आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ निर्माणको घोषणा

आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ निर्माणको घोषणा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २, २०८०

काठमाडौँ ।  कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ ।

साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दै हुनुहुन्छ । उहाँकै लेखन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र अनिल सुब्बाले अभिनय गर्ने तय भएको छ । 

अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ लाई चलचित्रको स्वरूप दिन लागिएको निर्देशक चौहानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक चलचित्र बनाउन मेरो प्रयास रहनेछ ।'

    अभिनेता कार्कीले यो चलचित्र सफल हुनेमा आफू आशावादी रहेको बताउनुभयो । 'यो समूहसँग बटौली र घुमी घुमीमा सहकार्य गरिसकेको छु । कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा दर्शकले नयाँपन पाउनेमा विश्वस्त छु' , अभिनेता कार्कीले भन्नुभयो । 

अभिनेत्री मगरले आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'मलाई भनिएको पात्र सुन्दा नै गज्जब छ । यो अभिनेत्रीको सपनासमेत हो । छायाङ्कनलाई लिएर म उत्साहित र तयार छु ।'

चलचित्रमा सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत, कृष्ण भण्डारीको सम्पादन, चिन्तनराज भण्डारीको छायाङ्कन, कोविद बज्रको पाश्र्वसङ्गीत रहनेछ । यसको छायाङ्कन मङ्सिरदेखि सुरु गरिने बताइएको छ ।