यका रूपमा बुझ्नु पर्दछ । 

भानुभक्तले लेखेका प्रश्नोत्तर र राम गीता दुवै अनूदित कृति हुन् । प्रश्नोत्तर शङ्कराचार्यको मणिरत्न मालाको अनुवाद हो भने राम गीता उत्तरकाण्डकै एक अंश हो । प्रश्नोत्तर काव्यमा भक्तिदेखि तत्त्व दर्शनसम्मको विवेचना छ भने राम गीतामा पनि तत्त्व दर्शन र पारमार्थिक चिन्तन रहेको छ । काव्यचेतना र दार्शनिक चेत भने दुवै काव्यले प्राप्त गरेका छन् ।      

भानुभक्तले विभिन्न समयमा गरी ३९ ओटा फुटकर कविताको रचना गरेको पाइन्छ । यी कविताहरू विभिन्न प्रेरक सन्दर्भमा रचिएका हुनाले उनमा विषयगत विविधता पाइन्छ । कुनै घटना र सन्दर्भले प्रभाव पार्ने बित्तिकै भानुभक्तमा कविताको स्फुरण भइहाल्ने हुँदा उनमा आशु कवित्वको सृजनात्मक क्षमता थियो । उनका कवितामा धार्मिक, आध्यात्मिक एवं सामाजिक चेतनाको अभिव्यक्ति रहेको छ । यीमध्ये कतिपय कवितामा व्यङ्ग्य विनोदका साथै तत्कालीन अड्डा अदालत र न्याय प्रणालीमा हुने गरेको ढिलासुस्ती र अव्यवस्थाका बारेमा कटु व्यङ्ग्य पनि गरिएको छ । उनमा कतै प्रकृति वर्णन 'यति दिनपछि मैले।।' छ भने कतै शृङ्गारिकता 'बिन्ती एक म गर्दछु।।।' पनि छ ।

गजाधर सोतीकी बुढीमाथिको प्रहार र गिरि धारी र भाटले दिएको दु:खमा प्रकट गरिएको आक्रोश अनि कविता वाचन गरेरै कृष्ण बहादुरबाट बन्दुक फुत्काएको सन्दर्भले भानुभक्त रिसाहा र छट्टू कवि समेत पनि देखिन्छन् । कविताका विषय वस्तु जे भए पनि यी कविताको वर्णनमा मौलिकता र काव्यात्मकता पनि छ ।  त्यसबेला यसरी स्तरीय नेपालीमा कविता लेखिनु नै ठुलो कुरो थियो । त्यसबेला नेपालीमा कविता लेख्नु असभ्यता मानिन्थ्यो र लेखिएका कवितामा पनि यस किसिमको काव्यात्मकता एवं सरल, सहज र सुललित भाषाको प्रयोग पाइँदैन थियो । भानुभक्तका कविता काव्यमा पाइने विशेषता यही नै हो । यही कारण भानुभक्त प्राथमिक कालका प्रतिनिधि कवि बन्न सफल भएका हुन् ।      

निष्कर्षमा भानुभक्त आचार्य नेपाली आस्था, नेपाली संस्कृति, नेपाली भाषा र नेपाली जातीय एकताका धरोहर कवि हुन् । उनका कतिपय रचनाहरूमा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन् । भानुभक्त र उनका कृतिलाई वर्तमानका आँखाले होइन, तत्कालीन युगसापेक्ष दृष्टिले हेरेर मूल्याङ्कन गर्दा उनका रचना आफ्नो युगका विशिष्ट प्राप्ति हुन् । भानुभक्त आचार्य दार्शनिक दृष्टिले वेदान्तवादी, धार्मिक दृष्टिले भक्तिवादी, सांस्कृतिक दृष्टिले ब्राह्मणवादी एवं मानवीय दृष्टिले परोपकारी र लोककल्याणकारी कवि हुन् । यही विचारधारा उनका रचनामा पाइने हुँदा उनका रचनाहरू तत्कालीन समाजका महत्त्वपूर्ण उपलब्धि हुन् । उनकै जगमा आजको नेपाली साहित्य र नेपाली भाषा समृद्ध बनेकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर र प्राथमिक कालका शीर्षस्थ कवि ठहरिएका हुन् ।