भ्रम र वास्तविकताको कसीमा डिप्रेसन

भ्रम र वास्तविकताको कसीमा डिप्रेसन

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  स्वास्थ्य  |  जेठ २०, २०७६

आम मानिसले मानसिक रोगबारे विभिन्न किसिमका भ्रम र नकारात्मक कुरा लिएर बसेका हुन्छन् । जुन यथार्थमा अर्कै कुरा भएको हुन्छ अर्थात् जसको वैज्ञानिक आधार अर्कै हुन्छ । यहाँ डिप्रेसन रोगसम्बन्धी हाम्रो समाजमा रहेको भ्रम र अन्धविश्वासबारे चर्चा गरिएको छ । जो वास्तविकताभन्दा फरक छ । 

भ्रमः डिप्रेसनमा भूत–प्रेतको कारणले गर्दा हुन्छ । 

वास्तविकताः अन्य विभिन्न मानसिक रोगजस्तै डिप्रेसन एक प्रकारको रोग हो । यो कुनै भूत–प्रेत तथा लागू भएर हुने होइन । वास्तवमा डिप्रेसन हुने कारणमा मस्तिष्कमा हुने रासायनिक तत्वको सन्तुलन बिग्रेर हुने हो । अत्याधिक मानसिक तनाव, विभिन्न सामाजिक तथा वातावरणीय प्रभाव पनि डिप्रेसन हुँदा मिसिएर आउने गर्छ । 

भ्रमः डिप्रेसन कमजोर मानसिकताको उपज हो । ज्यादा चिन्ता लिएर डिप्रेसन हुन्छ ।

वास्तविकताः डिप्रेसन एक प्रकारको मानसिक रोग हो । मनमा दुःख, चिन्ता, निराशा र उदासिनता आउनु नै यस रोगका प्रमुुख लक्षण हुन् । आफू कमजोर हुन्छु, दुःख पाउँछु भनेर कसैले भन्दैन र आत्मविश्वासको कमी भएको महसुस मात्र हुने हो ।  

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । मनमा दुःख, चिन्ता, निराशा र उदासिनता आउनु नै यस रोगका प्रमुुख लक्षण हुन् । आफू कमजोर हुन्छु, दुःख पाउँछु भनेर कसैले भन्दैन र आत्मविश्वासको कमी भएको महसुस मात्र हुने हो

भ्रमः डिप्रेसन भएका बिरामीलाई धेरैले सल्लाह दिने गर्छन्– धेरै नसोच, छुट्टी मनाउन जाउ, रमाइलो तथा मनोरञ्जन गर्नु पर्छ र मदिरा पान गरेमा आफै ठिक भइहाल्छ ।

वास्तविकताः कुनै पनि मानिसलाई धरै नसोच भनेर हलुका रूपमा सल्लाह दिएर हुँदैन । डिप्रेसनमा नराम्रो सोच बारम्बार आइराख्छ । कुनै मान्छेलाई ‘ज्वर’ आएको बेला ‘ज्वर’ नजिकाल भनेर सल्लाह दिएको जस्तो हो । शारीरिक रोगमा ‘ज्वर’ आएको बेला र डिप्रेसन भएको बेलामा नकारात्मक सोच आउने उस्तै–उस्तै हो ।

जतिसुकै रमाइलो वातावरणमा छुट्टी मनाउन गए पनि मन नरमाइलो भएको बेलामा रमाएर बस्नै सकिँदैन । मदिरापानले क्षणिक समयको लागि उदासीपन हटाए पनि मदिराको असर समाप्त भएपछि उदास पनि फेरि उत्तिकै रहन्छ । डिप्रेसनलाई राम्रोसँग उपचार गरेमा ठिक हुन्छ । 

भ्रमः आफूले भनेजस्तै सबै कुरा पुगे डिप्रेसन हुँदैन । 
वास्तविकताः डिप्रेसन धनी, गरिब सबैलाई लाग्न सक्छ । 

भ्रमः बालबालिका तथा किशोर–किशोरीलाई डिप्रेसन हुँदैन ।

वास्तविकताः बालबालिका तथा किशोरीलाई पनि डिप्रेसन हुन्छ । तर, उनीहरूमा भिन्नै किसिमको लक्षण देखा पर्छन्, जस्तैः टाउको दुख्ने, पेट दुख्ने, छाती दुख्ने । यस्ता लक्षणमा शारीरिक रोगको परिक्षण गरेमा केही पनि देखिँदैन । 

भ्रमः कुनै मान्छेले आफूले आत्महत्या गर्ने कुरा गर्छन् भने उसले अरुलाई धम्क्याउन वा डराउनको लागि मात्रै हो । 

वास्तविकताः प्रायःजसो डिप्रेसनको अन्तिम चरणमा आत्महत्याको विचार आउँछ र यस्ता विचार उनीहरूले प्रकट गरेका हुन्छन् । त्यसैले कुनै पनि मान्छेले आत्महत्या गर्ने कुरा सोझै वा घुमाउरो पाराले (अब फेरि भेट नहुन पनि सक्छ, मर्न पाए दुःखबाट छुटकारा पाइन्छ) भन्ने गरेको छ । त्यस्ता अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर अस्पतालमा भर्ना गरेर विशेष निगरानीका साथ राखेर उपचार गर्नु पर्छ र राम्रोसँग निको नभएसम्म आत्महत्याको सम्भावना रहिरहन्छ । 

भ्रमः मन उदास हुने, निराश हुने, दिक्क मान्ने समस्याको उपचार छैन ।

वास्तविकताः मन उदास हुने, निराश हुने, दिक्क झन्झट लाग्ने दुई हप्ताभन्दा बढी समयसम्म भएमा यो डिप्रेसन हुन सक्छ र यसको राम्रोसँग उपचार गराएर निको पार्न सकिन्छ ।

भ्रमः डिप्रेसन विकसित देशमा मात्र हुन्छ ।

वास्तविकताः डिप्रेसन तथा विभिन्न मानसिक रोग सबै देशमा विकराल समस्याको रूपमा देखा पर्न थालेको छ । डिप्रेसन सबै जाति, लिंग र वर्गका मानिसलाई हुन सक्छ । 

डिप्रेसन प्रमुख जनस्वास्थ्य समस्या भइसकेको छ । यसले धेरै मानिस पीडित छन् । यससम्बन्धी हाम्रो देशमा धेरै अध्ययन र अनुसन्धानको कमी भएकोले, डिप्रेसनले जनस्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पर्याप्त जानकारी नभएको हो ।

प्राथमिक स्वास्थ्य संस्थामा उपचार गराउन आउने लगायत अस्पताल, प्राइभेट क्लिनिकमा जचाउन आउने धेरै बिरामीलाई डिप्रेसन भएको हुन सक्छ । प्रायःजसो डिप्रेसनको सही पहिचान र उपचार हुनुको सट्टा अन्य उपचार पाइरहेको हुन्छ, जसले गर्दा रोग निको हुँदैन । समय र पैसाको दुरुपयोग मात्र भइरहेको हुन्छ । र, डिप्रेसनको लागि अरु कुनै विशेषज्ञबाट उपचार गराउनुभन्दा पनि मानसिक रोग विशेषज्ञ कहाँबाट सही उपचार सम्भव छ ।