छुवाछुत मानवता विरुद्ध अपराध : सामाजिक न्यायका लागि १६ जिल्लामा प्रदर्शन

छुवाछुत मानवता विरुद्ध अपराध : सामाजिक न्यायका लागि १६ जिल्लामा प्रदर्शन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०८०

देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ ।

छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै  २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा सुर्खेत, चितवन, संखुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाण्डौ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्कीमा गरी १६ जिल्लामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर, जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर, हाम्रो आन्दोलन : सामाजिक न्यायका लागि, दण्डहीनता अन्त्य गर लेखिएका प्ले कार्डहरु प्रदर्शन गरिएको थियो ।

विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र कानूनी व्यवस्थाका बाबजुद छुवाछुत र जातीय भेदभाव जस्ता मानवता विरुद्धको अपराधका घटनाहरु बारम्बार घटि रहनुको कारण त्यस्ता घटनामा संलग्न दोषीहरुलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त हुनु र दण्डहीनता रहि आएको छ ।  “दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियान रत मानव अधिकार तथा शान्ति समाजले दण्डहीनता विरुद्ध अभियान जारी राख्ने भएको छ ।