एक वर्षमा चितवन निकुञ्जमा मात्र २२ गैँडा मरे

एक वर्षमा चितवन निकुञ्जमा मात्र  २२ गैँडा मरे

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०८०

चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । सो घटनाका अभियुक्त पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।  

तिवारीका अनुसार आव २०७५/७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । गत वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो । आव २०७६/७७ मा २६, २०७७/७८ मा ३९ र २०७८/७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२र०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३/०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३र७४ मा एउटा, २०७७र७८ मा चार वटा र २०७८र७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मरेका थिए ।

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताउनुभयो । 

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताउनुभयो ।